नेकपाको कचिङ्गल (सम्पादकीय)

सम्पादकीय

       

सत्तारूढ नेकपाभित्रको आन्तरिक विवादबाट राजनीतिक बजार अहिले तरंगित छ  । अध्यक्षद्वयका बीच देखिएको असमझदारी सतहमा आएको पछि पार्टी भित्रको विवाद झन् छताछुल्ल भएकोछ । संसदीय शासन प्रणाली अवलम्बन गरी साम्यवादी सिद्धान्त र आदर्शलाई आफ्नो गन्तव्य मानेर राजनीति गर्दै करिब दुईतिहाइको बहुमत संसदमा आर्जन गरेको नेकपाको विवादले देशको राजनीति दिशालाई नै बदल्न सक्ने देखिएको छ ।

नेकपाको आन्तरिक टकराव र विवादे वर्तमान सरकार आफनो ऐतिहासिक र स्वर्णिम अवसरको सदुपयोग गर्न चुकिरहेको छ । नेकपा र सरकारले नै ऐतिहासिक अवसरको सदुपयोग गर्न सक्नुपर्ने थियो तर दल र सरकारबीचको असमझदारी र विशेषगरी अध्यक्षद्वयबीचको व्यक्तिगत टकरावले सरकार सञ्चालन र दललाई प्रभावकारी बनाउने विषयमा अवरोध सिर्जना भएको छ ।
यो घरझगडा कुनै सिद्धान्त र आदर्श वा नीतिगत द्वन्द्वका कारण सिर्जना भएको देखिँदैन, व्यक्तिगत अभीष्ट नै यसको प्रमुख कारण हो । आफ्नै दलभित्र प्रधानमन्त्रीले प्रतिपक्षको सामना गर्नुपरिराखेको स्थितिले समेत यही प्रमाणित गरेको छ, किनकि जिम्मेवार नेताहरू दलभित्र भएका निर्णयको स्वामित्व नलिई, स्वेच्छिकप्रकारले आफ्ना विचारहरूको सम्प्रेषण गर्दै आएका छन् ।

अहिलेको विवाद दलभित्रका शीर्षस्थ नेतृत्वमा रहनेहरूको व्यक्तिगत महत्वाङ्काक्षासँग सम्बन्धित छ । आमनागरिकलाई यस विषयमा सरोकार रहँदैन । निर्वाचनमा गरेका प्रतिबद्धतालाई व्यवहारमा लागू भएको हेर्ने चाहना नागरिकको हो । त्यसैले प्रधानमन्त्री र दलले आफ्ना असहमतिका विषयमा छलफल गर्दा जनताप्रतिको जवाफदेहितालाई मध्यनजर गर्नु जरूरी छ, किनकि अबको दुई वर्षपश्चात् हुने आमनिर्वाचनमा जनतासमक्ष सबै नेताहरू आफ्नो दलको सरकारले गरेका उपलब्धिसहित प्रस्तुत हुनुपर्नेछ । त्यसैले व्यक्तिगत एजेन्डालाई सबै नेताहरूले परित्याग गर्दा अहिलेको विवादको समाधान निस्कनेछ ।

आमनिर्वाचनमा अत्यन्त आकर्षक नाराहरू दिएर सरकार गठन गरेको यस दलले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन, जनता प्रतीक्षारत छन् । दलभित्रको यो आन्तरिक विवादले विभाजनको अवस्था सिर्जना हुने शंका पनि गरिएको छ । तर, दल विभाजनको अवस्थासम्म नपुग्न सक्छ । यसका पछाडि केही कारणहरू छन् । यो दल एक भएको नभई अथवा माओवादी केन्द्र एमालेमा विलय भएको नभई, दलीय मोर्चा बनेको आभास भइराखेको छ । पूर्वमाओवादी र पूर्वएमालेबीचको दलभित्र स्पष्ट छ ।
नेकपाभित्र स्पष्ट रूपमा गुट र उपगुटहरू देखिएका छन् । यो अवस्था लोकतन्त्र, देश र नेतृत्व तहमा रहनेहरू सबैका लागि हितकर नबन्नेमा सन्देह रहँदैन । पार्टी विभाजन हुने अवस्था सिर्जना हुनु भनेको ठूलो दुर्भाग्य हुनेछ । यसबाट देशको लोकतन्त्र र समग्र राजनीतिक पद्धति नै सङ्कटमा पर्छ । राष्ट्रियस्तरमा अस्तित्वमा रहेका दलहरू सबल र प्रभावकारी हुँदा मात्र लोकतन्त्रको विकास अपेक्षित रूपमा हुनेछ । यसतर्फ देशमा राजनीति गर्नेहरू विशेष गम्भीर हुनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया