कोरोनाबारे सचेतना फैलाउँदै सशस्त्र प्रहरी

समाचार

       

रुपन्देही, ३० असोज । ग्रामीण क्षेत्रका बस्तीलाई लक्षित गरेर सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेडक्वाटर रुपन्देहीले कोभिड–१९ बारे जनचेतनामूलक कार्यक्रम गरेको छ ।

संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न र रोगबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा ग्रामीण क्षेत्रका बस्तीहरुमा सचेतनामूलक कार्यक्रम गरिएको गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले जानकारी दिए ।

सशस्त्रले सिद्धार्थनगर नपा–११ स्थित भुजौली गाउँलगायत रुपन्देहीका १२ वटा ग्रामीण बस्तीहरुमा कोभिड–१९ का बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरी नागरिकस्तरमा सचेतना जगाएको हो ।

स्थानीयलाई सचेत बनाएमा कोभिडको जोखिम न्यूनीकरण गर्न सकिन्छ कि भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको सशस्त्रले जनाएको छ । ग्रामीण बस्तीहरुमा मास्कको प्रयोग नपाइएको, सावुन पानीले हात धुने बानी नभएको र हात धुने तरिकासमेत थाहा नभएको, कोभिड १९ बारे जानकारी नभएको, भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने कुरा थाहा नभएको पाइएको सशस्त्रले जनाएको छ । सशस्त्रले ग्रामीण बस्तीका नागरिकलाई कोभिडबाट बच्ने उपाय सिकाउनुका साथै सामान्य स्वास्थ्य चेकजाँच, मास्क वितरण, कोभिडबाट बच्ने उपायबारे लेखिएको पर्चापम्पलेट पनि वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया