अब देशभरका किसानहरू काठमाडौंमा आन्दोलन गर्न आउँछन् : रामस्वार्थ राय

अन्तर्वार्ता

       

रामस्वार्थ राय, अध्यक्ष, उखु किसान संंघर्ष समिति, सर्लाही

० चिनी मिल मालिकहरुले तपाइँहरुको भुक्तानी दिएन, पीडामा हुनुहुन्छ भनेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्नुभयो, के कुरा भयो ?

— हामीलाई चिनी मिल मालिकहरुले भुक्तानी नदिँदा सर्लाहीबाट सुरु गरेको आन्दोलन संघीय राजधानी काठमाडौंसम्म ल्याएका छौं । नेपाल सरकारको उद्योग मन्त्रालयले हामीसँग लिखित सम्झौता पनि ग¥यो तर पनि कार्यान्वयन भएन, हामीले सबै भुक्तानी पाएनौं । अब फेरि आन्दोलन गर्नुपर्छ भनेर नै हामी काठमाडौं आएका हौं । सोही क्रममा हामीसँग सरकारले गरेको सम्झौताबारे उद्योगमन्त्रीलाई स्मरण गरायौं । त्यसपछि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि यसबारे भेटेर नै अवगत गरायौं । सम्माननीय राष्ट्रपतिज्यूबाट हामीले राम्रै आश्वासन पायौं । आश्वासन मात्रै दिएर हुँदैन, यदि कार्यान्वयन भइदियो भने हामी उहाँप्रति धेरै आभारी हुने थियौं ।

० राष्ट्रपतिज्यूबाट कस्ता आश्वासनहरु पाउनुभयो ?

— उहाँले हामीप्रति सहानुभूति नै देखाउनुभयो । उहाँले हामी पनि किसान परिवारबाटै आएको भन्नुभयो । हामी किसानका समस्या र पीडा बुझिरहेको भन्ने राष्ट्रपतिको भनाइ थियो । कृषि प्रधान देशमा पनि किसान यदि यस्तो मारमा पर्छ भने धेरै दुःख लाग्दो कुरा हो । उहाँले हाम्रा बाँकी रहेको बक्यौंताहरु भुक्तानी गराउन सरकारलाई आग्रह गर्ने र पहल गर्ने आश्वासन दिनुभएको छ । यस्तै, किसानहरुका लागि मलखाद्य उद्योग स्थापनाका लागि पनि सरकारलाई आग्रह गर्ने भन्नुभएको छ । किसानको पीडा सरकारले अविलम्ब समाधान गर्नुपर्नेमा उहाँको जोड थियो । हामी गत वर्ष पनि काठमाडौंमा आन्दोलन गरेका थियौं, त्यो सायद उहाँलाई थाहा भएन होला वा यसबारे उहाँ अनभिज्ञ हुनुहुन्थ्यो । तर, यसपटक हामी काठमाडौं आउँदा उहाँसँगै भेटेर हामी आफ्ना दुःख र पीडा सुनायौं । सम्माननीय राष्ट्रपतिज्यूको आश्वासनबाट हामी आशावादी भएका छौं ।

० राष्ट्रपतिज्यूसँगको भेटपछि अब तपाइँहरुको समाधान हुनेमा आशा पलाएको छ ?

— निश्चितरुपमा जब सम्माननीय राष्ट्रपतिजयूबाट नै हामीले आश्वासन पाइसक्यौं कि हाम्रा भुक्तानीका लागि पहल गर्नुहुन्छ, सरकारलाई पनि आग्रह गर्नुहुन्छ भने आशावादी नै भएका छौं । किनभने देशकै सर्वोच्च निकाय राष्ट्रपतिज्यूबाट आएको आश्वासन अवश्य नै कार्यान्वयन हुन्छ होला । राष्ट्रका प्रमुखले चासो लिइसकेपछि यसको समाधान अवश्य नै हुन्छ । किनभने चिनी मिलका मालिक सरकारभन्दा बढी शक्तिशाली हुँदैन । बिचौलियाहरुका कारण किसानहरु जहिले पनि मारमा पर्ने गरेका छन् । तर, जब राष्ट्रपतिज्यूको नै यसमा चासो देखिएपछि हाम्रा माग पूरा हुनेमा विश्वास गर्न सकिन्छ ।

० तपाइँहरुको मागहरु के–के छन् ?

— वि.सं. २०७२ सालदेखि साना किसानका पैसा बाँकी थियो । हामीले पटक–पटक आन्दोलन गर्दा अलिकति पैसा पायौं । हामीले पाउनुपर्ने पैसामा ३६ रुपैयाँ घटाइदिएको थियो । त्यो ३६ रुपैयाँ किन घटाउनुप¥यो भन्ने हाम्रो माग हो । हामीले मिहेनत गरेको पैसामा घटाउनुपर्ने कारण के हो त ? त्यसपछि हाम्रो एक क्वीन्टल उखुमा कुनैमा २० किलो, कुनैमा १० र कुनैमा ५ किलो वजन पनि घटाइदियो । त्यसपछि हामी दोहोरो मारमा प¥यौं । एक त वर्षौंसम्म हामीलाई मिल मालिकले भुक्तानी नदिने, अर्को कुरा उखुको वजन कम गरिने जस्ता पीडा हामी भोगिरहेका छौं । हामीलाई कानूनी कुराहरु थाहा पनि हुँदैन । हामीले गरेको मिहेनतको पैसा पाउनका लागि हाम्रो पक्षमा बोलिदिने कोही पनि थिएन । त्यसपछि किसानका पीडा देखेर हाम्रो आन्दोलनका संरक्षक रहनुभएका राकेश मिश्रजीले हामीलाई हौसला दिनुभयो र आज हाम्रो आन्दोलन यहाँसम्म आइपुगेको छ । पूरै किसानको तर्फबाट उहाँलाई धन्यवाद दिनैपर्छ ।

० तपाइँहरुले आन्दोलनको पनि घोषणा गर्नुभएको छ नि ?

— हामीलाई सम्माननीय राष्ट्रपतिज्यूको आश्वासनमा विश्वास छ । उहाँले भनेको कुरा पूरा हुन्छ भने अति सुन्दर । यदि भएन भने हामीले आगामी मंसिर २७ गतेदेखि पुनः काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भन्ने कुरा उद्योगमन्त्रीज्यूलाई पनि अल्टिमेटम बुझाइसकेका छौं । हाम्रो उखुको ३६ रुपैयाँ जुन कट्टा गरिएको छ त्यो खारेज गर्नुपर्ने, जति पनि बाँकी रकम छ त्यसको ब्याजसहित दिनुपर्ने लगायतको मागसहित उद्योगमन्त्रीलाई स्मरणपत्र बुझाएका छौं ।

० मंसिर २७ गतेदेखिको आन्दोलन कस्तो हुनेछ ?

— यो अवधिभित्र हाम्रा मागहरु पूरा भयो अथवा हाम्रा भुक्तानी भयो भने ठिकै छ । नभए मंसिर २७ गतेदेखि हामी किसानहरु ठूलो संख्यामा काठमाडौं आउँछौं र त्यो बेलाको आन्दोलन अर्कै किसिमको हुन्छ । मधेश आन्दोलनभन्दा पनि ठूलो आन्दोलन अब हामी काठमाडौंमा गर्छौं । हामीले उठाएका उखु किसानहरुको समस्या मात्र सर्लाही जिल्लाका होइन, सम्पूर्ण किसानहरुले यस्तै पीडा भोगिरहेका छन् । अब काठमाडौंमा देशभरका किसानहरु आन्दोलन गर्न आउँछन् । किनभने हामीले अर्काको कमाई खान खोजेका होइनौं । हामीले बगाएको रगत पसिनाको कमाई मागिरहेका छौं ।

० तर तपाइँहरुलाई उद्योगमन्त्री र राष्ट्रपतिज्यूले नै किसानहरुको समस्या समाधान गर्ने आश्वासन दिइसक्नु भएको छ नि ?

— हामीले यस्ता आश्वासन धेरै पटक पाइसकेका छौं । सर्लाहीमा हामीले आन्दोलन गर्दा सिडियोले पनि आश्वासन दिएका थिए । मिल मालिकहरुले नै भुक्तानी हुन्छ भनेका थिए । यहाँसम्म कि हामी गत वर्ष काठमाडौंमा आन्दोलन गर्दा उद्योगमन्त्रीको रोहवरमा हामीसँग पाँचबुँदे सहमति पनि भएको थियो । हामीसँग लिखितरुपमा नै सरकारले सहमति गरे पनि हाम्रा पूरा भएन भने मौखिक आश्वासनले नै कुरा पूरा हुन्न भन्ने आधार देखिँदैन । तैपनि हाम्रा सम्माननीय राष्ट्रपतिज्यूको आश्वासनबाट पक्कै पनि आशा जागेको छ । सरकार आफैले पनि किसानलाई दुःख दिने काम गर्नु हुँदैन्थ्यो तर विडम्बना छ, हाम्रो देशलाई कृषिप्रधान देश भन्छ अनि किसानको यस्तो दुर्दशा ।

० अहिले उखु किसानका कति बक्यौता बाँकी छ ?

— हामी जतिखेर आन्दोलन गर्छौं अलिकति भुक्तानी दिन्छन् त्यसपछि फेरि कानमा तेल हालेर सुत्छन् । पछिल्लो समय सर्लाही जिल्लाका किसानका मात्रै करिब एक सय करोड भुक्तानी गर्न बाँकी थियो । गत वर्ष हामीसँग सरकारले सम्झौता गरेपछि सरकारी अनुदान हामीले पायौं, चिनी मिल मालिकबाट पनि केही रकम पायौं तर पूरा पाएका छैनौं । अहिले पनि मधेशभरिका उखु किसानहरुका करिब ८०–८५ करोड रुपैयाँ चिनी मिल मालिकहरुले भुक्तानी गर्न बाँकी छ ।

० अन्त्यमा के भन्नुहुन्छ ?

— हामीलाई पहिला धेरै कुरा थाहा थिएन, हामीलाई धेरै दुःख दिए चिनी मिल मालिकहरुले । तर अब त्यस्तो नगरोस् । किनभने हामीले पनि धेरै कुरा थाहा पाइसक्यौं । अब पनि हामीसँग यस्तै गरिरह्यो भने धेरै महँगो पर्छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया