प्रदेश २ मा अहिलेसम्म १५७ को कोरोनाबाट मृत्यु

समाचार

       

जनकपुरधाम, ३० असोज । प्रदेश २ मा बिहीबार १ सय ४ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ८२ पुगेको छ । कूल संक्रमितको संख्या १४ हजार ५ सय २५ पुगेको छ ।

बिहीबार यस प्रदेशको सप्तरी, महोत्तरी र पर्साका तीन जना कोरोना संक्रमितको उपचारको मृत्यु भएको छ। यससँगै मृतकको संख्या १ सय ५७ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयकाअनुसार सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझीयाकी ४६ वर्षीया महिलाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । महोत्तरीको पिपरा गाउँपालिका ५ का २५ वर्षीय युवकको मानव अंग प्रत्यारोपन केन्द्र भतmपुरमा उपचारको क्रममा मृत्यु भएको छ । पर्साको छपकैया २ का ४५ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

बिहीबार यस प्रदेशका धनुषामा १६ जना, महोत्तरीमा १ जना, सर्लाहीमा ३ जना, रौतहटमा ९ जना, बारामा १४ जना, पर्सामा २४ जना, सिरहामा २५ जना र सप्तरीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो दुई साता दोहोरो अंकमा सीमित संक्रमतिको संख्या पुनः बढ्न थालेको छ ।

बिहीबारसम्ममा सप्तरीमा २ सय ४४, सिरहामा ६ सय ५८, धनुषामा २ सय २३, महोत्तरीमा २ सय ३५, सर्लाहीमा ६२, रौतहटमा ८८, बारामा १ सय ७ र पर्सामा १ सय ६५ सक्रिय संक्रमित रहेको प्रदेश २, स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले बताए । यस प्रदेशमा सरकारी आइसोलेसनमा भन्दा होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढी छ ।

तपाईको प्रतिक्रिया