मन्त्री बनेका जसपाका चार सांसदलाई स्पष्टीकरण

राजनीति

       

रूपन्देही, ९ बैशाख । पार्टी नीति र निर्णयविपरीत प्रदेश सरकारमा चार सांसद मन्त्री भएपछि जसपा) को लुम्बिनी प्रदेश संसदीय दलले कारबाही प्रक्रिया अघि बढाएको छ । जसपा संसदीय दलका नेता सहसराम यादवले चारैजना सांसदलाई छुट्टाछुट्टै स्पष्टीकरण सोधेका हुन् ।

लुम्बिनी प्रदेश सरकार र मन्त्रिपरिषद्प्रति विश्वास छैन भन्ने जसपाको लुम्बिनी प्रदेश समितिको चैत २६ को बैठक निर्णय र वैशाख ६ गतेको संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको निर्णय किन उल्लंघन गरेको भन्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ को उपदफा १ (क) र २ बमोजिम ह्विप उल्लंघन किन गरेको भन्ने विषयमा स्पष्टीकरण सोधिएको हो ।

प्रदेश सरकार विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपा सांसद सन्तोष पाण्डेय, बिजयबहादुर यादव, कल्पना पाण्डे मन्त्री र सुमन शर्मा रायमाझी राज्य मन्त्रीमा नियुक्त भएर शपथ लिएका थिए । कल्पना पाण्डेबाहेक अन्य तीन जना अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसद हुन् ।

चार सांसद मन्त्री बनेपछि जसपा दुई खेमामा विभाजन भएको छ । दुवै खेमाले छुट्टाछुट्टै कारवाही अघि बढाएका छन् । जसपाको लुम्बिनी प्रदेश समिति र रूपन्देही जिल्ला समितिले पनि चारै जनालाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया