एकताको महापर्व (सम्पादकीय)

सम्पादकीय

       

दशैं र दिपावली पछि महान पर्व छठ पर्व आज मैथिली समुदायले हर्षोलासका मनाउँदै छ । सूर्य र उनको देवी रूप उषालाई छठी मैयाँको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ पर्न गएको हो । आस्था र सहअस्तित्वको पर्व छठको तेस्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ आज गरिँदैछ । मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक बर्ष प्रगाड बनाउँदै आइरहेको छ । मानव जातिको पीडाप्रति सजग गरी छठ पर्वले हरेक बर्ष दीपावली समाप्तिपछि मानव र प्रकृतिबीच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको संवेदनशील रागात्मक, अटुट संवाद—सम्बन्धको सुत्रधारलाई सबलीकरण गर्दै मानव र प्रकृतिबीच सम्बन्धलाई डोरीको गाँठो जस्तो बाँधने काम गर्छ । यो नै एउटा पर्व हो, जसमा पुजारी र पुरोहित आवश्यक पर्दैन । छठमा अर्घ दिइने सूर्य भगवान प्रत्यक्ष देखिन्छ । त्यसैले पुजारी चाहिदैन । छठ उत्सव मनाउँदा परिवारका युवा सदस्यले धार्मिक विधि अवलोकन गरिरहेका हुन्छन् ।

छठ समाजिक सद्भावको पर्व पनि हो । हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बराबारको अवस्था अझै कायमै छ । कानुनी रुपमा छुवाछुतको अन्त्य भएपनि समाजमा छुवाछुत भने कायमै छ । तर छठ पर्वले सामाजिक भेदभावको बाँध भने परापूर्व कालदेखिनै भत्काइएको देखिन्छ । हाम्रो समाजमा सबैभन्दा अपहेलित जात डोम हो । तर छठ पर्वका डोम बिना सम्भवै छैन । उनीहरुले पसिना बगाएर बनाएको ढक्की, नाङ्गलो, सुपा, डलिया, सुपली आदिमा छठी मैयालाई चढाउन प्रसाद राख्न ब्रतालुहरु प्रयोग गर्छन् । पूजा सामाग्री सजाउनाले ती पिछडिएका दलित पनि हाम्रो समाजको अंग हुन र तिनको पनि समाज विकास, संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान रहेको तथ्यलाई यहाँ स्वीकार गरिएको देखिन्छ ।

त्यसैगरी यो पर्व मनाउने सनातन धर्मावलम्बीबीच समुदायगत, जातिगत, भाषागत भिन्नता पनि छन् । धार्मिक भिन्नता पनि छन् तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै बैमनश्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन । कुनै जात जाति हुन, तिनको दौरा, छैंटी श्रीपताको अगाडि मिलेर, मिलाएरै राखिएका हुन्छन, सबै एउटा गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्याएको पहाडी, मधेशी, जातजाति भेद यहाँ सबै टुंगिन पुग्छ । तसर्थ यो व्रतले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ मजबुत बनाएको देखिन्छ । यसले के प्रमाणित गर्छ भने हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न यस्ता पर्वहरूको ठूलो योगदान छ ।
सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाइ गर्ने, सुरक्षा दिने, रमाउने गतिविधिले मानवीय भाईचारा, सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेको छ । तराई–मधेसमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले छिमेकमा बस्ने इस्लाम, बुद्ध धर्म मान्नेलाई पनि आफ्नो प्रभावमा राख्दै आएको छ ।

बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेश, पडाड र हिमालसंग छठको प्रेम छ । लोकतन्त्रमा सबै बराबर हुन्छ भने जस्तै छठ पर्वले आफूलाई लोकतान्त्रिक पर्व हो भनेर सदियौंदेखि चिनाउँदै आएको छ। सूर्य आफैंमा लोकतान्त्रिक देवता हुन्, उनी कुनै विभेद नगरी गरिव र धनी सबैलाई समान रुपले प्रकाश छर्छन । सूर्यको प्रकाश विना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहदैंन । छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्छ। दशैंमा जस्तो बली प्रथालाई यस पर्वले निषेध गरेको छ । शाकाहारी र अहिंसा भाव र शुद्धतालाई निकै महत्व दिई छठपूजा गरिन्छ ।
छठपूजाले मनोकामना पुरा हुने विश्वासले जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढेको पाइन्छ । त्यसैले छठपर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भावको पर्व पनि भनिन्छ ।

छठको सुरुदेखि अन्त्यसम्म सबै विधिविधानहरु गीतबाटै बुझ्न सकिन्छ । छठ पर्व आउन २० दिन अघिदेखि नै छठको गीत संगीत घरघरमा गुञ्जिन्छ । जसले छठ आएको भान हुन्छ । गीतले ‘छठ आउँदैछ, तयारीमा जुट’ पनि भन्छन् ।
छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ । जीवन र प्रकृति एकअर्काका पूरक हुन । प्राकृतिक सम्पदाका संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गर्छ । गवडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सखर(मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गरेको छ ।

तपाईको प्रतिक्रिया