वीरगन्जमा माछापुच्छ्रे बैङ्कको क्युआर कोड सेवा

अर्थ/वाणिज्य

       

वीरगञ्ज, १२ चैत । डिजिटल बैङ्किङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैङ्क लिमिटेडले वीरगन्ज तरकारी तथा फलफूल बजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

वीरगन्ज तरकारी तथा फलफूल बजार स्थित क्युआर हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका निर्देशक डा.राजन कृष्ण पन्त र वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संयुक्त रूपमा क्युआर कोड सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै वीरगन्ज तरकारी तथा फलफूल बजारमा तरकारी तथा फलफूल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैङ्कको मोबाइल बैङ्किङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने बैङ्कले जनाएको छ ।

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैङ्क खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैङ्कसम्म जानुपर्ने लगायतका थुप्रै सुविधाहरूको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ ।

यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैङ्कले पछिल्लो समय देशका धेरैजसो स्थानहरूमा आक्रामक रूपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया