कांग्रेस र जसपाको बैठक निष्कर्षविहीन

राजनीति

       

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी भएको छलफल निष्कर्षविहीन भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस र जसपा नेताहरूबीचको बैठक ठोस सहमति नगरी टुंगिएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले दलहरूसँग मिलेर जाने छलफल भएको भन्दै केही सहमति नभएको बैठक पछि सञ्चारकर्मीलाई बताए । ‘मिलेर जाने विषयमा छलफल भयो । केही सहमति भएको छैन । वृहत छलफल गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

बैठकमा जसपाले भने आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्ता, संविधान संशोधन, रेशम चौधरीको रिहाइलगायतका विषय राखेको अध्यक्ष महन्थ ठाकुरले बताए ।

सत्ता समीकरणको छलफल भएपनि कुनै सहमति नभएको र माओवादी केन्द्रसँग पनि छलफल गरिने उनको भनाइ छ । जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरू सहभागी थिए ।

अब आफूहरुले माओवादी केन्द्रसँग पनि छलफल गर्ने अध्यक्ष ठाकुरले बताए । प्रधानमन्त्रीमा तपाईंकै नाम चर्चामा छ भन्ने प्रश्नमा पत्रकारलाई उनले धन्यवाद दिए । ‘यस्तो राम्रो खबर त्यसका लागि तपाईलाई धन्यवाद छ । प्लिजिङ सरप्राइज,’ उनको जवाफ थियो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि बैठकले सत्ता समीकरणको बहस प्रवेश पाएको बताए । शर्माले भने, ‘छलफल सकारात्मक भएको छ । प्रतिपक्षको हैसियतले भूमिका काँग्रेसले खेल्नुपर्छ भन्ने उहाँहरूको भनाइ आएको छ । भोलि माओवादीसँग पनि छलफल गर्छौ ।’

सत्ता समीकरणबारे जसपाबाट आएको प्रस्तावबारे पार्टी पंक्तिमा छलफल गर्ने र थप संवादपछि उपयुक्त निकासमा पुग्ने प्रवक्ता शर्माले बताए । उनका अनुसार जसपासँगको छलफलअघि बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले पनि नेकपा माओवादी केन्द्र र जसपासँग मिलेर जानुपर्ने निश्कर्ष निकालेको थियो ।

त्यसका लागि अब काँग्रेसले अग्रसरता दिनुपर्नेमा जसपा नेताहरूबाट राय आएको उनको भनाइ छ । ‘थप परिपक्वताको प्रतिक्षा गर्नैपर्छ,’ शर्माले भने, ‘एकै धारणामा उपर्युक्त ढंगले सोच निर्माण गरेर अगाडि बढ्छौँ ।’

तपाईको प्रतिक्रिया