भारतीय सहयोगको प्रतिफल (सम्पादकीय)

सम्पादकीय

       

भारतले अनुदानमा दिएको १० लाख कोरोना खोपबाट नेपालले कोभिड परीक्षण सुरु भएको ठीक एक वर्षपछि कोभिड– १९ विरुद्धको खोप अभियान गरेको छ ।

देशैभरिका खोप केन्द्र रहेका अस्पतालहरूमा अस्पतालका प्रमुख चिकित्सकहरूले खोप लगाएपछि खोप अभियान सुरु भएको हो । सरकारले भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ खोप लगाउन सुरु गरेको हो ।

अभियानको पहिलो चरणमा महामारीका वेला फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स र शवबाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एयरपोर्ट र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप लगाउन थालिएको हो ।

भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ खोप अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेपछि सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो ।

यो भ्याक्सिन भारतमा मात्रै होइन, अन्य धेरै देशमा पनि आकस्मिक प्रयोगमा रहेको छ । यो बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको परीक्षणको थर्ड फेज पार गरिसकेको भ्याक्सिन हो । फेरि यही कम्पनीले विश्वका ६० भन्दा बढी देशमा भ्याक्सिन सप्लाई गरिरहेको छ, त्यसैले पनि सुरक्षित छ ।

सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको थियो । तर, सरकारसँग अहिले भारतबाट अनुदानमा पाएको एक लाख भायल खोप मात्रै छ । त्यसैले अहिले करिब साढे चार लाखले मात्रै खोप पाउने सुनिश्चित छ । भारतले दिएको यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो ।

खोप आउनु भनेको नेपाली जनता पहिलो प्राथमिकतामा पर्नु, दुई देशको मित्रता प्राथमिकतामा पर्नु हो र छिमेकीलाई पहिलो प्राथमिकतामा राख्नु पनि हो ।

भारतको कोभिडविरुद्धको खोप उत्पादन तथा निर्यात क्षमता सबै वर्गका लागि लाभदायी हुने विश्वास गरिएको छ । सोहीअनुसार भारतले अनुदानका रुपमा खोप उपलब्ध गराएको हो ।

गत मार्चमा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीविरुद्घ लड्न सामूहिक क्षेत्रीय प्रयासका लागि आह्वान गरेका थिए । सार्क राष्ट्रका प्रमुखहरूसहितको भिडियो कन्फरेन्सको आयोजना गरी महामारीविरुद्घ लड्न साझा रणनीति बनाइनुका साथै कोभिड–१९ सँग लड्न संयुक्त ‘आपत्कालीन कोष’ को स्थापना गरियो ।

यसका साथै सदस्यराष्ट्रहरूमा महामारीविरुद्घ लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री एवं उपकरणहरूको खरिद र आपूर्तिमा सहयोग गरियो । यसको स्थापनासँगै, सो फोरमले सार्क क्षेत्रका एवं विविध मेडिकल, फर्मास्युटिकल्स, क्लिनिकल ट्रायल, व्यापार तथा अर्थतन्त्र क्षेत्रका विज्ञहरू झिकाई विविध अन्तरक्रियामा सहजीकरण गरेको छ ।

खुला सिमानाका कारण कायम रहेको दुई देशको जनस्तरीय सम्बन्ध र सदियौं पुरानो नाता रहेको नजिकको छिमेकी भएको हैसियतले पनि स्वाभाविक रूपले नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको अग्रपंक्ति र कोभिड–१९ विरुद्ध खोप अभियानको प्राथमिक हिस्सेदारका रूपमा रहेको छ । भारतले नेपाललाई निरन्तर कोरोनासम्बन्धी आवश्यक सहयोग गरिरहेको छ ।

धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा भारत र नेपालबीचको प्रगाढ सम्बन्ध विद्यमान छ । महामारीविरुद्धको सामूहिक लडाइँमा भारतका जनता नेपालका जनतालाई यस महामारीलाई जित्नका लागि आवश्यक छ ।

तपाईको प्रतिक्रिया