प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त : मातृका यादव

राजनीति

       

जनकपुरधाम, २५ असोज । पूर्वउद्योग तथा आपूर्तीमन्त्री तथा नेकपाका नेता मातृकाप्रसाद यादवले प्रदेश २ को सरकार चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।

शनिबार गणेशमान चारनाथ नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य समेत रहेका पूर्वमन्त्री यादवले यस्तो आरोप लगाएका हुन् ।

उनले संघीयतालाई कमजोर पार्न षड्यन्त्र गरिरहेको भन्दै विकास निर्माणको नाममा प्रदेश २ सरकार व्यापकरुपमा भ्रष्टाचार गर्न तल्लिन रहेको बताए ।

प्रदेश सरकारले कोरोना महामारीले प्रदेश २ को अवस्था भयावह रहेको बेलामा समेत जनताप्रति उत्तरदायी प्रदेश सरकार हुन नसकेको बताए ।

उनले नेकपा भित्रको विवाद प्रायः समाधान भएको र मन्त्रीमण्डलको हेरफेरको विषयमा समेत स्थायी समितिले गरेको निर्णय नै कार्यान्वयन हुने बताए । पार्टीको आन्तरिक समस्याहरु समाधान हुँदै गएको समेत स्पष्ट पारे ।

प्रदेश २ को सत्तारुढ जनता समाजवादी पार्टीका नेता अजय राय, रामचन्द्र राय र सुनिल राय लगायत दर्जनौँ स्थानीय नेताहरु तथा नेपाली काँग्रेसका गणेशमान चारनाथ मुस्लिम टोल बस्ने कैयूम लेहरीको नेतृत्वमा दर्जनौँ मुस्लिम अगुवाहरु गरी करिब २ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया