प्रदेश २ मा जसपाका सांसदहरूले दशैं भत्ता पार्टीलाई बुझाउने

राजनीति

       


काठमाडौं, ५ कात्तिक । जसपाले आफ्ना सबै सांसदहरुलाई दशैं भत्ता पार्टी कोषमा दाखिला गर्न निर्देशन दिएको छ । कोभिड कोषको खर्च पारदर्शी नदेखिएकाले यस्तो निर्णय गरिएको जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य गजाधर यादवले बताए । ‘सबै सांसदलाई दसैँ भत्ता पार्टी कोषमा दाखिला गर्न निर्देशन दिएका छौँ,’ यादवले भने ।

प्रदेश २ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मन्त्रीहरूले बुझेको दसैँ भत्ताको विषयमा कुनै निर्णय नभएको बताए । तर, एक–दुई दिनमै दसैँ भत्ताबारे मन्त्रिपरिषद्मा छलफल हुने उनको भनाइ छ ।

उता, पार्टी केन्द्रीय समितिको निर्देशनअनुसार कांग्रेसका प्रदेश २ सांसदहरूले दसैँ भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । प्रदेश २ मा काँग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई पत्र पठाएर कांग्रेसले उक्त रकम कोभिड कोषमा जम्मा गर्न निर्देशन दिएको हो ।

‘आगामी महिनाको पारिश्रमिक तथा सेवा सुविधाबाट कट्टा हुने गरी उक्त रकम कोभिड कोष जम्मा गर्ने जानकारी सभामुख, प्रदेश सभा सचिवालय र लेखा शाखालाई गराएका छौँ,’ यादवले भने ।

तर प्रदेश २ प्रदेश सभामा नेकपाबाट प्रतिनिधित्व गर्ने सांसद भने अलमलमा देखिएका छन् । संसदीय दलले निर्णय नगरेकाले उनीहरू अलमलमा परेका हुन् । नेकपा प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले पार्टी केन्द्रबाट कुनै निर्देशन नआएको बताए । ‘दसैँ भत्ता फिर्ताबारे अहिलेसम्म कुनै छलफल भएको छैन,’ उनले भने, ‘धेरै सांसद दसैँ भत्ता फिर्ता गर्ने मनस्थितिमा देखिएका छैनन ।’

तपाईको प्रतिक्रिया