कीर्तिपुरमा शम्भु महतो हत्याबारे सीआईबीले छानबिन गर्नुपर्ने सरिता गिरीको माग

समाचार

       

काठमाडौं, ३० भाद्र । पूर्वसांसद सरिता गिरीले गत साता कीर्तिपुरमा घरधनीको कुटपिटबाट शम्भु महतो (चौधरी)को भएको हत्याबारे केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले छानबिन गर्नुपर्ने माग गरेकी छन् ।

गिरीले मंगलबार एक विज्ञप्ति जारी गरी शम्भु हत्या घटनाको सम्पूर्ण छानबिन सीआईले गर्नुपर्ने र असहाय परिवारका लागि सरकारले तत्काल रु. १० लाखको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेकी हुन् ।

घर भाडाको निहुँमा घरमालिकले आक्रमण गरेर जसरी प्रहरीले उनको उद्धार गर्नमा ढिलाई गर्यो र शम्भु महतोको मृत्यु हुन पुग्यो त्यसबाट मधेशीप्रति समाज र राज्यमा व्याप्त गहिरो घृणा एक पटक फेरि उजागर भएको उनको तर्क छ ।

पूर्वमन्त्रीसमेत रहेकी गिरी भन्छिन्, ‘घटनाक्रमबाट यो प्रमाणित हुन्छ कि शम्भुको मृत्युका लागि घरधनीका साथ प्रहरी पनि जिम्मेवार छ । तसर्थ हत्याको परिणामको जिम्मेवारी राज्यले लिनुपर्छ ।’

शम्भु महतोको तीन वटा बच्चाको निःशुल्क शिक्षाको जिम्मेवारी कीर्तिपुरको सम्बन्धित स्थानीय सरकारले ग्रहण गर्नुपर्ने माग उनले गरेकी छन् ।

‘शम्भुको असहाय परिवारको भविष्यको समेत जिम्मेवारी राज्यले लिनु पर्दछ । तसर्थ शम्भुको पत्नी नीतूलाई राज्यले नागरिकता प्रमाण पत्र प्रदान गरी तत्काल उसको लागि रोजगारीको व्यवस्था गरोस् ।’ विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया