आधिकारिक ट्रेड युनियनको निर्वाचनविरुद्ध आन्दोलन गर्ने मधेशी निजामती कर्मचारी मञ्चको चेतावनी

समाचार

       

भुवनेश्वर चौधरी, अध्यक्ष, नेपाल मधेशी निजामती कर्मचारी मञ्च

काठमाडौं, ३० भाद्र । आधिकारिक ट्रेड युनियनको हुन लागेको निर्वाचनको विरुद्ध नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

निजामती कर्मचारीहरुको पेशागत संरक्षण, पहिचान र मर्यादालाई व्यवस्थित र वैज्ञानिक वनाउन निजामती सेवा ऐनले पेशागत समृद्धिको लागि कर्मचारीहरुलाई ट्रेड युनियन अधिकार प्रदान गरेको छ ।

सोही अधिकार अभ्यासको लागि गठित राष्ट्रिय स्तरका ट्रेड यूनियनहरुको भूमिकालाई व्यवस्थित गर्न आवधिक निर्वाचन मार्फत आधिकारीक ट्रेड युनियन गठन हुने प्रावधान वमोजिम आगामी असोज २४ गते हुने भनिएको निर्वाचन सम्वन्धी अगाडी बढाइएको कार्यक्रमहरु उपर मञ्चको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले मंगलबार एक विज्ञप्ति जारी गरी आन्दोलनको चेतावनी दिएका छन् ।

निर्धारित १० प्रतिशतको थ्रेसहोल्ड मापदण्डलाई ३ प्रतिशत कायम गरिनुपर्ने माग मञ्चको छ । अध्यक्ष चौधरीले यसो गरिए सबैको प्रतिनिधित्व हुने सुनिश्चित र यही नै समावेशिताको सिद्धान्त रहेको दाबी गरेका छन् ।

‘निर्वाचनको लागि हालै सार्वजनिक मापदण्ड फगत पुरातनवादको निरन्तरता मात्र हो । यस निर्वाचनमा लोक सेवा आयोगवाट हालै स्थानिय निकायको लागी छनौट गरिएको हजारौ निजामती कर्मचारीहरुलाई मताधिकारवाट वञ्चित गरिएको छ । स्वास्थ्य सेवाका कर्मचारीहरुलाई निर्वाचन प्रकृयामा निषेधित गरिएको छ ।’ उनले भनेका छन् ।

उनले भने, ‘हाम्रा माँगहरुलाई वेवास्ता गरी निरंकुश शैलीमा सरकारले गराउन थालेको उक्त निर्वाचन कुनै पनि हालतमा हामीलाई मान्य हुने छैन भनी यसै प्रेस विज्ञप्ती मार्फत सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गर्दछौ ।’

नेपाल मधेशी निजामती कर्मचारी मञ्च निजामती सेवामा रहेका मधेशी, आदीवासी, जनजाति, थारु, दलित, मुस्लिम, महिला तथा अल्पसंख्यक लगायतका समाजिक रुपमा वञ्चितिकरणमा परेका समुदायवाट प्रतिनिधित्व गर्ने सवै निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनमा प्रतिनिधित्व चाहन्छन् ।

सिधान्ततः कुनै पनि निर्वाचन पद्धती वा प्रकृया सर्वस्वीकार्य हुनु पर्दछ, सर्व हिताय हुनु पर्दछ र सर्व चिताय हुनु पर्दछ । तर उक्त निर्वाचनले उपरोक्त कुनै पनि वस्तुनिष्ठ सुचकहरुलाई सम्वोधन गर्न चाहेको छैन, गरेको छैन भनी ठहर मञ्चको छ ।

मञ्चले तत्काल निर्वाचन स्थगनको माग गरेको छ । मञ्चका मागहरु सम्बोधन गर्दै मञ्चको सहभागिता शुनिश्चित गरी निर्वाचनको नयाँ मिति सार्वजनिक गर्नसमेत माग गरिएको छ ।

अन्यथा निर्वाचन विरुद्ध आन्दोलनको विकल्प नरहने समेत विज्ञप्तिमार्फत चेतावनी दिनुका साथै सम्पूर्ण निजामती कर्मचारीहरुलाई यस्तो विभेदकारी निर्वाचनको विरुद्ध सवै एकजुट भई आन्दोलनका लागि तयार रहन अध्यक्ष चौधरीले अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया