वीरगन्जमा शहीदको शालिक अनावरण

समाचार

       

वीरगन्ज, ९ फागुन । वीरगन्जमा मधेश आन्दोलनका शहीदहरुको शालिकको शनिबार अनावरण गरिएको छ । घण्टाघर चोक स्थित प्रहरी चौकीको छेउको खाली जग्गामा नवनिर्मित सहिद स्मारक परिसरमा निर्माण गरिएका मधेश आन्दोलनका ७ जना शहीदका शालिकको शनिबार अनावरण गरिएको हो ।

पर्साका प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले संयुक्त रुपमा शालीकको अनावरण गरेका हुन् ।

सांसद यादवको संसदीय कोषको २८ लाख र वीरगन्ज महानगरपालिकाको १० लाख गरी कुल ३८ लाख रुपैयाँको लागतमा सहिद स्मारकका साथै ७ जना सहिदको शालीक निर्माण गरिएको हो ।

नवनिर्मित सहिद स्मारक परिसरमा, २०७२ सालको मधेस आन्दोलनका क्रममा वीरगन्जमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सहिद धर्मराज सिंह, दिलिप चौरसिया, सोहन साह कलवार, भोलाप्रसाद तेली, दिनानाथ साह गोढ, शत्रुधन पटेल र आशीष राम गरी ७ जना सहिदको शालीक निर्माण गरिएको हो ।

जनता समाजवादी पार्टी पर्साले आयोजना गरेको शालीक अनावरण कार्यक्रममा सहिदका परिवारलाई सम्मान पनि गरिएको थियो ।

शालीक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद प्रदीप यादवले मधेसी सहिदकै बलिदानीको जगमा मुलुकमा संघीयता, समावेशिता जस्ता राजनीतिक उपलब्धी हासिल भएको बताए । सहिद स्मारकमा छुटेका अन्य ३ जना सहिदको शालीक पनि छिट्टै निर्माण गरिने प्रतिबद्धता पनि उनले जनाए ।

तपाईको प्रतिक्रिया