भालुवाङ लुम्बिनी प्रदेशको उपयुक्त केन्द्रविन्दू हो : घनश्याम पाण्डे

स्थानीय सम्वाद्

       

घनश्याम पाण्डे, मेयर, तुलसीपुर उपमहानगरपालिका, दाङ, लुम्बिनी प्रदेश

० लुम्बिनी प्रदेशको राजधानी तुलसीपुर उपमहानगरको छेउमा राखिने भएको छ, यसबाट कतिको हर्षित हुनुभएको छ ?

— लुम्बिनी प्रदेशको केन्द्रविन्दूमा राजधानी तोकिएको छ । यस प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक अवस्थितिलाई नै हेरेर प्रदेश सरकारको प्रस्तावमा प्रदेश संसदले पारित गरेको छ । प्रदेशको केन्द्र राप्ती उपत्यकाको भालुवाङ क्षेत्र तोकिएको छ । यो अत्यन्तै वैज्ञानिक हो । यसका निम्ति तुल्सीपुर उपहानगर हार्दिक स्वागत गर्छ । यसले प्रदेशको समग्र पक्षलाई समर्थन र सम्बोधन गरेको छ ।

० भालुवाङ नै कसरी उपयुक्त हो त ?

— भालुवाङ क्षेत्र भनेको लुम्बिनी अञ्चलको अर्घाखाँची, दाङ र प्युठानको एउटा संगमस्थल हो । यस प्रदेशको केन्द्रभागमा पनि पर्दछ । खासगरी संसारभरिका धेरै शहरहरु नदी सभ्यतामा आधारित भएर बनेका हुन्छन् । भालुवाङ क्षेत्रलाई स्थायी केन्द्र तोकेको अवस्थामा लुम्बिनी प्रदेशको एउटा नयाँ शहरको रुपमा विकास हुनेछ । त्यो मूलतः प्रदेश सरकारका प्रमुख केन्द्रहरु त्यो क्षेत्रमा निर्माण हुनेछन् । केन्द्र भाग भालुवाङ भएतापनि त्यसका अन्य उपभागहरु पनि विकास हुनेछन् । राप्ती उपत्यका अथवा नदीको मैदानी फाँट दीर्घकालीनरुपमा एउटा सुन्दर शहरको रुपमा विकास भएर प्रशासनिक, आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यको रुपमा पनि विकास गर्नेछ । त्यसले दाङ, प्युठान, अर्घाखाँची, कपिलवस्तुलगायत सबैलाई समेट्नेछ भने सुगमताको हिसावले यस प्रदेशका सबै जिल्लालाई लाभ हुन्छ ।

० तर, भालुवाङमा राजधानीका लागि चाहिने संरचनाहरु छैनन् नि ?

— यसको पूर्वाधार दीर्घकालीनरुपमा निर्माण गर्दै जानुपर्छ । अहिले पनि प्रदेश सरकार सञ्चालनका लागि आवश्यक पूर्वाधार भालुवाङ क्षेत्रमा छन् । भालुवाङले थाम्न सकेन भने लमही, घोराही, तुलसीपुर र वरिपरिका क्षेत्रमा पनि हामीले त्यसमा व्यवस्थापन गर्न सक्छौं । त्यसकारणले पूर्वाधारको त्यति ठूलो समस्या हुँदैन । अहिले भएकै पूर्वाधारबाट पनि प्रदेशको केन्द्र सञ्चालन गर्न सम्भव छ । भविष्यमा एउटा सुन्दर शहरसहितको पूर्वाधार निर्माणको प्रक्रियालाई अघि बढाइयो भने आगामी दुई÷तीन वर्षमा सम्पन्न गर्न सकिन्छ ।

० भनेपछि लुम्बिनी प्रदेशको राजधानी उपयुक्त ठाउँमा तोकिएको छ ?

— पूर्णरुपमा राजधानी भालुवाङ लुम्बिनी प्रदेशको उपयुक्त स्थान हो । आर्थिक, सामाजिक, सांस्कृतिक हिसावले उपयुक्त छ । भालुवाङले मगरात, थारु, अवध, मधेश, मुस्लिम समुदायको समेत बसोबास भएको क्षेत्र हो । त्यसैले, नेपालको सबै राजनीतिक आन्दोलन र संघर्षहरुलाई पनि यसले प्रतिनिधित्व गर्छ । यो लुम्बिनीको केन्द्र भागमा रहेको हुनाले सबैका निम्ति उपयुक्त हो ।

० भालुवाङमा राजधानी आएपछि तुलसीपुरका जनताको प्रतिक्रिया कस्तो पाउनुभयो ?

— यहाँका जनता एकदमै उत्साहित र खुसी छन् । हामीले यहाँ दिपावली ग¥यौं । उद्योग वाणिज्यसहित विभिन्न संघसंस्थाहरुले पनि दिपावली गरे । उपहानगरपालिकाको तर्फबाट हामीले भनेका छौं कि यो निर्णयलाई हामी प्रशंसा गर्छौं । भालुवाङलाई स्थायी केन्द्र बनाइकन त्यसको वरिपरि आवश्यक पर्ने संरचना निर्माण गर्नुप¥यो । त्यसका कुनै आवश्यक मद्दत वा सहयोग प¥यो भने तुलसीपुर उपमहानगर सदैव तयार छ ।

० तुलसीपुर उपमहानगरमा वैश्विक महामारी कोरोनाको अवस्था के छ ?

— कोरोना महामारीको हिसावले तुलसीपुर न त उच्च जोखिममा छ न त सामान्य अवस्थामै छ । यहाँका सबै कार्यहरु नियमितरुपमा सञ्चालन भइरहेका छन् । हामीले सुरुदेखि नै नागरिकलाई कोरोनाबाट बचाउनका निम्ति सजगता, सतर्कता र स्वास्थ्य सामग्रीहरु व्यवस्थापन गरेका छौं । यहाँ कोरोना अस्पताल पनि सञ्चालनमा छन् । हामीले सबै स्वास्थ्यकर्मीका टिमलाई पनि परिचालन गरेका छौं । अहिलेसम्म यहाँ ७५% संक्रमित उपचारलाभ पनि घर फर्किसकेका छन् । केही पोजिटिभ केशहरु पनि छन् । अधिकांशले घरमै बसेर उपचार गराइरहनु भएको छ । एकदम सिरियस केश देखिएको छैन ।

० कोरोनाबाट तुलसीपुरमा मृत्यु भएको छैन ?

— तुलसीपुरमै कोरोनाबाट एउटा पनि मृत्यु भएको छैन । तर यहाँकै विरामी ब्लड क्यान्सरपीडित काठमाडौंमा उपचारको क्रममा संक्रमित देखिएर मृत्यु भएको छ । उहाँ पहिलादेखि ब्लड कक्यान्सरबाट पीडित भएर उपचाररत् हुनुहुन्थ्यो र त्यहीं संक्रमित हुनुभयो । त्यसैले यहाँ कोरोना संक्रमित भएर मृत्यु भएका संख्यामा छैन ।

० सुरुवाती अवस्थामा दाङ जिल्ला कोरोनाको उच्च जोखिममा थियो, कसरी रोकथामको गरिरहनु भएको छ ?

— कोरोनाका विरामीहरुको उपचारका लागि हामीले प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएका छौं । कोरोना संक्रमणलाई रोक्नका निम्ति स्वास्थ्य सतर्कता अपनाउने, सावधानी अपनाउने कुरा नै अहिले प्रमुख रुपमा रहेका छन् । विरामी पत्ता लाग्ने बित्तिकै आइसोलेट गर्ने उपचार गर्ने कुरालाई अगाडि बढाएका छौं । कोरोनाका कारण संकटमा परेकाहरुको सहयोग वा राहतका लागि पनि विभिन्न संघसंस्थाहरुसँग मिलेर कार्यक्रम सञ्चालनमा ल्याएका छौं । त्यसले गर्दा कोरोनाका कारण अप्ठ्यारो परेको महसुस भएको छैन ।

तपाईको प्रतिक्रिया