सम्बन्ध सुधारको उच्चतम् मार्ग (सम्पादकीय)

सम्पादकीय

       

भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे तीनदिने नेपाल भ्रमणका क्रममा अहिले काठमाडौंमा छन् । नेपाल र भारतबीच पछिल्लो चरणमा उत्पन्न सीमा विवादपछि उच्चतहका पहिलो औपचारिक भ्रमण पनि हो यो । सीमा विवादको आरम्भ भारतीय सेनाको राजनीतिक र सैनिक नेतृत्वबाट भयो भने समाधानको पहल पनि उही नेतृत्वबाट हुँदै गरेको देखिँदै छ ।

दुई देशबीच सीमा विवाद पछि चिसिएको र फेरि संवादको शृङ्खला आरम्भ भएपछिको वातावरणमा भारतीय सेनाप्रमुखको भ्रमणका सन्देशहरू सकारात्मक हुन सक्छन् । यो बेलामा सेनाप्रमुखको नेपाल भ्रमण दुई सैनिक संगठनबीचको परम्परागत मित्रतापूर्ण सम्बन्धको निरन्तरतामात्रै नभई द्विपक्षीय सम्बन्धको आगामी विकाससमेत यो भ्रमणमार्फत उजागर हुने देखिन्छ ।

भारतीय सेना प्रमुखकोे भ्रमणको वस्तुतः दुई आयाम छन् । पहिलो, सैन्य सहयोगमा केन्द्रित र दोस्रो, त्योमार्फत द्विपक्षीय सम्बन्धमा केन्द्रित । यो भ्रमणपछि नेपाल र भारतबीचका सीमालगायतका समस्यामा औपचारिक वार्ताका थालनी हुने विश्वास गरिन्छ ।

नरवाणे सेनाप्रमुख भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । सामान्यतयाः भारतीय सेनाप्रमुखले नेतृत्व समालेको केही महिनामै नेपाल भ्रमणमा आउने र मानार्थ महारथीको उपाधि ग्रहण गर्ने परम्परा रहँदै आएको छ ।

नेपाल–भारत सम्बन्धको एउटा कडी सैन्य साइनो पनि हो । भारतको विदेश सम्बन्ध तथा सामरिक मामिलामा सैनिक नेतृत्वको भूमिका महत्वपूर्ण रहन्छ । सेनापतिको फिडब्याकले सुरक्षा मामिलामा मात्र होइन, त्यहाँको राजनीतिक नजर र नीतिमा प्रभाव पार्नसक्ने अनुमान गरिएको छ । काठमाडौं यात्रा र यहाँ हुने भेटवार्ताका आधारमा सेनापतिले दिल्लीको संस्थापनलाई दिने फिडब्याकले नेपाल भारत सम्वादको आगामी यात्रा निर्देशित हुनसक्छ ।

दक्षिण एसियामा आफ्नो सामरिक प्रभाव बढाउनका लागि नेपाली सेनाको साथ र उससँगको सहकार्य महत्वपूर्ण हुने विश्लेषण दुई छिमेकी मात्र होइन, अमेरिकालगायतका अरु शक्तिराष्ट्रले पनि गरेका छन् । पहिले दरबारमार्फत आफ्नो सुरक्षा चासो सम्बोधन हुन्थ्यो, त्यसैले सेनासँग खासै प्रत्यक्ष सम्बन्ध तथा आदान प्रदान त्यति बाक्लो थिएन । तर राजनीतिक परिवर्तनपछि सरकारको अस्थिरताका कारण आफ्नो सुरक्षा चासो सम्बोधनका लागि सेना नै स्थिर र भरपर्दो शक्ति भएको विश्लेषण गर्दै सेनासँग सहकार्यमा उनीहरूको विशेष जोड देखिन्छ ।

यता भ्रमणको पूर्व सन्ध्यामा कतिपय जिम्मेवार तथा स्थापित ब्यक्तित्वबाट समेत भारतीय सेना प्रमुख नरवाणेको नकारात्मक टिप्पणीका कारण उनको आसन्न भ्रमण असान्दर्भिक, असामयिक तथा अनावश्यक भन्ने जस्तो अभिव्यक्ति आउने गरेको पाइन्छ । यो अति–राष्ट्रवादी सोचको उपज हो ।

ठूलो र शक्तिशाली देशको संधियार राष्ट्र हुन सजिलो हुँदैन र छैन । तर, छिमेकी फेर्न सकिँदैन त्यसैले ठूलो र शक्तिशाली राष्ट्रसँग मिलेर बस्न सिक्नु नै साना राष्ट्रको बाध्यता हो भने साना राष्ट्रले आफू बच्ने रणनीति अख्तियार गर्न सक्नु नै उसको उत्तम बाँच्ने उपाय पनि हो । नेपालले पनि भारत र चीनसँग मिलेर बस्नुको विकल्प छैन र केही थिचोमिचो सहनु नेपालको नियति नै हो तर पनि व्यावहारिक तथा परिपक्व कूटनीतिको विकास र अभ्यासद्वारा यस्ता थिचोमिचो न्यूनीकरण गर्न सकिन्छ । यही नै नेपालको वृहत्तर हित रक्षाको मूल अस्त्र हो । यसका लागि राष्ट्रिय सुरक्षा नीति र यसको दायराभित्र रहेर राज्य व्यवस्था सञ्चालन गर्नुपर्छ ।

आफ्नो भू–राजनीतिक अवस्थितिका कारण नेपाललाई आफ्नो धरातलीय वास्तविकता भुल्ने सुविधा पनि छैन । जबसम्म आफूलाई चाहिने न्यूनतम् आवश्यकता पूरा गर्ने क्षमता विकास गर्न सकिँदैन र चीनलाई व्यावहारिक विकल्पका रूपमा स्थापित गर्न सकिँदैन तबसम्म भारतमाथि हाम्रो परनिर्भरता निकै हदसम्म रही नै रहन्छ र यो नेपालको बाध्यता हो ।

तपाईको प्रतिक्रिया