अन्योलमा गठबन्धन (सम्पादकीय)

सम्पादकीय

       

प्रधानमन्त्री केपी ओलीको निरन्तरता वा बहिर्गमन वा नयाँ सत्ता समीकरणमा मूलतः दुई प्रवृत्तिमा राजनीतिक दलहरु विभाजित छन् । सत्ताको चरमोत्कांक्षा र त्यसबाट आकस्मिक अनपेक्षित भुँइमा बजारिंँदा फेरि एकछिन सत्ताप्रति चरम निराशा पैदा हुन्छ । सत्ता प्राप्ति सम्भव छैन भनेपछि अरूलाई सत्ताच्यूत र सत्तारोहण गराउँदा पनि सन्तुष्टि नै प्राप्त हुन्छ सायद । नेपाली राजनीति नै अहिले ओलीको वरिपरि केन्द्रित छ ।

ओलीलाई सत्ताबाट हटाउनुमै आफ्नो सफलता ठान्छ । आफ्नो पार्टी आकारमा सीमित हुँदै गरेकोमा पश्चाताप र पीडा छैन, बरु ओलीलाई हटाउन नसकेर भक्कानिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादवहरू आफ्नो पार्टी विस्तारमा होइन, ओलीको प्रभाव आँकलनमा बढी समय खर्च गर्दै आएका छन् ।

सत्ताबाट हटाएरमात्र हुँदैन, प्रत्यक्ष लाभ पाउनुपर्छ भन्ने अर्को प्रवृत्ति पनि छ । त्यसको अर्थ प्रधानमन्त्रीका रूपमा ओलीको निरन्तरताबाट आफू र आफ्नो पार्टी वा समूहलाई राजनीतिक लाभ हासिल हुन्छ भने तयार हुनुपर्छ भन्ने हो । काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो, खासगरी पूर्वराजपा पक्ष यसका पक्षधर हुन । पार्टीगत दृष्टिकोणबाट हेर्दा, अर्को सरकार बन्न नसक्ने अवस्था कायम गरिरहँदा ओलीले नै गराउने मध्यावधि निर्वाचनबाट सबैभन्दा बढी राजनीतिक फाइदा काँग्रेसलाई हुन्छ ।

सत्ताधारी नेकपाभित्र जस्तो खालको संकट देखियो वा अहिले एमालेमा जस्ता संकट देखिँदैछन्, यसको कारक तत्व वा बीउको खोजी हुनुपर्छर । आफैँभित्रबाट उम्रिएको हो कि अरूले आएर बीजारोपण गरिदिएका हुन् ? यत्ति मात्रै छुट्याइए पनि समाधानका हजार उपाय निस्कन सक्छछन् । संकटको स्रोत आफूमै छ भने शुद्धीकरणका लागि महाभारत, रामायण, भागवत् के गर्दा हुने हो ? शान्तिस्वस्ती अथवा आत्मालोचना गरेरै भए पनि सच्चिने र मुलुकलाई सही दिशा दिने निःस्वार्थ प्रयत्नमा ढिलाइ हुनुहुँदैन । संकटको बीउ अन्तैबाट रोपिएको हो भने त यत्ति ज्ञान मात्रैले पनि समाधानका दैला उघार्न मद्दत गर्नसक्छन् ।

यदि विभिन्न दलले भनेजस्तो यो सरकार पूर्ण असफल भएको हो भने त उनीहरूले यसलाई तत्काल विस्थापित गर्नुसट्टा अभैm केही समय चल्न दिनुचाहिँ राजनीतिक रूपमा हितकारी हुन्छ । उनीहरूको पूर्वाग्रही आरोपलाई विश्वास गर्ने हो भने यो सरकार जति लामो समय रह्यो त्यति नै जनतालाई सास्ती हुने, देशको अविकासले प्रश्रय पाउने, समस्या तथा बेथिति चुलिने हुन्छ । त्यस्तो अवस्था बन्नु भनेको त अहिले विरोध गर्नेहरूलाई आगामी चुनावमा उनीहरूका पक्षमा जनमत सिर्जना हुने स्थिति आउनु पनि होला । त्यसैले सरकार अलोकप्रिय छ भने त्यसमा उनीहरू त खुसी भएर अर्को निर्वाचनमा आफ्नो चुनावी हतियार बनाउने सोचसहित अझै सरकारको निरन्तरता अनि त्यो निरन्तरताले दिने अलोकप्रियताको चाहना गर्नुपथ्र्यो होला नि ।

अहिलेको सरकारको विकल्प खोजिहाले नेतृत्वमा आउनसक्ने पात्र पनि पटक पटक परीक्षण र असफल भएका नै हुने प्रबल सम्भावना छ । उनीरूबाट पनि देश प्रताडित नै थियो, परिस्कृत थिएन ।
सरकार भनेको सन्तान अनि सत्तारुढ दल त्यसको अभिभावक हो । सन्तानले आशातित सफलता नपाएको खण्डमा सन्तान फेर्ने होइन कि उसको क्षमता अभिवृद्धिमा सहयोगचाहिँ अभिभावकको धर्म र दायित्व हुन्छ । अरूलाई सरकार परिवर्तनको उत्पे्ररणा दिनेगरी आन्तरिक किचलो जन्माउनु दलीय अपराधसमेत पनि हो ।

तपाईको प्रतिक्रिया