ओलीको विकल्प ठाकुर किन हुन सक्दैन ? (विचार)

विचार/दृष्टिकोण

ललित कुमार यादव

       

प्रधानमन्त्रीले गत पुस ५ गते विघटन गरेको प्रतिनिधिसभा सम्मानित सर्वोच्च अदालको फागुन ११ गतेको फैसलाले पुनःस्थापना भयो । प्रतिनिधिसभा पुनःस्थापना भएको पनि डेढ महिना पुरा भइ दुई महिना हुन लागेको छ । यतिको समय बितिसक्दा पनि मुलुकको राजनीतिले लिनु पर्ने रफतार लिन सकेको छैन । अहिले पनि राजनीतिक अन्यौलता कायम नै छ । मुख्यतया अहिले मुलुकको राजनीति वर्तमान ओली सरकारको निरन्तरता कि ओलीइतरको नयाँ सत्ता समीकरण कि ताजा जनादेशको अन्योलग्रस्त अवस्थामा फसेको छ ।

पछिल्लो समय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ भन्ने प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति देउवाको अभिव्यक्ति आएको छ । देउवाको यो अभिव्यक्ति मुलुक अर्ली इलेक्सनमा जान लागेको सम्भावना बढेको संकेत हो । यसअघिदेख नै प्रधानमन्त्री ओली अर्ली इलेक्सनमा जानु पर्ने पक्षमै रहेका छन् । हुन त काँग्रेस वैकल्पिक सरकारको नेतृत्व गर्न तयार रहेको निर्णय पनि देउवाको रुचि विपरित भएको निर्णय हो । अहिले निर्वाचन भएमा काँग्रेसलाइ लाभ हुने, सभापति देउवाको बुझाइ रहेको छ । पछिल्लो समय आएको देउवाको अभिव्यक्तिले सभापति देउवाको ध्यान पनि अर्ली इलेक्सनमै रहेको प्रष्ट भएको छ । सभापति देउवा काँग्रेस नेतृत्वमा सरकार बनाउन अग्रसर भएको देखिए पनि देउवाको प्राथमिकतामा ओलीइतरको गठबन्धन पर्न नसकेको देखिन्छ ।

प्रतिनिधिसभा विघटनलाइ प्रतिगमन भन्दै तत्कालीन नेकपाका दहाल–नेपाल पक्ष, प्रमुख प्रतिपक्षी काँग्रेस र प्रतिपक्षमा रहेका जसपा समेतले प्रधानमन्त्री ओलीको विरोध गरेको थियो । यी दलहरु प्रतिनिधिसभा पुनःस्थापनाकै पक्षमा रहेको थियो । प्रतिनिधिसभा पुनःस्थापना पनि भयो । तर, पुनःस्थापना भएको प्रतिनिधिसभाले मुलुकलाई निकास दिन सकेको छैन् । यसको नैतिक जिम्मेवारी यिनै दलहरुले लिनु पर्छ ।

ओलीइतरका दलहरुबीच विश्वासको वातावरण बन्न सकेको छैन । सबै दलमा गुट र समुह पिच्छै फरक फरक मत छ । कुनै पनि दलमा एकमत छैन । वैकल्पिक सरकारको लागि नया सत्ता समीकारण तयार हुन नसक्नुमा दलहरुको आन्तरिक विवाद नै मुख्य कारक रहेको छ । ओलीलाई प्रतिगामी भनेकाहरुले तुरुन्तै ओलीको विकल्प दिन सक्नु पर्छ । ओलीको विरोध पनि गर्ने तर पुनःस्थापित प्रतिनिधिसभाबाट निकास पनि दिन नसक्ने, यसलाइ पनि अग्रगमन भन्नु मिल्दैन । मुलुकलाई निकास दिन नसक्नु ओलीको बिरोध गरेका दलहरुको राजनीतिक हार हो । यसलाइ अरु केही नाम दिन सकिदैन ।

वर्तमान ओली नेतृत्वको सरकारको विकल्पमा सरकार गठन हुन काँग्रेस, माओवादी केन्द्र र जसपा को गठबन्धन बन्नै पर्छ । वैकल्पिक सरकारको लागि यी तिन दलको गठबन्धनको विकल्प छैन । यी दलहरुबिच वैकल्पिक सरकार गठन गर्ने विषयमा छलफल नै नभएको अवस्था होइन । तर, मुलुकले निकास पाउने गरि निशकर्षमा पुगेको अवस्था पनि पक्कै होइन ।

माओवादी केन्द्र शुरुदेखि नै वैकल्पिक सरकार गठन गर्ने प्रयासमा रहेको छ । यसका लागि माओवादी केन्द्रले सबै विकल्पमा छलफल गर्न र एउटा निश्कर्षमा पुग्न तयार रहेको छ । ढिलै भएपनि काँग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने केन्द्रीय समितिबाट निर्णय गरेको एक साताभन्दा बढी भैसक्यो । काँग्रेसले औपचारिक रुपमै माओवादी केन्द्र र जसपा सँग छलफल अगाडि बढाएको छ । वर्तमान अवस्थामा जसपा निर्णायक शक्तिको रुपमा रहेको छ । तर, निर्णायक जसपा कुनै एउटा निर्णयमा पुग्न सकेको छैन । अहिले जसपाकै निर्णयको पर्खाइमा मुलुकको राजनीतिको रफ्तारमा ब्रेक लागेको छ ।

पछिल्लो समयमा जसपाभित्र पनि मुख्यतया फरक फरक दुई धार देखिएको छ । महन्थ ठाकुर र राजेन्द्र महतोको एउटा धार रहेको छ भने उपेन्द्र यादव र बाबुराम भट्टराईको अर्को धार रहेको छ । ठाकुर र महतो ओलीकै नेतृत्वलाई निरन्तरता दिन खोजेको देखिन्छ भने यादव र भट्टराई जुनसुकै हालतमा ओलीको विकल्प खोज्नु पर्ने पक्षमा रहेको छ । जसपाभित्र पनि सके आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने, नसके आफ्ना माग पूरा गर्न तयार हुने दलसँग सहकार्य गर्ने मत बढ्दै गएको छ ।

प्रधानमन्त्री ओलीले जसपाको माग सम्बोधन गर्ने प्रकृया पनि अगाडि बढाइसकेको छ । तर, अहिलेसम्म जसपाले औपचारिक निर्णय लिई नसकेको अवस्था नै हो । जसपा ओली र ओलीइतरका दलहरु दुवै पक्षसँग छलफलमै रहेको छ । आफ्नै आन्तरिक विवादका कारण जसपा अलमलमा रहेको छ । जसपाकै अलमलले मुलुकले निकास पाउन सकेको छैन र मुलुकको राजनीति पनि अलमलमै रहेको छ ।

राज्यले मधेशलाई सधैं उपेक्षामा पारेको निष्कर्षसहित मधेशकेन्द्रित राजनीतिमा सकृय भएको हो, महन्थ ठाकुर । तुलनात्मकरुपमा अरु नेताभन्दा बढी मधेशलाई उपेक्षा गर्ने गरेको आरोप ओलीलाई लाग्ने गरेको छ । ओलीले विभिन्न समयमा मधेश र मधेश आन्दोलनप्रति दिएको अभिव्यक्ति र गरेका टिका टिप्पणी पनि आरोपकै नजिक रहेको छ । अहिले उनै महन्थ ठाकुरले सबैभन्दा बढी ओलीलाई नै विश्वास गरेको देखिन्छ । आफ्नै पार्टीको एक पक्ष प्रतिगामी देखेका ओलीप्रति ठाकुरको विश्वास बढ्नुको कारण प्रष्ट हुन भने बाँकी नै छ ।

मधेशको लागि तीनटै दल उस्तै हो । २०६४ को संविधानसभामा निर्णय गर्ने शक्तिका रुपमा रहेको कारण सत्ता समीकरणमा मधेश केन्द्रित दलहरुले राम्रै स्थान पाउने गरेका थिए । संविधान जारि हुने बेलामा मधेशकेन्द्रित दलहरु सानो शक्तिमा थियो । मधेशकेन्द्रित दलहरु शक्तिमा नभएकै कारण तीनटै दलले उपेक्षा गरे । तिनदलबीच १६ बुंदे सहमति भयो । सोही सहमतिको अधारमा संविधान जारी भयो । संविधानमा मधेशको असन्तुष्टी रहेको कारण मधेशमा ६ महिना लामो अवधिसम्म आन्दोलन भयो ।

जसपा अहिले मधेश आन्दोलनकै मुद्दा सम्बोधन हुनु पर्ने माग अगाडि सार्दै राजनीतिक सौदाबाजी गरि रहेको छ । जसपाले उठाएका मुख्य मागहरु जेलमा रहेका आफ्ना कार्यकर्ताहरुको रिहाइ, राजनीतिक मुद्दाहरुको खारेजि, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक र जसपाको सहमतिमा नागरिकता विधेयक पारित हुनु पर्ने रहेका छन् । जसपा आफ्ना यीनै मागहरु पुरा हुने सुनिश्चितता खोज्दैछ । झट हेर्दा सत्ता समीकरणलाई जसपाले गौण मानेको पनि देखिन्छ ।

