हवाईजहाजबाट मान्छे आउ“दा कोरोना नसर्ने तर सीमाबाट संक्रमण बढ्ने ? : बाबुलाल साह

प्रदेशसभा सदस्य, प्रदेश २ जनता समाजवादी पार्टी नेपाल

अन्तर्वार्ता

       

० कोभिड नियन्त्रणका लागि बन्द गरिएको नेपाल–भारत सीमा खुलाउन आन्दोलन किन गर्नुपर्‍यो ?

— नेपाल–भारत सीमा बन्द हुँदा मेचीदेखि महाकालीसम्मका बासिन्दाहरुका लागि एकदम असहज वातावरण सिर्जना भएको छ । नाकाबन्दी त होइन तर आवतजावत नै बन्द गरिएको छ । सामानहरु आइहरेका छन्, तर सीमा खोलिएको छैन । जनतालाई ओहोरदोहोर गर्ने बाटो मात्रै किन बन्द गरिएको छ भन्ने कुरा हामीले बुझ्न चाहिरहेका छौं । सरकारले भन्छ कि कोभिडको कारण बन्द गरिएको हो । सरकारले पहिला भन्थ्यो कि भारतबाट मान्छेहरु आएर नेपालमा कोभिड फैलाउँछ तर त्यो स्थिति अहिले छैन । भारतमा पनि हरेक प्रदेशमा खुल्ला छ, दैनिकी सामान्य भइसकेको छ । नेपालमा पनि सबैथोक खुल्ला भइसकेको अवस्था छ । तर सीमा क्षेत्रका जनताका असामान्य अवस्था बनिरहेको छ ।


० सीमा बन्द हुँदा के–कस्ता कठिनाई भएको छ ?

— सीमा बन्दले यस क्षेत्रका जनताको जीवनलाई नै लकडाउन गरेको छ । आवतजावत गर्नेहरु त गरिरहेकै छन् त्यो पनि पैदलयात्रीहरु मात्रै । सवारी साधनहरु चल्न नदिएर यहाँ एकदम कठिनाईहरु भइरहेका छन् ।

० सीमा खुलाउन सरकारलाई दिन दिन के कस्ता कार्यक्रमहरु छन् ?

— हामीले सरकारलाई अनुरोध गरिरहेका छौं । जनताका यावत् समस्याहरुलाई सरकार समक्ष राख्ने हाम्रो दायित्व हो । यहाँका जनताको माग र चाहना छ के छ भने उनीहरु निर्वाधरुपमा वारीपारी आउन जान पाउनुपर्छ । हामी निर्वाधरुपमा आफ्नो सम्बन्धलाई निरन्तरता दिनुपर्छ । यताको विरामी उता जान पाउनुपर्ने, यता नपाउने मेडिसिनहरु उताबाट ल्याउन पाउनुपर्छ । यस्तै, अन्य दैनिक उपभोगका सामग्रीहरु ल्याउन पाउनुपर्छ । यस्ता कुराहरु गर्न नसकिरहेकोले यहाँका जनता पीडामा छन् । छठ मधेशको महान पर्व हो । यो पर्वमा उताका नातागोता यता आउने गर्छन्, यताका उता जाने गर्छन् । हाम्रा छोरी चेलीहरु उता छन् भने यता आउँछन्, यता छन् भने उता जाने गर्छन् । तर यी सम्बन्धलाई पनि बाध्यात्मकरुपले सरकारको पक्षबाट रोक्ने प्रयास भइरहेको छ । यो निश्चय नै संस्कृति, सम्बन्ध र धार्मिक आस्थामाथि पनि आघात हो । यी सबै कुराहरुले गर्दा हामी जनताको पीरमर्का बुझेर स्थानीय प्रशासनमार्फत् नेपाल सरकारलाई अनुरोध गरेका छौं । सरकार कानमा तेल हालेर सुतेको छ र जनतालाई जन्तु सम्झेर आफै–आफैमा लडाई गरिरहेका छन् । जनता अहिले जागेका छन् । अहिले हामी धर्नाको रुपमा कार्यक्रमहरु गरिरहेका छौं कि जनताको कुरा कमसेकम सरकार समक्ष पुगोस्, सरकारले हाम्रो कुरामाथि ध्यान दिओस् । छठसम्म सरकारले हाम्रो आवाज सुनेन भने त्यसपछि ठूलो आन्दोलनको स्वरुप दिनेछौं । आन्दोलन गरेर अवरुद्ध भएको बाटो खुलाउने छौं र जनताको पक्षमा काम गर्नेछौं ।

० तर, सरकारले त जानी–जानी सीमा बन्द गरेको छैन नि । जबसम्म कोभिड नियन्त्रण हुँदैन र सीमा खोलियो भने त्यसपछि उत्पन्न हुने भयावह स्थितिको अनुमान गर्नुभएको छैन ?

— कोभिड एउटा बहाना मात्र हो । कोभिड नेपालमा मात्रै छैन, कोभिड भनेको संसारका हरेक देशको सीमा क्षेत्र र ठाउँमा छ । संसार नै कोभिडबाट पीडित छन् । हरेक देशमा जब सबै कुरा खुला भइसकेको छ भने यहाँ पनि सबै क्षेत्र खुला हुँदाहुँदै सीमा क्षेत्रमा आवतजावत गर्न किन नसकिने ? यो बहाना हो । भारतसँग बिग्रेको सम्बन्ध सुधार्न गर्न नसकेर आफ्नो गल्ती लुकाउनका लागि हो कि । जनताको मौलिक अधिकारमाथि सिधै कुठारात भइरहेको छ । त्यसैले सरकारले नियतवश सीमा क्षेत्रका जनतालाई दुःख दिन खोजिरहेको छ ।

० सीमा क्षेत्रमा नेपाल सरकारले मात्रै बन्द त गरेको छैन । भारत सरकारले पनि सीमा खोलेको छैन । दुवै सरकारबीच समन्वय नभई एकतर्फीरुपमा नेपाल सरकारले मात्रै कसरी सीमा खोल्न सक्छ त ?

— अन्तर्राष्ट्रिय सीमाको कुरा स्थानीय वा प्रदेश सरकारको माध्यमबाट हुन सक्ने हो र ? केन्द्रीय सरकारको माध्यमबाट नै सीमा बन्द गर्ने वा खोल्ने निर्णय गर्ने हो । परराष्ट्र मन्त्रालय संघीय सरकारको मातहतमा छ । दुवै देशबीच उच्चस्तरीय सम्वाद गरेर सीमा खुलाउन सकिन्छ । त्यो प्रयास संघीय सरकारको तर्फबाट नभएको हो कि ? त्यो प्रयास सरकारले गर्न नचाहेको हो कि ? मेचीदेखि महाकालीसम्मका सीमा क्षेत्रमा बस्ने जनताको पीडा सरकारले बुझ्नुपर्छ ।

० सीमा खोल्दा संक्रमण बढ्यो भने यसको जिम्मेवारी कसले लिने ?

— संक्रमण रोक्न यदि सरकारले इमान्दारीपूर्वक प्रयास गरेको भए जनतालाई आफ्नो उपचार आफै गराउनु भन्ने अभिव्यक्ति सरकारको तर्फबाट आउने नै थिएन । सरकारको यो निर्णय लज्जास्पद हो । जनताले आफ्नो जीवनको रक्षा आफैले गरिरहेका छन् । सरकारको तर्फबाट यो कोभिड–१९ को विषयमा भएका प्रयासहरु निरर्थक मात्रै हो । कोभिड–१९ नियन्त्रणमा सरकार पूर्णरुपमा असफल छ । अहिलेसम्म कोभिड–१९ नियन्त्रणमा जेजति गरेको छ स्थानीय र प्रादेशिक सरकारले मात्रै गरेको छ । त्यसले गर्दा संघीय सरकार आफ्नो गल्ती लुकाउन सीमा बन्द गर्ने, दुई देशको बीचमा सम्बन्ध बिग्रेको छ भन्ने बहाना देखाएर, संक्रमण फैल्ने भन्ने बहाना देखाएर सीमा बन्द गरेको छ यो सरकारको कमजोरी हो । हवाई यातायातबाट मान्छे ओसारपसार हुन सक्ने तर नेपाल–भारत सीमाबाट आवतजावत हुँदा संक्रमण बढ्ने ? यो त सरकारको एकदम निकम्मापन हो । यस्ता कार्यले देश कहिल्यै पनि उभो लाग्दैन । अब सीमा क्षेत्रका सबै नागरिक समाज र जनताले सीमा खोल्नुपर्छ भन्ने आवाज उठाउन थालेका छन् । यो जायज पनि हो । जनतालाई कति पीडामा राख्ने, जनताको दैनिकी जनजीवन कति बिगारेर बस्ने ? जनताको दैनिकी जीवन नबझेर पीडा मात्रै दिने यो कस्तो सरकार हो ? सरकार भनेको छ जनताका अभिभावक हो ।

० सीमा खोलाउँदा संक्रमण नियन्त्रण गर्न तपाइँहरुको सुझावहरु के–के छन् ?

— कोभिड नियन्त्रण गर्न अहिलेसम्म कुनै पनि औषधि वा भ्याक्सिन आइसकेको छैन । भगवानको भरोसे जनताहरु बाँचिरहेका छन् । यसबाट बच्नका लागि विश्व स्वास्थ्य संगठनले निर्देशन गरेको मापदण्ड अपनाउनुपर्ने हो । बाहिर निस्किँदा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, पटक–पटक हात धुने लगायत कुराहरु जनताले अहिले पनि पालना गरिरहेका छन् र भोली पनि पालना गर्छन् ।

० तपाइँहरुले सरकारलाई दबाब दिइरहँदा पनि सरकारले सीमा खोलाउन पहल गरेन भने कस्तो आन्दोलन हुनेछ ?

— अब हामी प्रदर्शनमा जान्छौं, त्यसबाट पनि सरकारले सुनेन भने कार्यालयहरु बन्द गराउँछौं, त्यसबाट पनि सुनेन भने भन्सारहरुमा जुन बेरियरहरु छन् ती सबैलाई उखेलेर फाल्छौं । जनताको आन्दोलनलाई त कसैले पनि रोक्न सक्दैन । जनता त ठूलो परिवर्तनकारी शक्ति हो । जनताकै आन्दोलन आजसम्म नेपालमा ठूलठूला परिवर्तनहरु भएका छन्, राज्यसत्ता परिवर्तन भएको छ । जनता अहिले पीडामा छन्, यसै पनि मरिरहेका छन्, उसै पनि मर्न तयार छन् । आफ्नो ज्यानको बाजी लगाएर भएपनि जनताले आफ्नो मौलिक हक प्राप्न गर्नेछन् ।

० भनेपछि अब फेरि ठूलो विद्रोहको सम्भावना छ ?

— यदि जनताको जनजीवनमा सहजता ल्याउन सकिएन भने निश्चितरुपमा ठूलो विद्रोह गर्न बाध्य हुन्छन् । जनता अहिले पनि सडक ओर्लन तयार छन्, हामी जनप्रतिनिधिहरुले नै रोकिरहेका छौं । सरकारलाई हामी घचघचाउँदेछौं भनेर जनतालाई रोकिरहेका छौं । जनताले भनिरहेका छन् कि जाऔं बेरियरहरु भाँचेर फालौं भन्ने ठूलो आक्रोश छ । त्यो आक्रोशलाई हामी र नागरिक समाजले थामथुम गरेर राखेको छ । अहिले मधेशको आस्थाको केन्द्र मानिने छठ पर्वको बेला हो, अहिले त्यस्तो कुनै घटना नहोस् । छठ सम्पन्न भइसकेपछि पनि यदि सरकारले सुनेन भने कठोर कदम चाल्न बाध्य हुन्छौं ।

तपाईको प्रतिक्रिया