संसद पुनःस्थापनापछि के ?

सम्पादकीय

       

देश विकासमा जुट्नुको सट्टा नेपालको बहुमत प्राप्त सत्ताधारी राजनीतिक दल नेकपा आन्तरिक खिचातानीमा गिजोलिएको छ । नेकपाको विवादका कारण मुलुक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिएको छ । प्रधानमन्त्रीबाट विघटित संसद पुनःस्थापना भएको छ तर यसले निकास दिन्छ वा दिदैन भन्ने सुनिश्चित छैन ।

बहुमतको ऊर्जाले परिणाम दिने सङ्केत थियो । सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेको दुईतिहाइ बहुमतको नेकपाको सत्तासीन सरकार र सोही दलको व्यवहार र विवादले यो स्थिति भोग्नुपर्ला भन्ने जनअपेक्षा थिएन । इमानदार जनता र आस्थावान कार्यकर्तामाथि गरिएको जनमतको अनादरप्रति शीर्षराजनीतिक नेता र नेतृत्व पूर्णतः दोषी ठहरिएको छ ।

अहिले जनताका सपना र आकांक्षामाथि कुठाराघात प्रहार भएको छ । जनताको विश्वास, कार्यकर्ताको मनोबल र पार्टीको साख गिर्नेगरी तल्लो तहसम्मको विभाजित व्यवहार र मानसिकता गलत बाटो हो । राजनीतिक कमीकमजोरीको आत्मालोचना गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षार्थ छरपस्ट रूपमा मतभिन्नता भएका नेताबीच दलीय संस्थागत निर्णयमा एकढिक्का भई अगाडि बढ्नु अर्को एउटा विकल्प छ । संसदीय व्यवस्थामा विगतमा देखिएका सबै बेथिति र विसङ्गति नदोहो¥याउनु सरकारको न्यूनतम दायित्व हो । संविधानको मूल भावना, मर्म हो ।

संविधानसभाबाट जारी संविधानले जनभावनाको कदर र राजनीतिक स्थायित्वभित्र विधि र पद्धतिको वकालत गर्छ । यसविपरीतका गतिविधि बढ्दै जाँदा सत्तारूढ दल र सरकारप्रति चुनावमा व्यक्त जनअभिमत कायम नरहने पक्का छ । अझै पनि विगतको पुरानै राजनीतिक दूषित प्रणाली र इतिहासलाई नै निरन्तरता दिने कुराले हामीले चाहेको राजनीतिक स्थायित्व कदापि हासिल हुन सक्दैन ।

जबसम्म राजनीतिले स्थायित्व ग्रहण गर्दैन देशको समतामूलक विकास, समृद्धि र सुशासन फेरि पनि आदर्शकै विषय बन्नेछ । निर्वाचनले मात्र राजनीतिक गतिरोधलाई अन्त्य गर्दैन । सत्ता परिवर्तन हुनेछ तर नेतृत्व उही र उस्तै हुनेछ । जबसम्म बहुपक्षीय राजनीतिक एकता र मेलमिलाप हुन सक्दैन तबसम्म मुलुक अस्थिरतामै कायम रहनेछ ।

सरकार र पार्टीविरुद्धका यावत् षड्यन्त्र प्रपञ्च चिर्न पार्टीभित्रको अन्तरविरोधको उचित निकासमा सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नु नेकपा नेतृत्व र सरकार बेलैमा सचेत बन्नुपर्छ । जननिर्वाचित ओली नेतृत्वको सरकारलाई विस्थापित गरी सरकार बदल्ने प्रपञ्च एउटा आत्मकेन्द्रित अवसरवादी षड्यन्त्र हो भने नयाँ बन्ने सरकारले शुसानको सुनिश्चिता गर्छ भन्ने के ग्यारेन्टी ?

नेकपाभित्र दक्षिणपन्थी, मध्यपन्थी तथा वाम अवसरवादका प्रभावहरू छन् । त्यो विकृत प्रभावलाई राजनीतिक धु्रवीकरणको माध्यमबाट एकता ,संघर्ष र रूपान्तरणको अविच्छिन्न शृङ्खलाको माध्यमबाट रूपान्तरणको दिशामा लैजानुपर्छ । आफ्नै पार्टीभित्रका नेतामा निहीत टपर्टुइयाँ उग्रवामपन्थ र बाहिरका विपक्षीहरूद्वारा प्रायोजित दुष्प्रचारको भ्रमबाट आम जनतालाई मुक्त राख्न ओली नेतृत्वको सरकार र नेकपा जनताप्रति जिम्मेवार र जवाफदेही बन्नैपर्छ ।

तपाईको प्रतिक्रिया