हामीले बहुराष्ट्रिय राज्य सुहाउँदो नेपाली विशेषताको समाजवाद चाहेका छौँ : नेता श्रेष्ठ

राजनीति

       

काठमाडौं, १३ मंसिर । जनता समाजवादी पार्टीका नेता तथा नेपालमा सङ्घीय समाजवादको मौलिक प्रारूपबारे खोज अनुसन्धान गरिरहका एक बौद्धिक व्यक्तित्व राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा आफ्नो मौलिक विशेषताको समाजवाद आवश्यक रहेको बताउँदै विदेशमा प्रयोग भएको समाजवादको नक्कल गर्न नहुने कुराको सङ्केत गरेका छन् ।

उक्त कुरा उनले आफ्नो फेसबूक स्टाटसमा लेखेका हुन् । नेपालमा लामो समयदेखि लोकतान्त्रिक समाजवाद र साम्यवादी समाजवादको दुई धार सक्रिय रहेको सन्दर्भमा उनले नेपाल बहुराष्ट्रिय राज्य भएकाले समाजवादको बाटो पहिचानसहितको सङ्घीय समाजवादको बाटो हुनुपर्ने उल्लेख गरेका छन् ।

नेता श्रेष्ठका अनुसार ‘विश्व समाजवादी आन्दोलनको एक मात्र बाटोको अवधारणा बीसौँ शताब्दीको पहिलो दशकमा नै असफल भइसकेको छ । क्रान्तिकारी समाजवादी, सामाजिक लोकतन्त्रवादी, साम्यवादी जस्ता विभिन्न धाराहरू त्यतिबेलै देखा परे । त्यसपछि पनि समाजवादी आन्दोलनमा नयाँ नयाँ धाराहरू जन्मे । अहिले विश्व समाजवादी आन्दोलनमा एक मात्र बाटो छैन । प्रत्येक देशहरूले आफ्नो विशिष्ट स्थितिअनुरूप समाजवादको आफ्नै बाटो तय गरेका छन् ।’

सङ्घीयताविद रूपमा समेत परिचित श्रेष्ठले जनता समाजवादी पार्टी, नेपालको घोषणा–पत्रमा नेपाली विशेषताको समाजवादको पक्षपोषण गरेको बताउँदै भने, ‘हाम्रो देशमा राष्ट्र–राज्य (Nation-State) को परम्परागत लोतकन्त्रमा आधारित समाजवादले उत्पीडित राष्ट्रियताहरूलाई जातीय उत्पीडनबाट मुक्त गर्दैन भने पुँजीवादी सङ्घीयताले वर्गीय उत्पीडनबाट श्रमजीवी वर्गलाई मुक्त गर्दैन । त्यसैले हामीले पार्टी एकताको सहमती–पत्रमै बहुराष्ट्रिय राज्य (Multinational State) सुहाउँदो समाजवादको पक्षपोषण गरेका थियौँ । पार्टीको घोषणा–पत्रले नेपाली विशेषताको समाजवादलाई समुन्नत सङ्घीय समाजवाद (Enhanced Federal Socialism)को रूपमा संश्लेषण गरेको छ । समुन्नत सङ्घीय समाजवाद भनेको पहिचानसहितको सङ्घीय समाजवाद हो ।’

उनले नेपालमा सङ्घीयताको ठोस रूप वर्तमान ७ प्रदेशबाट १० जोड १ को समुन्नत सङ्घीयतासहितको समाजवादी व्यवस्था भएको बताउँदै भने, ‘नेपाली विशेषताको समाजवाद माथिबाट लादिएको राजकीय वा जनअधिकार कुण्ठीत गरिएको नोकरशाही समाजवाद होइन । यो जनताको समाजवाद हो । पार्टी घोषणा–पत्रले यसको गन्तव्य सङ्घीय शासन प्रणालीमा आधारित समाजवादी लोकतान्त्रिक गणतन्त्रको रूपमा तय गरेको छ । यसको चार नीति सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद हो भने दुई मुख्य सैद्धान्तिक आधार सङ्घवाद र समाजवाद (Federalism and Socialism) हो ।’

तपाईको प्रतिक्रिया