अपराधीको मानसिकता परिवर्तन गर्न जरुरीः मुख्यमन्त्री राउत

समाचार

       

जनकपुरधाम, ३० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालिका बलात्कार र दलितमाथि भएको दमन रोक्न प्रहरी सक्रिय हुनुपर्ने बताएका छन् । प्रदेश २ मा बलात्कारसहित अन्य आपराधिक घटना मौलाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रहरीले अपराधीको मानसिकता नै परिवर्तन गर्ने समय आएको बताए ।

‘अपराध गर्नेको मनोबल बढेकोले अपराध गर्नेलाई कसरी दण्ड दिने तर्फ प्रहरी लाग्ने समय आएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘ बलात्कार र दलितमाथि हिंसा बढेकोले अपराध न्यूनीकरण गर्न रणनीति बनाएर प्रहरीलाई अगाडि बढ्न प्रदेश सरकारले समन्वय गर्ने छ ।’

प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६५औं नेपाल प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले ‘प्रहरी मेरो साथी’को नारालाई यथार्थमा रुपान्तरण गर्न प्रहरी नागरिकमैत्री हुनु पर्ने बताए । मुलुकको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रहरी जनतासँगको सुमधुर सम्बन्ध कायम गरे मात्र ‘प्रहरी मेरो साथी’ भन्ने नारा यथार्थमा रुपान्तरण हुने राउतले बताए ।

‘प्रदेश २ का जिल्लाहरु भारतीय सीमासँग जोडिएकोले अपराधसँगै तस्करीको समस्या छ,’ राउतले भने, ‘सिमानामा प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ । प्रहरीले तस्करीको नाममा समान्य व्यक्तिलाई समेत दुःख दिएको छ ।’ तस्कर र बिचौलियालाई कारबाही गरी सामान्य नागरिकलाई सहुलियत दिएर सिमानामा प्रहरीको भूमिका परिवर्तन गनुपर्ने राउतले बताए ।

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत, अमर तथा सहिद प्रहरीका परिवारजन, नेपाल प्रहरीलाई सहयोग गर्ने संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया