बसन्तोत्सवको पर्व (सम्पादकीय)

सम्पादकीय

       

विगत वर्षझैं यस वर्षको रंगहरूको पर्व होली हामी माझ आइपुगेको छ । होलीले सम्पूर्ण नेपालीजनमा हर्षोउल्लास ल्याउने गर्दछ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाइने गरिन्छ ।

होली नेपालीको उत्सव हो । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ ।

होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ ।

राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धासम्म सबै होलीको मजा लिन्छन् । युवा, युवतीहरू गीत गाउँदै, नाँच्दै होली खेल्दछन् । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्न्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार साथीभाई आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसइबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । विंध्यक्षेत्रको राम गढ स्थानमा स्थित इसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।

नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्री कृष्णको प्रिय रंग हो । शौभाग्यको सूचक रातो रंगको प्रयोग पनि आज व्यापक गरिन्छ । अनुहार अनि शरीर भरि लागेका रंगहरू धुँदा हातैभरि रंगीन हुने गर्दछ । खलल बगेका पानीका धारा या नुहाउने इनार अनि पोखरीका डिलहरू पनि रंगीन हुने गर्दछन् । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरू गाउँदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ ।

धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रूपमा हेरेरै त होला नेपालीजनहरू चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मीन्छन् । बालक बालिकाले पिच्कारी अनि ससाना बेलुनहरूका साथमा मज्जा लन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर बाँस काटेर त्यसका ढोडवाट बनाइएका पिच्कारीहरू अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाइएका पिच्कारीहरू पनि हुन्छन् ।

वयस्कका लागी होली रंग अनि भातृत्व र साहसको पर्व हो । शुरूशुरूमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनेर बसेता पनि सुस्तरि रंगीन माहोल अनि साथीभाईको रंग भरिएका हात अनि पानीका फोहोरावाट बच्न हम्मे हम्मे पर्दछ । पुराना यादहरू सँगाल्दै अनि अविर र केसरीको चुटुक्क टीकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्व रहन्छ ।

तपाईको प्रतिक्रिया