ढोका बन्द गरेर सरकारमा आऊ भन्ने ?

विचार/दृष्टिकोण

       

महन्थ ठाकुर

पत्रकारहरू स्वतन्त्र चिन्तक भएकाले समाजलाई निकै हदसम्म प्रभावित गर्ने गर्छन् । पत्रकारहरूले आफ्नो कलमबाट जनतालाई सूचित गराउने, सचेत गराउने काम गरिरहेका हुन्छन् । यो काम धेरै कठिन छ । विचार मन पराउनेले प्रशंसा गर्छ भने जसलाई घोच्छ उसले आक्रमण पनि गर्छन् । यस्तो कठिनाई उठाएर पनि जनताको सेवा गरिरहेका हुन्छन् । त्यसका लागि पत्रकारहरू धन्यवादको पात्र हुन् ।

हामी स्वतन्त्रता, लोकतन्त्र, समानताका लागि संंघर्ष गर्दै आएका हौं । तर के मधेशमा पनि लोकतन्त्र छ ? मधेशी र थारूहरूलाई पनि लोकतन्त्रको अनुभूति छ त ? यदि छन् भने तिनीहरू किन जेलमा छन् त ? तिनीहरूले सरकारको माग गरेका होइनन्, हामीले सरकारको माग गरेका होइनौं । अधिकारको पो माग गरेका हौं ।

किनकि जब वर्तमान संविधानको ड्राफ्ट सार्वजनिक गरिएको थियो, त्यतिबेला हाम्रो आन्दोलनको एजेन्डा थियो, त्यसअनुसार त्यो ड्राफ्ट आएको थिएन । त्यसमा हाम्रो चित्त बुझेको थिएन र हामी विरोधमा थियौं । सबै संविधानको एउटा आधारभूत सिद्धान्त हुन्छ ।

संविधानको आधारभूत सिद्धान्त थियो संघर्षरत पक्षहरूको सहमतिमा अन्तरिम संविधान बनेको थियो । राजनीतिक सहमतिले संविधानसभाले संविधान बनाउने हो तर त्यो भएन । संविधानसभामा राज्य शक्तिको बाँडफाँड जुन समिति थियो त्यसको प्रतिवेदनको पनि उल्लंघन भयो ।

संविधानसभाको राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगले १४ राज्यको प्रतिवेदन दिएको थियो । त्यसमा उसले पहिचानको आधारमा विगतदेखि जुन विभेद भइरहेको छ, त्यसलाई हटाउनका लागि संघ बनाउने संकल्प गरेको थियो । निरंकुशतालाई समाप्त पार्ने र त्यसपछि पहिचानको आधारमा प्रदेशहरूको निर्माण गर्ने भनेर संकल्प त्यसबेला थियो । त्यो आन्दोलन राज्यको पुनर्संरचना भनेर एजेन्डा ल्याएको थियो ।

त्यस्तै विशेषज्ञहरूले पनि एउटा प्रतिवेदन दिएका थिए जसमा १० राज्यको सुझाव दिएको थियो । तर त्यसको पनि उल्लंघन भयो । अन्तरिम संविधानमासमेत संशोधन गरेर राखिएको थियो कि मधेश एक स्वायत्त प्रदेश बन्नेछ र अन्य जातजातिको पनि स्वायत्त प्रदेश हुनेछ । ती स्वायत्त प्रदेशहरू अधिकार सम्पन्न हुनेछ । राज्यका सबै निकाय र अंगमा बहिर्गमनमा परेका पीडितहरूलाई जनसंख्याको आधारमा समानुपातिक समावेशी गराइनेछ । तर त्यो पनि भएको छैन ।

त्यसै कारण संविधानसम्बन्धी संशोधनको जुन कुरा हो त्यो हाम्रो कुरा मात्रै होइन । सबै पीडितहरूको कुरा हो । किनकि अहिले पनि उनीहरू उपेक्षित छन् । नागरिकताको सवालमा जहिले पनि मधेशतर्फ औंला उठाइन्छ । तर, त्यो मधेशको मात्रै समस्या होइन । जन्मसिद्ध नागरिकका सन्तान किन वंशजको नाताले नागरिकता पाइरहेका छैनन् ? म भर्खर आफ्नो निर्वाचन क्षेत्र जलेश्वर गएको थिएँ । त्यहाँको सिडियोसँग भेटघाट भएको थियो । उहाँले नै भन्नुभयो कि धेरै युवाहरू नागरिकताका लागि आउँछन्, तपाइँहरूले नै माथि गएर केही गर्नुस् । किनकि यिनीहरूको शिक्षा प्रभावित छ, रोजगारीका लागि जान पाइरहेका छैनन् । राज्यविहीन भएकोले राज्यबाट पाउने कुनै पनि सुविधा पाउँदैन । त्यसकारणले नागरिकताको समस्या मात्र मधेशको समस्या होइन, देशको समस्या हो ।

त्यस्तै, भाषा र संस्कृतिको समस्या छ । हामी भन्छौं कि बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक हुनुपर्छ । तर शासन र प्रशासनमा त्यो रूप छ त ? त्यो विविधता देखिन्छ त ? म धन्यवाद दिन चाहन्छु प्रधानमन्त्रीजीलाई । आज कुरा उठिरहेको छ कि प्रधानमन्त्रीसँग जसपाको लगनगाँठो भएको छ । तर जुन दिनदेखि केपी ओलीजी प्रधानमन्त्री हुनुभएको छ, त्यसै दिनदेखि सरकारमा आउनुस् भन्दै आउनुभएको छ । त्यो आजको कुनै नौलो कुरा होइन । हाम्रो जवाफ सुरूदेखि नै त्यही छ कि हाम्रो जुन मुद्दा, समस्या ती कुराहरूतिर ध्यान दिनुस् । किनकि ती हामीहरूको मात्रै समस्या होइन, समग्र देशको समस्या छ ।

प्रधानमन्त्रीले सरकार बनाएको बेलादेखि नै सरकारमा आउन भनिराख्नु भएको छ तर मैले प्रस्ट भनेको छु हाम्रो हात–खुट्टा बाँधिएको छ, ढोका बन्द छ कसरी सरकारमा जाने ? पहिला यसलाई फुकुवा गर्नुस् त्यसपछि हामी विचार गर्छौं । पहिला हाम्रो साथीहरूलाई जेलबाट निकाल्नुस्, मुद्दा फिर्ता गर्नुस्, अङ्गभङ्ग भएकोलाई भरणपोषण गर्ने कार्य गर्नुस् र संविधान संशोधनका लागि ठोस कार्य अगाडी बढाउनुस् भनेको हुँ । यी सबै विषयमा हाम्रो कुराकानी भइरहेको छ । सकारात्मकरूपमा प्रक्रियाहरू अगाडि बढेको मैले जानकारी पाएको छु । त्यसै कारण प्रधानमन्त्रीजीलाई बहुत–बहुत धन्यवाद छ ।

जन्मसिद्ध नागरिकताधारीको सन्तानले वंशजको आधारमा नागरिकता किन पाइराखेको छैन ? के यो मधेशको मात्रै समस्या हो ? होइन समग्र देशको समस्या हो । यसको समाधान तत्काल हुनु पर्छ भनेको हुँ । प्रधानमन्त्रीजीले सक्दो सबै गर्छु भन्नु भएको छ एवं कार्यहरू प्रगति तर्फ बढेकोमा उहाँलाई धन्यवाद पनि दिन्छु । कांग्रेसले तीन दल मिलेर राजनीतिको निकास दिउ भन्दै आएको छ । तर कसरी भनेर उपाय बताएको छैन । किनकि सबै नेताजीहरूसँग मैले भेटघाट गरिसकेको छु । सबैको विचार बुझिसकेको छु । पटक–पटक हाम्रो भेटघाट भएको छ । उहाँहरूले हामीसँग आउनुस्, हामी यो गरौंला । अहिले नै गर्छु भन्ने उहाँहरूको भनाइ कहिल्यै पनि थिएन । जति पनि पहिला प्रधानमन्त्री भए सबैसँग कम्तीमा तीनबुँदे सम्झौता हाम्रो भएको थियो । उहाँहरूको लिखित सम्झौताले अहिलेसम्म काम गरिरहेको छैन, तपाइँमाथि विश्वास छ गरेर देखाइदिनुस् । हामी त विरोधमा छैनौं, समर्थन नै गर्नेछौं ।

अहिलेसम्म प्रधानमन्त्री ओलीजीसँग कुनै पनि सम्झौता भएको छैन । उहाँ आश्वासन दिनुभएको छ, कामकारबाही अगाडि बढाउनुभएको छ । स्वाभाविकरूपले उहाँसँग हाम्रो भेटघाट निरन्तर भइरहेको छ । अन्य नेताहरूसँग पनि भेटघाट भई नै रहेको छ । शेरबहादुरजी भन्नुहुन्छ कि कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन, न त सरकार बनाउँछ । एक जना नेता भन्नुहुन्छ कि म अविश्वासको प्रस्ताव पेस गर्छु, आउनुस् सबै मिलेर जाऔं । ठूला दलहरू नै आपसमा मिल्न सकेका छैनन् । त्यो हाम्रो विग्रह होइन् । हाम्रो कसैसँग दुश्मनी छैन । उहाँहरूको आपसमा नै मेल छैन ।

त्यसैकारण नेपालको राजनीतिमा अहिले स्थिरता छैन । राजनीतिक क्षेत्र समस्याग्रस्त भएकोले देश अन्यौलमा छ कता जाने हो ? के हुने हो ? भन्ने स्थिति छ । संसद चलेको छ तर शोक प्रस्ताब बाहेक केही हुदैन । विधेयकहरू आउँदैन, आयो भने पनि पास नहुने हो कि भन्ने डर छ । देश अस्थिरतातर्फ गएको छ, कोरोनाले शिक्षा, स्वास्थ्य, आर्थिक क्षेत्र तहसनहस भएको छ । बेरोजगारी बढेको छ । वैदेशिक रोजगारको अवसर गुमेको छ । तसर्थ यस्तो बेला हामी गम्भीर हुन जरूरी छ । सबै क्षेत्र प्रभावित भएका छन् । संसद पुनस्र्थापित भएर पनि काम भइरहेको छैन । यस्तो अवस्थामा हामी कता जाने हो ?

यो कोरोनाको बेलामा पनि पार्टीहरूबीच जुन एउटा अविश्वासको वातावरण छ । कसलाई विश्वास गर्ने ? भन्नेबारे अहिले चलिरहेको छ । प्रदेश सरकारहरूको पनि त्यही हालत छ । प्रदेशहरूको जुन स्थापना भएको छ, एउटा राजनीतिक नक्सा देखिन्छ तर उनीहरू पनि अधिकारविहीन छन् । सारा कर्मचारी र अधिकृतहरू केन्द्रबाट जान्छन्, प्रदेशहरूको आफ्नो केही छैन । निरीह अवस्थामा प्रदेशहरू देखा परेका छन् । झन् यो कोरोनाले कलह ल्याएको छ । अहिले राजनीतिक अस्थिरताको दौडले जे थोरबहुत कामहरू भइरहेका थिए त्यो पनि हुन सकिरहेको छैन ।

यस्तो अवस्थामा अहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्छ, हामी कहाँ जाने, कसलाई हामी आफ्नो व्यथा सुनाउने ? चाहे विकास निर्माणको कुरा होस्, चाहे राजनीतिक राजबन्दीहरूको कुरा होस्, चाहे नागरिकता र संविधान संशोधनको कुरा होस् । हामी यी कुराहरूका लागि प्रधानमन्त्री ओलीसँग भेटघाटका लागि गइरहेका छौं । उहाँलाई हामीले भनेका छौं कि हामीसँग कुनै किसिमको लिखित चेक नगराउनुस् । हामी प्रधानमन्त्रीको विरूद्धमा जाँदैनौं । त्यहीं कुरा हामीले सबै भनेका छौं । कांग्रेसका नेताहरूले सहकार्यको कुरा गर्नुभयो । हामीले भन्यौं कि लोकतन्त्रका लागि हामीले साथसाथै संघर्ष गरेकै हौं । तर हाम्रो आफ्ना मुद्दाहरू छन् । तपाइँ सबैले भन्नुहुन्छ कि आउनुस्, आउनुस्, गरौंला । तर गर्नुहुन्न । गर्नुभएको छैन ।

कम्तीमा अहिलेको प्रधानमन्त्रीजीले भन्नुभएको छ कि जति गर्न सक्छु, त्यति गर्छु । उहाँले प्रक्रियालाई अगाडि बढाउनु भएको छ । त्यसैकारण उहाँलाई धन्यवाद छ ।

(रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सव समारोहमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ठाकुरले गर्नुभएको सम्बोधनको सम्पादित अंश)

तपाईको प्रतिक्रिया