‘म उम्मेदवार छु तर मलाई भोट नदिनुस्’

अन्तर्वार्ता

       

बीपी साह, केन्द्रीय सदस्य (खुल्ला)का स्वतन्त्र उम्मेदवार, नेपाल पत्रकार महासंघ

नेपाल पत्रकार महासंघको आसन्न २६ औं महाधिवेशनमा केन्द्रमा ५२ पदका लागि १ सय ६५ जनाले उम्मेदवारी दिएका छन् । खुल्ला प्रतिस्पर्धामा कुनै पनि संगठन वा समूहले मधेशी–आदिवासी जनजाति वा सीमान्तकृत समुदायका पत्रकारलाई समेटेका छैनन् । १ सय ६५ उम्मेदवारमध्ये बीपी साह एक मात्र त्यस समूहलाई प्रतिनिधित्व गर्ने उम्मेदवार हुन् जसले खुल्ला उम्मेदावरी दिएका छन् । पत्रकार साह खुल्ला केन्द्रीय सदस्यका लागि देशैभरिबाट मत माग्दैछन् । महासंघलाई समावेशी बनाउने कि असमावेशी निर्णयको जिम्मा देशैभरका १३ हजार १ सय १८ महासंघका सदस्यहरूको हातमा रहेको बताउँछन् पत्रकार साह । विगत १३ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका साह आमसञ्चार तथा पत्रकारिता विषयमै प्लस टुदेखि एमएसम्मको अध्ययन पूरा गरेका छन् । साह नेपालमा दर्ता हुने पहिलो तथा नेपालकै पहिलो सामुदायिक न्यूजपोर्टल हुलाकी न्यूज डटकमका सम्पादकसमेत हुन् । साहसँग मधेशवाणीका सम्पादक रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंशः

० तपाइँको चुनावी एजेन्डाहरू के–के छन् ?

— पत्रकारसँगै पत्रकारिताको विद्यार्थीको नाताले मेरो पहिलो प्राथमिकता पत्रकारिता क्षेत्रकै सम्बद्र्धन–प्रर्वद्धन हो । त्यसैले त पत्रकारिता लागेका पुराना पुस्ताहरूलाई नयाँ प्रविधिसँग साक्षात्कार गराउने र नयाँ पुस्तालाई पत्रकारिता प्रति आकर्षित गराउने अभियान चलाएको छु । त्यसकारण मैले काम गर्दै आएको मिडिया साक्षरता अर्थात मिडिया लिट्रेसी बनाउने अभियान नै मेरो प्रमुख एजेण्डा हो । सँगै पछिल्ला दशकमा पत्रकार तथा पत्रकारितामाथि जनताको विश्वास घट्दै गएको छ । त्यसकारण पत्रकारलाई जिम्मेवार र पत्रकारितालाई मर्यादित बनाउदै विश्वसनियता बढाउन धेरै काम गर्नु पर्ने आवश्यक छ ।

जिल्ला वा देशको कुना काप्चामा काम गर्ने पत्रकारहरू सिक्न पाउने, प्रविधिको उपयोग गर्न पाउने, तालिममा सहभागी हुन पाउने, राम्रो शिक्षा पाउने अवसरहरूबाट बञ्चित छन् । त्यसकारण उहाँहरूलाई प्राविधिक र मैले अध्ययन गरेका विषयहरूको जानकारी दिनु नै मेरो एजेण्डा हो । मैले चलाएका अभियान र एजेण्डाहरूलाई एक कदम अगाडि बढाउन नै म नेपाल पत्रकार महासंघको नेतृत्वमा आउन चाहान्छु । होइन भने त पत्रकारिता गरेर, प्रशिक्षण दिएर आरामले जिन्दगी चल्दैछ किन चुनावमा टाउको दुखाउने ? मेरो अभियानलाई एक कदम अगाडि बढाउन मैले उम्मेदवारी दिएको हुँ ।

० तपाइँ स्वतन्त्ररूपमा केन्द्रीय सदस्य (खुल्ला)का लागि किन उम्मेद्वारी दिनुभएको हो ?

— मेरो जुन राष्ट्रव्यापी अभियान छ, त्यसका लागि म कुनै पदमा गएर वा कुनै पार्टीको संगठनबाट गएर काम गरें भने त्यो त्यति सकारात्मक हुँदैन । मेरो अभियानमाथि अमुक व्यक्तिहरूले अंकुश लगाउन सक्छ । म वा मेरो पत्रकारितामाथि कसैले अंकुश लगाओस् भनेर मैले चाहेको छैन । त्यसकारणले देशैभरका साथीहरूको माझमा पुगु र उहाँहरूले मतदान गरोस् भनेर मैले खुल्लारूपमा स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।

० नेपालका पत्रकार तथा पत्रकारितामाथि विश्वास घट्दै गएको भन्नुभयो, कसरी ?

— सामाजिक सञ्जाल वा कुनै पनि मिडियामा पत्रकारको बारेमा एउटा पनि नकारात्मक समाचार आउँदा भाइरल हुन्छ । अर्थात् पत्रकारमाथिको विश्वसनीयता घट्दै गएको सामान्य मापनको रूपमा त्यसलाई लिन सकिन्छ । अर्को कुरा समाचारमाथि विश्वसनीयता घट्नुको मूल कारण पत्रकारहरू दलीयकरणतिर लागे । राजनीतिक विषयहरूमा लेखिने समाचारहरू पहिले दलको लाइनमा जान्थ्यो तर अहिले नेताहरूको लाइन्मा जान्छन् । हामी कतिपय पत्रकारहरूमा तथ्यांकको ज्ञान नहुनु, प्रविधिको ज्ञान नहुनु वा समाचार स्रोतसम्म सही तरिकाले पहुँच हुन नसक्नुको कारणले पनि हामीले लेखेका समाचार र कन्टेन्टहरू कमशल खालका हुने गरेका छन् । त्यसकारण जनताको विश्वास घट्दै गएको छ । अर्को मुख्य कारण फ्याक्ट चेकको विषयमा पनि ज्ञानको अभाव देखिन्छ ।

० त्यसो हो भने पत्रकारितामाथि विश्वास कसरी बढाउने त ?

— पत्रकारितामा विशेषज्ञता भएन भने विश्वसनीयता गुमाउने अवस्था छ । सैद्धान्तिक ज्ञान नभएर वा पत्रकारको जिम्मेवारी के हो भन्ने नबुझेर यदि कसैले पत्रकारिता गर्छ भने त्यसले पत्रकारितलाई बदनाम गराउँछ । समाचारीय विषयवस्तु लेख्नुहुन्छ भने तपाइँलाई पत्रकारिताको आधारभूत ज्ञान हुनैपर्छ । पत्रकारिताको आधारभूत ज्ञानको आधारमा लेखिएको समाचारका विषयवस्तु स्तरीय हुनजान्छ । अर्को कुरा, अब पत्रकारले कुनै दलको कार्यालयमा दौडेर मात्रै हुँदैन वा पत्रकार सम्मेलनमा पुगेर मात्रै हुँदैन । पत्रकारले अध्ययन पनि गर्नुपर्ने हुन्छ । मुख्यतः म प्रशिक्षणमा जोड दिन्छु । म पत्रकारिता र सोसल मिडियाको प्रशिक्षकको हिसावले प्रशिक्षित व्यक्तिले केही हदसम्म राम्रो गर्छ ।

० महासंघको निर्वाचनमा विभिन्न दलका प्रेस संगठनहरू वा मोर्चाबन्दी गरेर चुनावी मैदानमा पत्रकार होमिएका छन् । तर कसैसँग सहकार्य वा मोर्चाबन्दी गर्नुभएको छैन, कुनै संगठनमा आबद्ध पनि हुनुहुन्न । किन ?

— सर्वप्रथम त नेपालमा पत्रकारिता कसरी सुरू भयो भन्ने कुरा बुझौं । नेपालमा रेडियो नेपालको स्थापना कांग्रेसीहरूले प्रजातन्त्र ल्याउन आन्दोलनताका गरे । गोरखापत्रको स्थापना राणाहरूले आफ्नो चर्चा र कर उठाउनका लागि गरे । भनेपछि यी दुईटै राजनीतिकरणबाट आएको हो नि त । त्यस्तै, नेपाल पत्रकार महासंघको संस्थापक नै नेपाली कांग्रेस नेता कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । त्यसकारण हाम्रो नेपाली पत्रकारिताको जग नै एउटा राजनीतिकरणबाट सुरू भएको हो । यसलाई राजनीतिको छायाँबाट सहजै हामी हटाउन सक्दैनौं । तर अन्तर्राष्ट्रिय मूल्य र मान्यता वा पत्रकारिताकै सैद्धान्तिक पक्षले के भन्छ भने पत्रकारको आफ्नो कुनै दलप्रति आस्था हुनसक्छ तर पत्रकारितामा त्यो देखिनुभएन । पत्रकारिताभित्रको दलीयकरणलाई तोड्नका लागिा हामीजस्ता युवा जसले पत्रकारिताको सैद्धान्तिक पक्षलाई बुझेका छन्, उसले पहलकदमी गर्नैपर्छ र अगाडि आउनुपर्छ । देशभरका महासंघका १३११८ जनाा सदस्यको मनमा हुनसक्छ कि पत्रकारिता स्वच्छ र निष्पक्ष हुनुपर्छ, पत्रकारले सबै कुरा समेट्नुपर्छ । तर उहाँहरू बाध्य भएर चुनाव जित्नकै लागि कुनै दलमा आबद्ध हुनुहुन्छ । तर स्वतन्त्ररूपमा आउन चाहन्छु । यदि म कुनै पार्टीमा गएँ भने मेरो अगाडि त्यो पार्टीका अध्यक्ष हुनसक्छ, प्रेस सल्लाहकारले टाउको खान सक्छ । वा टिकट बाँड्ने बेलामा मसँग विभिन्न खालका प्रतिबद्धता गराउन सक्छ । त्यसकारण त्यो जंजालमा म नफँसेर स्वतन्त्ररूपमा उम्मेद्वारी दिएको हुँ ।

० तपाँइले लामो समयसम्म मधेश र मधेशीलाई केन्द्रविन्दूमा राखेर कलम चलाउँदै आउनुभएको छ । मधेशी कोटाबाट उम्मेद्वारी दिएको तपाइँ जित्ने सम्भावना बढी देखिन्थ्यो नि ?

— मेरो पत्रकारिताको सुरूवात नै करिब–करिब पहिलो मधेश आन्दोलनताका भएको हो । समावेशी, संघीयता, पहिचानका लागि हामीले पत्रकारिता क्षेत्रबाट कलम चलाएको थियौं । जुन पदका लागि मैले लडेँ, सामान्य परिवारबाट एमएसम्मको अध्ययन गरेँ, म आफूलाई भाग्यमानी ठान्दछु । तर यस्ता पनि छन् हाम्रो समाजमा जसले आर्थिक अभाव वा विपन्नताका कारण राम्रो शिक्षा हासिल गर्न सकेन । मैले त्यो समावेशी पद ओगटे भने लक्षित वर्गले नेतृत्व पाउन सक्दैन । किनभने आरक्षण भनेको पछाडि परेकाहरूका लागि छुट्याइएको पद हो । समावेशी र आरक्षणबाट पछाडि परेकाहरूलाई अगाडि ल्याउनुपर्छ भन्ने माग उठाउने म पनि हो । मैले माग गरेको पदमा म आफै गएँ भने त्यो त आफ्नो लागि मात्र संघर्ष गरेको देखिन्छ । म खुल्ला प्रतिस्पर्धाबाट पनि जित्न सक्छु भन्ने लागेर म खुल्ला उम्मेदवारी दिएको हुँ ।

० एउटा मधेशी भएर खुल्लामा जित्न कतिको चुनौती देख्नुहुन्छ ?

— म मधेशी भएकोले पत्रकारितामा आएको होइन । म पत्रकार हुँ र मेरो एउटा पहिचान मधेशी पनि हो । अहिले महासंघका उम्मेदवारहरू हेर्ने हो भने खुल्लामा पनि एउटै समुदायबाट आउने, आरक्षणका पनि कतिपय सिटहरूमा एउटै समुदायबाट आउने । यो प्रणाली तोडेनौं भने विकराल बन्दै जान्छ र त्यसले द्वन्द्व सिर्जना हुन्छ । मलाई जति पनि चुनौती सामना गर्नुपरे पनि मूल भागमा जोडिएर परिवर्तन गर्न चाहन्छु । मलाई यो चुनौती पनि लाग्दैन । किनभने महासंघको उम्मेदवारी हेर्ने हो भने देशभरिबाट खुल्लामा म मात्र एउटा मधेशी जसले उम्मेद्वारी दिएको हुँ ।

नेपाल पत्रकार महासंघको केन्द्रमा उम्मेदवारी दिएका १ सय ६५ जना मध्ये मधेशी, आदिवासी जनजाति, दलित वा सीमान्तकृतबाट कोही पनि खुल्ला प्रतिस्पर्धामा देखिनु भएको छैन । उहाँहरूको संगठन वा पत्रकार समूहहरूले उहाँहरूलाई कोटामा मात्र सिमित राख्नु भएको छ । अव १ सय ६५ मा म एक्लै खुल्ला उम्मेदवार भएपछि राष्ट्रलाई वा पत्रकार महासंघलाई समावेशी देखाउन देशैभरका मतदाताले मलाई मत दान गर्ने छ भन्ने विश्वासमा छु ।

मैले मलाई चुनावमा भोट मात्रै दिनुस् भनेर मागेको छैन । पत्रकार महासंघका १३ हजार १ सय १८ जना पत्रकारहरूले मलाई विश्वास गर्नु हुनेछ र मलाई जिताउनु हुनेछ भने मलाई लागेको छ । म पत्रकार साथीहरूको विश्वास मागेको छु ।

तपाईको प्रतिक्रिया