मधेशले जसपाको विकल्पमा नयाँ शक्ति खोजेको छ : जगदीश अधिकारी (रमन सिंह)

अन्तर्वार्ता

       

जगदीश अधिकारी (रमन सिंह), जसपाका पूर्वनेता तथा मधेशी मुक्ति टाइगर्सका अध्यक्ष

० जसपामा समायोजन हुँदैछ तर तपाइँ असन्तुष्ट देखिनुभएको छ किन ?

— समायोजनको विषयमा पूर्वराजपाको हिस्सा परेको भन्दा बढीको लिष्ट तयार भएको छ । यस विषयमा तत्कालीन राजपाका अध्यक्षहरुबीच छलफल भइरहेको छ । आफ्नो हिस्साभन्दा बढीको नाम आएकोले अहिलेसम्म ढिलाई भइरहेको छ । अध्यक्षमण्डलका नेताहरुबीच नै कुरा अहिलेसम्म मिलेको छैन । त्यसमा पनि जसले मधेशमा कामै गरेको छैन, मधेश विरोधीहरुलाई बढी प्राथमिकता दिइएको छ । किनभने यिनीहरुलाई पद र पैसा चाहियो । अहिलेसम्म यिनीहरु पद र पैसाका लागि मात्रै राजनीति गरे । यिनीहरुले मधेशको मुद्दा समाप्त गरिसकेका छन् । यिनीहरु मधेशको मुद्दाभन्दा पनि व्यक्तिगत स्वार्थका लागि मात्रै राजनीति गरिरहेका छन् ।

० समस्या पूर्वराजपामा मात्रै छ कि पूर्वसमाजवादीमा पनि छ ?

— तत्कालीन दुवै दलमा समस्या छ । पूर्वसमाजवादीका नेताहरुले पनि पैसा र पदका मात्रै राजनीतिक गरिरहेका छन् । पूर्वसमाजवादीले पनि मधेशका संघर्ष गर्ने नेताहरुलाई विस्थापित गरिसकेको छ । पूर्वराजपाबाट पनि मधेशी योद्धाहरु विस्थापित भइसकेका छन् । म मधेशी मुक्ति टाइगर्सका अध्यक्ष थिएँ । मैले सरिता गिरी नेतृत्वको पार्टीसँग एकता गरेको थिएँ । सरिता गिरीले अनिल झाको पार्टीसँग एकीकरण गर्दा नेपाल सद्भावना पार्टीको म महासचिव थिएँ । म सुरुदेखि नै मधेशका लागि संघर्ष गर्दै आएको छु, सशस्त्र संघर्ष पनि गरेको छु । अहिले जसपामा भएका नेताहरुमध्ये म पनि एउटा वरिष्ठ मधेशवादी राजनीतिज्ञ हुँ । म जस्ता थुप्रै मधेशप्रति समर्पित नेताहरुलाई यिनीहरुले विस्थापित गर्दै छन् । यसले मधेशलाई अधिकार दिलाउन सक्दैन । त्यसैले म भोलीका दिन पुनः मधेशी मुक्ति टाइगर्सलाई पुनर्जीवित गर्न खोज्दैछु ।

० तपाइँलाई अहिलेसम्म कुनै पनि पद नदिँदा तपाइँको असन्तुष्टि हो ?

— जहाँ पैसासँग पद साटिन्छ भने त्यस्तो पार्टीमा मलाई पद चाहिँदैन । मधेशको लागि काम गर्छ भनेर यो पार्टीमा लागेको थिएँ । तर वास्तविकता अर्कै छ । यिनीहरुले हिन्दूराष्ट्रको मुद्दा पनि बेचे । पैसाका लागि यिनीहरु धर्मनिरपेक्षताको वकालत गर्दैछन् । किनभने युरोपियन युनियनले यिनीहरुलाई संरक्षण गर्छ । नेपालका सबै दलहरुले क्रिष्चियनको प्रसार प्रसार गर्छन् । मलाई पद नै चाहिन्छ भनेको छैन । यिनीहरुले अहिलेसम्म जति पनि मनोनयन गरेका छन् सबै पैसा लिएर नै गरेका छन् । जसले पैसा दियो उसलाई राष्ट्रियसभा वा अन्य पदहरु दिने गरेका छन् ।

० तपाइँले पैसा लिएर सांसद बनाएको भन्ने आरोप लगाउनुहुन्छ, त्यसको प्रमाण तपाइँसँग छ ?

— पैसा लिएर सांसद बनाएको प्रमाणै–प्रमाण छन् नि । जो कहिल्यै पनि पार्टीको केन्द्रीय सदस्यसमेत थिएन त्यस्ता मान्छेहरुलाई सांसद बनाएका छन् । पार्टीमा कुनै जिम्मेवारी नै नभएका व्यक्तिलाई समानुपातिकमा कसरी लगियो त ? हिजोसम्म जो मान्छेहरु अर्कै पार्टीमा थिए, त्यस्ता मान्छेहरु कसरी सांसद भए त ।

० नेपालमा वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले जसपा निर्माण गरिएको छ नि ?

— जसपा वैकल्पिक शक्ति हुनै सक्दैन । मधेशमा कुनै नयाँ शक्तिको जन्म भयो भने पुराना शक्तिहरु समाप्त हुन्छन् । त्यस्तो अवस्थाको सिर्जना हुँदैछ । यिनीहरुले मधेशलाई टुक्रा–टुक्रामा विभाजन गराए । मधेश एक प्रदेश भनेर यिनीहरुले वकालत गरेका थिए, मधेशमा त्यत्रो आन्दोलन भएको थियो । अहिले पनि संविधानको विरोध गर्छन् तर यही संविधानलाई टेकेर विभिन्न सुखसुविधाहरु लिइरहेका छन् । यस्तो संघर्ष र आन्दोलनको के मतलब ? जबसम्म मधेश यो देशबाट छुट्टिदैन तबसम्म मधेशीले अधिकार पाउँछ जस्तो मलाई लाग्दैन ।

० तपाइँ पनि पृथकतावादी विचारधाराको देखिनुभयो नि ?

— जब आफ्नो अधिकार नै पाउँदैन भने किन एक ठाउँमा बसिरहनुपर्ने । संविधानमा समानुपातिक समावेशिताको कुरा गरेको छ, तर व्यवहारमा त्यस्तो देखिँदैन । मधेशको पुनर्संरचना मधेशीले आफूअनुसार गर्न पाउनुपर्दथ्यो । तर त्यसो गरिएन । मधेशलाई छिन्नभिन्न बनाइदियो । यस विषयमा अहिलेका जसपाका नेताहरु किन अडान लिएन त ?

० जसपाका नेताहरु त अहिले पनि आफ्नो मागमा अडिनुभएको छ नि ? यो राज्य पुनर्संरचनालाई स्वीकार गरेको छैन, १०+१ को अवधारणा ल्याउनुभएको छ नि ?

— यिनीहरुले मधेशका मुद्दालाई आफ्नो राजनीतिक हतियारको रुपमा मात्र प्रयोग गर्छन् । सबैलाई थाहा छ, यिनीहरु पद र पैसाका लागि मुद्दालाई बेच्दै आएका छन् । बेला–बेलामा मन्त्री पनि बन्छन् । पहिला यिनीहरु संविधान दिवसको विरोधमा कालो दिवस मनाउँथे । तर अहिले हेर्नुस्, विस्तारै संविधानलाई स्वीकार गर्दै गइरहेको अवस्था छ । यदि संविधानप्रति असन्तुष्टि नै छ भने आफ्नो कित्ताकाट गर्नुप¥यो नि । जनतालाई झुक्याएर संविधानको विरोध गर्छौं भन्ने तर त्यहीं संविधानलाई टेकेर सम्पूर्ण सुविधाहरु पनि प्राप्त गर्ने दोहोरो नीति देखिएको छ ।

० अब मधेशका लागि विकल्प के देख्नुहुन्छ ?

— अब मधेशमा नयाँ शक्तिको जन्म हुनुपर्छ । मधेशले अब विकल्प खोज्न सुरु गरिसकेको छ ।

० मधेशमा वैकल्पिक शक्तिकै लागि त जसपा बनाइयो नि । अब कस्तो नयाँ शक्ति आउँछ ?

— यसले मुद्दा नै छोडिसकेपछि यस्तो वैकल्पिक शक्तिको कुनै आचित्य नै रहेन । जतिबेला नेपाल सद्भावना पार्टी थियो भने फोरमको जन्म किन भयो ? त्यो पनि मधेशकै मुद्दा लिएर अगाडि बढ्दै थियो । त्यसपछि फोरमले काम गर्न सकेन भने महन्थ ठाकुरले पार्टी खोल्नुभयो । त्यसले मधेशमा अब फेरि नयाँ शक्तिको उदय हुन्छ, समय आउँदैछ । प्रतिक्षा गरौं । यिनीहरुबाट मधेशले केही पनि पाउँदैन ।

० तपाइँले आफ्नै पार्टीविरुद्ध बोलिरहनुभएको छ, पार्टीले तपाइँलाई कारबाही गर्ला नि ?

— मलाई पार्टीले कारबाही गरेपनि कुनै मतलब छैन । मेरो त आफ्नै पार्टी थियो । यिनीहरुले मधेशका लागि काम गर्छ भनेर शान्तिपूर्ण आन्दोलनमा म आएको थिएँ । मैले जसपाको पदाधिकारी बैठकमै भनेको थिएँ कि तपाइँहरु पद र पैसा कमाउनका लागि मात्रै पार्टी खोल्नुभएको छ । त्यसलाई मलाई अहिलेसम्म कुनै पनि समितिमा राखेको छैन । अब योभन्दा बढी के कारबाही गर्छ मलाई ।

० अब के गर्नुहुन्छ ?

— म अब फेरि आफ्नो पार्टी मधेशी मुक्ति टाइगर्सलाई सक्रिय बनाउँछु । तत्कालीन संगठनका कार्यकर्ताहरु अहिले पनि हामीसँगै छन् । हाम्रा कार्यकर्ताहरु अहिले पनि कुनै पार्टीमा लागेका छैनन् । म त्यतिबेला नेपाल सद्भावना पार्टीमा आउँदा आफ्ना कार्यकर्ताहरुलाई पनि जोड्नुस् भनेको थिएँ तर मैले आफ्ना कार्यकर्ताहरुलाई यथास्थितिमै राखें । किनभने हतियार उठाएका मान्छे यिनीहरुसँग बस्न सक्दैन भन्ने कुरालाई थाहा थियो । म यिनीहरुसँग बस्न खोजे तर सकिएन ।

० भनेपछि अब फेरि तपाइँले सशस्त्र समूहलाई ब्युँताएर भूमिगत हुने ?

— अब फेरि हतियार उठाउने कि शान्तिपूर्ण संघर्ष गर्ने त्यो त अहिले नै भन्न सकिँदैन । हाम्रो तत्कालीन केन्द्रीय समितिमा सरसल्लाह गर्छौं । हाम्रा संगठनका तत्कालीन नेताहरु चटान सिंह, मंगल पाण्डे लगायतका थुप्रै उपनाम भएका नेताहरुसँग बसेर छलफल गर्छौं ।

० तत्कालीन अवस्थामा मधेशका सशस्त्र समूहहरु धेरै बदनाम पनि भएका थिए नि ?

— त्यतिबेला अहिलेका दलहरुले नै मधेशका सशस्त्र समूहहरुलाई बदनाम गराएका थिए । किनभने विशेष सुरक्षा नीति लागू गराएर सयौं मधेशीहरुको हत्या गराएका हुन् यिनीहरुले । राजनीतिक अधिकार के हो भन्ने कुरा अहिलेसम्म पनि मधेशीले बुझ्न सकेका छैनन् । आर्थिक अक्षमता, जातीय विभेद लोकतन्त्रका लागि खतरा हो । यसबाट माथि उठ्न मधेशका जनतालाई अलिकति समय लाग्छ । जब मधेशका जनताले यी कुराहरु बुझ्न तब जनताले यिनीहरुमाथि कारबाही गर्छन् । अहिले संसदमा रहेका मधेशी नेताहरुले नै विशेष सुरक्षा नीति लगाएर मधेशीहरुको हत्या गराएका थिए ।

० मधेशमा विशेष सुरक्षा नीति लागू हुनुमा मधेशी दलका नेताहरुको नै भूमिका थियो त ?

— निश्चितरुपमा मधेशमा विशेष सुरक्षा नीतिको नाममा सयौं मधेशीको गैरन्यायिक हत्या गराउनमा अहिलेकै मधेशी दलका नेताहरुको हात छ । मधेशका सशस्त्र भूमिगत समूहहरु समाप्त भएपछि आफूहरु मधेशमा राज गर्छौं भनेर नै विशेष सुरक्षा नीति लागू गराएको थियो । अहिले मधेशी दलमा रहेका अधिकांश कांग्रेस, एमाले, माओवादी र राजावादी दलहरुबाट आएका हुन् । अहिले पनि जसपामा विशुद्ध मधेशवादी नेता एकदम कम छन् । अहिले जसपाको बन्न गइरहेको केन्द्रीय समितिमा हेर्नुहोला मधेशको राजनीतिबाट आएका नगण्य हुनेछन् ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया