भारतको खोप अभियान र छिमेकी देशहरू (सम्पादकीय)

सम्पादकीय

       

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण निको पार्ने लागि अहिलेसम्म कुनै ’विशिष्ट’ औषधि फेला परेको छैन । त्यसैगरी कोरोनाविरुद्धको एकमात्र आशाको रुपमा विश्वभर विकास भइरहेका खोपहरुलाई लिइएको छ ।

सन् २०१९ को डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोनाले एक वर्षमा नियन्त्रणमा आउन सकेको छैन । संक्रमण थप फैलिँदै गएको छ भने स्वास्थ्य प्रणालीलाई कमजोर बनाइरहेको छ ।

यहि सन्दर्भमा भारतले छिमकी मित्र राष्ट्रहरु नेपालसहित अफगानिस्तान, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र मौरिसस लाई १० मिलियन डोज खोप कोरोना खोप उपलब्ध गराएको छ । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप पनि निःशुल्क उपलब्ध गराएको छ ।

भारतीय केन्द्रीय स्वास्थ्य समितिले नेपाल र भुटानलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो । भुटानका प्रधानमन्त्री लोते छिरिङले ट्वीट गर्दै भारतले भुटानलाई कोरोनाको खोप उपलब्ध गराउने लागेको उल्लेख गरेका छन् ।

बंगलादेशले भने २ करोड डोज खोप पाउने छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले निर्माण गरेको कोभीशिल्ड र भारत बायोटेक इन्टरनेशनलले निर्माण गरेको कोभ्याक्सिन खोप भारतले यी राष्ट्रलाई दिन लागेको हो । सेरमले १ करोड १० लाख डोज कोभीशिल्ड खोप भारत सरकारलाई बिशेष मूल्य अर्थात प्रति डोज ३२० रुपैयाँमा उपलब्ध गराएको छ, जुन डलरमा औसतमा प्रति डोज ३ डलर हो । त्यस्तै भारत बायोटेकले १ करोड ६५ लाख डोज अनुदान र ३ करोड ८५ लाख डोज बिशेष मूल्य अर्थात प्रति डोज ४८० रुपैयाँमा उपलब्ध गराएको छ ।

भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियानको माघ ३ देखि सुरु भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्धको खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् ।

भारतको खोप अभियान कोरोनाविरुद्धको लडाइँको निर्णायक चरण मानिएकोे छ । खोप अभियानसँगै भारत कोरोनाविरुद्धको लडाइँमा निर्णायक चरणमा प्रवेश गरेको छ भने उसले यस अभियानमा छिमेकी देशहरुलाई पनि समेटेको छ ।

भारतले आगामी जुलाईभित्रमा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य बनाएको छ । पहिलो चरणमा भने करिब ३ करोडलाई निःशुल्क खोप दिने घोषणा यसअघि गरिएको छ । त्यही पहिलो चरणअन्तर्गत खोप लगाउन थालिएको हो ।

गत हप्ता सम्पन्न नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठकमा पनि खोपको विषयमा छलफल भएको थियो । साथै त्यसअघिको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी एस जयशंकरबीचको भेटवार्तामा पनि नेपाललाई चाँडै खोप उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

ती छलफलमा नेपालले कोरोना खोपको आपूर्तिलाई सहज बनाइदिन अनुरोध गरेअनुसार भारतले नेपाललाई खोप उपलब्ध गराएको हो । खुल्ला सीमाना र निकै नजिकको सम्बन्ध भएकाले पनि भारतले नेपाललाई भ्याक्सिन प्रदान गरेको हो ।
भारतले खोप वितरणमा पाँचवटा मोडल तयार गरेका छन् । जसमा पहिलो मोडलमा नजिकका छिमेकीहरु अफगानिस्तान र सार्क मुलुकहरुलाई निःशुल्क वितरण गर्ने जनाएको छ । यसमा पाकिस्तानलाई भने खोप उपलब्ध नगराउने विषयमा छलफल भइरहेको जनाइएको छ ।

पाकिस्तानलाई चीनले खोप दिने भएका कारण भारतले नदिने विषयमा छलफल भइरहेको बताइएको छ । दोस्रोमा भारतको अन्तर्राष्ट्रिय दायित्वका रूपमा विश्वका अन्य गरिब मुलुकहरुलाई ठूलो अनुदान दिएर वितरण गरिनेछ । भारतको यस योजनाबाट अधिकांश अफ्रिकी मुलुकहरु लाभान्वित हुनेछन् ।

तेस्रोमा भारतबाट खोप लिन चाहने केही सम्पन्न मुलुकहरुले बजार मूल्यमा खोप प्राप्त गर्नेछन् । चौथोमा भारतले तेस्रो चरणमा केही मुलुकहरुमा परीक्षणमा सहभागी गराउने र ती मुलुकहरुलाई केही डोज निःशुल्क उपलब्ध गराउनेछ । र पाँचौंमा भारतले दुई खोपको सहउत्पादनको लागि केही देशहरूलाई अवसर प्रदान गर्न सक्ने जनाइएको छ । जसले गर्दा खोप उत्पादनमा तीव्रता आउनेछ ।

तपाईको प्रतिक्रिया