पूर्व राजपाका सचिव पासवानद्वारा पार्टी परित्यागको घोषणा

राजनीति

       

सर्लाही, ४ कात्तिक । मधेशका जनताको अधिकार र समृद्धिको नारा लगाएका मधेसकेन्द्रित दल, पद र पैसाको पछि लागेको तत्कालीन राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव राजाराम पासवानले आरोप लगाएका छन् ।

नेता पासवानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरे ।

पछिल्लो समय मधेसमा लगातार दलित समुदायमा युवा, युवती, बालिकामाथि भइरहेको बलात्कार र हत्याजस्तो जघन्य अपराधको घटनामा समेत मधेसकेन्द्रित दल चुपचाप रहनुले उनीहरूको नियत स्पष्ट भएको नेता पासवानको ठहर छ ।

‘मधेसी समुदायको मसिहा ठान्ने तर दलित तथा विपन्न समुदायलाई भोट बैँक मात्र सम्झने र जनतामाथि घृणाको व्यवहार गर्ने पार्टिमा रहिरहनु न्याय संगत नरहेको कारण आजको मितिबाट पार्टिको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेको घोषणा गरेको छु,’ नेता पासवानले प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मधेसी दल मधेसमा विपन्न जनताको भन्दा पनि आफ्ना र आफन्तको उत्थानमा लागेका उनको आरोप छ ।

‘विपन्न र दलितको अवस्था समृद्ध बनाउन लडेर ज्यान गुमाएका परिवार आज पनि न्यायको पक्षमा आवाज उठाइरहेका छन्,’ उनले भने, ‘तर यहाँ आवाज सुन्ने तहमा पुगेका राजनीतिक दलका नेताहरू जनताका आवाज दबाउन लागिपरेका छन् ।’

सदभावना पार्टी हुँदै राजनीतिमा लागेका पासवान राष्ट्रिय जनता पार्टीको केन्द्रीय सचिव हुँदै हाल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टीमा आबद्ध थिए ।

तपाईको प्रतिक्रिया