२०७४ फागुन ३ गते वर्तमान ओली नेतृत्वको सरकार गठन भएको हो । सरकारलाई महन्थ ठाकुरले नेतृत्व गरेको राजपाले पनि समर्थन गरेको थियो । तर, आफ्ना माग सम्बोधन नहुने देखेपछि छोटो समयमै समर्थन फिर्ता लियो । उपेन्द्र यादवले नेतृत्व गरेको पार्टी भने सहमतिको कार्यवन्यनको आशमा सरकारमा सहभागी नै भएको थियो । पछि प्रधानमन्त्रीले मतलब गर्न छोडेका कारण २०७६ साल मंशिरमा यादव पनि सरकारबाट बाहरियो । २०७७ साल बैशाख १० गते राजपा र संघीय समाजवादी पार्टि एकिकरण भएर जसपा संस्थापित भएको हो । पटक पटक आफ्ना माग सम्बोधन गराउने सहमति गर्दै सरकारमा सहभागी हुने गरेका मधेशकेन्द्रित दलहरुको माग तिनटै दलले सम्बोधन गर्न सकेको छैन ।

महन्थ ठाकुर नेपाली राजनीतिका चिर परिचित व्यक्ति हुन् । अहिलेसम्म ठाकुरले आदर्शवादी र नैतिकवान नेताको पहिचान गुमाएको छैन । लगभग चार दशक नेपाली काँग्रेसमा आबद्ध रहेका ठाकुर २०६४ सालमा काँग्रेस त्याग गरेर मधेशकेन्द्रित राजनीतिमा सकृय भएका थिए । काँग्रेसमा रहँदा पनि असल छवि बनाएका ठाकुर मधेशकेन्द्रित दलमा पनि आफ्नो छविमा दाग लाग्न दिएको छैन । मधेश केन्द्रीत दलमा सकृय भए देखि नै सधै नेतृत्वमै रहेका ठाकुर सत्ताको खेलमा कहिले लागेन । सँधै सबैलाई मिलाउनमै केन्द्रित हुने गरेका छन् ।

काँग्रेस नेतृत्वको विकल्पमा खुल्ला हुनु पर्छ । सत्ता समीकरण बनाउन खोजेको काँग्रेसले आफ्नै नेतृत्वको दावीमा अडिग रहनु हँुदैन । जसपाले पनि नेतृत्व लिन खोजेको हो भने नेतृत्वको नाम सहित एकजुट भएर दलहरुसँग छलफलमा जुटनुपर्छ । जसपाले औपचारिक निर्णय गरेर नेतृत्वको नाम टुङ्गो लगाएर नेतृत्वको दावी गर्नु उचित होला । नेतृत्व गर्नेले प्रष्ट निर्णयका साथ अग्रसरता लिन पनि जरुरी छ । जसपाले नेतृत्व लिन खोजेको हल्ला सुनिए पनि नेतृत्व लिन तयार रहेको देखिदैन । तसर्थ सर्वप्रथम जसपाले आफ्नो लाइन स्पष्ट गरेर नेतृत्वको लागि तयार भएको निर्णय गर्न जरुरी छ ।

ओलीको विकल्पको खोजीमा रहेका काँग्रेस र माओवादी केन्द्र कसैले नयाँ अनुहारलाई अगाडि सारेको छैन । ओलीको विकल्पमा जो आए पनि पहिले परीक्षण भैसकेकै अनुहार आउने हो । परिक्षण भैसकेको अनुहार ल्याउनु भन्दा जसपाले महन्थ ठाकुरलई अघि सारेमा समीकरण बनाउन काँग्रेस र माओवादी केन्द्र तयार हुनु पर्छ । सकेसम्म एमाले पनि महन्थको नेतृत्व स्विकार गर्न तयार हुनु पर्छ ।ठाकुरलाइ किन प्रधानमन्त्री नबनाउने ? के ठाकुर ओलीको विकल्प हुन सक्दैन ? हुन सक्छ भने सबै ठाकुरको नेतृत्व स्विकार गर्न तयार हुनु पर्छ । सँधै जसपालाई आफ्नो सत्ता टिकाइ दिने सहयात्री मात्रै बनाउनु हँुदैन ।

नेतृत्व दिन पनि तयार हुनु पर्छ नेपाली राजनीतिज्ञहरु । जसपा र महन्थ ठाकुरहरु किन र कहिलेसम्म अरुको सत्ता मात्रै टिकाइ रहने ? २०६९ सालमा मुलुकलाई निकास दिन बहालबला प्रधानन्यायधीशको नेतृत्व स्वीकार गरिसकेका यीनै दलहरुले मुलुकलाई निकास दिन अहिले ओलीको विकल्पमा ठाकुरलाई रोज्न सक्नु पनि उचित निर्णय नै हुन्छ ।

lkskeshariaaryan@gmail.com

तपाईको प्रतिक्रिया