मधेशभरि फैलियोस् प्रकाश (सम्पादकीय)

सम्पादकीय

       

दशैंको पन्ध्रौं दिनमा आउने ठूला पर्वहरूमध्ये तिहार अर्थात् दिपावली पनि एक हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरू भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म अर्थात् पाँच दिन मनाइन्छ ।

हिन्दु धर्मावलम्वीले दीपावलीको रूपमा यस पर्वलाई धूमधामका साथ मनाउने पनि गर्दछन् । पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दु धर्मशास्त्रका पौराणिक कथाहरूमा पनि तिहारलाई वर्णन गरिएको छ ।

सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दु शास्त्रमा उल्लेख गरिएको छ ।

तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।

पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि विश्वास रहेको छन् ।

दक्षिण एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भूटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ । तिहार हिन्दुहरूको सबैभन्दा ठूला पर्वहरू मध्ये एउटा हो । तिहार अर्थात दिपावली मधेशमा पनि निकै उत्साहका साथ मनाइन्छ ।

जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश यस पर्बले दिएको हुन्छ । अभावग्रस्त जीवनले परिपूर्ण बनाएर आत्मज्योतिको दिव्य प्रकाशको अनुभूति गर्न सकौं भन्ने सन्देश दिपावलीले दिएको छ भन्दा फरक नपर्ला । प्रकृति भोग्य होइनन यी त सहगामिनी हुन् भन्ने कुरा यो पर्वबाट थाहा हुन्छ ।

दिपावलीले सबैमा सुख, समृद्धि तथा श्रीसम्पति छाओस् भन्ने सबैको कामना छ । मधेश मात्र होइन पुरै देश अहिले कोरोनाभाइसको संक्रमणमा छ । यो संक्रमणकाबीच हामीले दशै मनायौं भने दीपावली र छठ जस्ता पर्व पनि मनाउनु परेको छ । संक्रमणको संवेदनशीलतालाई ध्यानमा राखेर हामीले यस वर्ष चाडपर्व मनाउनु श्रेयस्कर हुनेछ । सामाजिक दूरीलाई कायम राख्नै पर्छ ।

चाडबाड आयो भन्दैमा स्वास्थ्यसम्बन्धी प्रोटोकोललाई पालना गर्न बिर्सनु हुँदैन । आर्शीवाद थाप्ने भन्दैमा स्वास्थ्यको जोखिमलाई ख्याल गर्नुपर्छ । सामाजिक मान्यतामाथि पनि यस पटक विचार गर्नु वाञ्छनीय हुने देखिन्छ । आफन्तजनको भेटघाटमा दुरी कायम गर्ने कुरामा सचेत बन्नैपर्ने बाध्यता छ ।

त्यसैले तिहारमा पनि सकेसम्म कम भेटघाट गर्ने उपायहरुको खोजी गर्न सकिन्छ । भीडभाड कम गर्ने र गराउने विषयमा राजनीतिक दल, तिनका भातृ संगठन र विभिन्न सामाजिक संघसंस्थाहरुले अहिलेदेखि नै सचेतना अभियानहरु चलाउनु उपयुक्त हुने देखिन्छ । सरकारले जारी गर्ने सूचनाहरु पनि त्यसैतर्फ लक्षित हुनुपर्छ । कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश नै तिहारको उपयुक्त शुभकामना हुनसक्छ ।

तपाईको प्रतिक्रिया