‘जनमतको हरेक गतिविधि अब चुनावकेन्द्रित हुन्छ’

अन्तर्वार्ता

       

ई.इन्द्रजीत यादव, उप–महासचिव, जनमत पार्टी

० जमतको महाधिवेशन कस्तो रह्यो ?

— जनमत पार्टीको प्रथम महाधिवेशन ऐतिहासिक रूपमा गत चैत २८ गते जनकपुरधामको बाह्रबिघामा सम्पन्न भयो । यसको मूल भाव जनताको बीचबाट चुनिएर आएका पार्टीका जुन संस्थागत पदाधिकारीहरू हुन्, उनीहरू छनौट भएका छन् । लोकतन्त्रको मान्यताअनुसार जनमत पार्टीले ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न गरेको छ ।

० महाधिवेशनबाट जनमतले जनतालाई के सन्देश दिएको छ ?

— जनमत पार्टीको प्रथम महाधिवेशनबाट उल्लेख्यरूपमा जनसहभागिता देखिएको थियो । हाम्रो महाधिवेशनमा जनताहरू स्वतःस्फूर्तरूपमा सहभागिता जनाएका थिए । मधेशमा अब जनमत पार्टी एउटा वैकल्पिक शक्तिको रूपमा आइसक्यो भन्ने खालका जनताको भावना पनि देखियो । जनताको माग र अधिकार जनमत पार्टीले पूरा गराउन सक्छ भन्ने विश्वास पनि सो सहभागिताले अभिव्यक्त भएको हामीले महसुस गरेका छौं । अन्य राजनीतिक दलहरूले जतिसुकै आश्वासन वा भाषण गरे पनि जनमत बाहेक अन्य कुनै पनि विकल्प छैन । मधेशले अब विकल्प पाइसक्यो ।

० अन्य दल र जनमतको महाधिवेशनमा के अन्तर थियो ?

— जनमत पार्टी भनेको जनताको बीचबाट जन्मिएको र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात गर्दै आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गरेको छ । मधेशकेन्द्रित दलहरूले आफ्नो महाधिवेशन गर्न सकिरहेका थिएनन् । ती पार्टीहरूमा अहिले पनि टीका लगाएर मनोनयन गर्ने प्रचलन अहिले पनि जारी नै छ । तर जनमत पार्टी आफ्नो गठनको दुई वर्षकै अवधिमा यत्रो भव्यताका साथ महाधिवेशन सम्पन्न गरेको हो ।

० आगामी दिनमा जनमत कसरी अगाडि बढ्छ ?

— हामीसँग प्रष्ट भिजन र केही गर्ने जोश जाँगर छ । जनमत पार्टीमा सबै सदस्यहरू पढेलेखेका र विकास निर्माण फड्को मार्न सक्ने अनुभव छ । हाम्रा अधिकांश साथीहरू विदेशमा भइरहेको विकास निर्माणका बारे अनुभव राख्नुभएको छ । यहाँ अनपढहरूले पढे–लेखेकाहरूमाथि शासन गरिरहेका छन् । स्थानीय तहमा हेर्दा कतिपय एसएलसी पनि पास नगरेका मेयर वा जनप्रतिनिधिहरूले मास्टर्स गरेका इन्जिनियरहरू माथि शासन गरिरहेका छन् । जुन काम नियम कानूनले मिल्दैन, प्राविधिकरूपमा हुन नसक्ने कामहरू पनि अहिले जनप्रतिनिधिहरूले दबाब दिएर इन्जिनियरहरूलाई काम गर्न बाध्य बनाउँछन् । त्यही कारणले अब डाक्टर, इन्जिनियर साथीहरू जागरूक भएर यो पार्टीमा लागिरहेका छन् ।

० जनमत पार्टीमा अधिकांश नेताहरू डाक्टर, इन्जिनियरहरू छन् । किन ?

— जनमत पार्टीमा डाक्टर, इन्जिनियरहरू मात्रै हैन, सबै किसिमका व्यवसाय गर्ने साथीहरू पनि आबद्ध हुँदैछन् । पढे लेखकाले गर्ने काम र अनपढले गर्ने काममा धेरै भिन्नता हुन्छ । अहिलेसम्म किन विकास भइरहेको छैन भन्ने कुराले यसले प्रष्टयाउँछ । विश्वमा कसरी उद्योग धन्दाहरू स्थापना भइरहेको छ, कृषिको आधुनिकीकरण कसरी भएको छ लगायतका कुराहरू विदेशमा गएर पढेलेखेका वा काम गरेका साथीहरूसँग बढी अनुभव हुन्छ । उहाँहरू नै विदेशबाट आएर यो पार्टीमा लागेपछि आउने दिनमा गर्ने काम, आधुनिकीकरण, औद्योगीकरण, योजनाहरू अवश्य पनि लागू हुनेछ । अहिले भइरहेको विकास निर्माणको तुलनामा अझै पनि एडभान्स तरिकाले गर्नुहुन्छ भन्ने हिसावले नै जनमत पार्टीमा त्यस्ता पढेलेखेका साथीहरू आबद्ध भइरहेका छन् ।

० तपाइँहरूसँग भएका एजेन्डा कसरी लागू गराउनुहुन्छ ?

— अब हाम्रो एक मात्र उद्देश्य हो, निर्वाचनमा विजयी हुने । हामीले अब गर्ने हरेक गतिविधि चुनावकेन्द्रित नै हो । केही महिनापछि मुलुकमा स्थानीय तहको निर्वाचन हुदैछ, त्यसपछि प्रदेश र संघको निर्वाचन आउँदैछ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै हामीले मुख्यरूपमा दुईटा एजेन्डालाई अगाडि सारेका छौं । जनमत पार्टीले यदि चुनाव जित्यो भने जनता राज ल्याउने हाम्रो पहिलो अवधारणा हो । जनता राज भनेको जनताले जे चाहन्छ त्यही हिसावले हाम्रो अवधारणा बन्छ र लागू गर्नेछौं । हामीले १० लाख युवालाई रोजगारीको सुनिश्चितता गर्ने अवधारणा पनि ल्याएका छौं । जसमा मधेशको हरेक घरमा एउटा रोजगारी सिर्जना गर्ने हिसावले हाम्रो कार्यक्रमहरू छन् । विदेशमा हाम्रो करिब दुई लाखभन्दा बढी मधेशी साथीहरू हाम्रा सदस्यहरू छन् । जबकि मधेशबाट करिब सात लाख मधेशी विदेशको भूमिमा रोजगारीका लागि गएका छन् । यदि हाम्रो योजनाअनुसार काम गर्न सक्यौं भने सबैका लागि यही नै रोजगारीको सिर्जना गर्छौ । कुनै ठाउँमा विकास गर्नका लागि त्यहाँ भएका स्रोत साधनहरूलाई नै हामीले उपयोग गर्न सक्यौं भने ठूलो सम्भावना हुन्छ ।

० जनमतले प्रदेश २ मा क्लिनस्वीप गर्ने दाबी गरेको छ, सम्भव देख्नुहुन्छ ?

— चुनावका बेला जसले बढी पैसा खर्च गर्छ उ नै जित्छ भन्ने कुरा छैन । जनता अहिले जागरूक भइसकेका छन् । जनता अब पैसा वा दारू मासुको पछाडि लाग्दैन । जोसँग विकास र समृद्धिको एजेन्डा हुन्छ र जसले गर्ने दृढ संकल्प देखाउँछ उसलाई नै जसपाले मतदान गर्ने हो । हामीसँग स्पष्ट रोडम्याप छ, हामी जनताका बीच आफ्ना एजेन्डा स्थापित गर्न लागिपरेका छौं । विगतमा सबैले जनतालाई ठूलठूला आश्वासन दिएर ठगेका छन् । बारम्बार ठगिएकाहरूलाई नै जनताले फेरि उनी पात्रहरूलाई मतदान गर्दैनन् । जनता राज हाम्रो पहिलो प्राथमिकता हो र हामीले आफ्नो यो एजेन्डा लागू गराएरै छाड्छौं । अहिलेको हाम्रो मुख्य टारगेट चुनाव केन्द्रित नै हुन्छ । हामीले जनताका माझ गरेका प्रतिबद्धताहरू पूरा गर्नेछौं । हामी जनताका बीच जाँदा हामीप्रति अलि बढी विश्वास र आशा रहेको पाउँछौं । किनभने पहिला–पहिला चुनावमा जनतासँग विकल्प थिएन तर अब जनताकै बीचबाट जन्मिएको पार्टी जनताका लागि काम गर्न आइसकेको छ । त्यसैले ‘अब कि बार जनमत की सरकार’ भन्ने हाम्रो नारा पनि हो ।

० आउँदो चुनावमा जनताले जनमतमाथि विश्वास गर्छ ?

— पूराना सबै दलहरूबाट जनता निराश भइसकेका छन् । विगतमा विकल्प थिएन, विकल्पविहीन अवस्था थियो । तर अब जनमत आइसकेको छ । जनताको आदेशबाट नै यो पार्टीको निर्माण भएको हो । जनमतले जनतालाई निराश गर्दैन भन्ने हामी प्रतिबद्धता गर्न चाहन्छौं । हाम्रो महाधिवेशनमा जनताको जनलहरले हामीलाई स्पष्ट जनादेश दिइसकेको छ कि अब जनमतको विकल्प छैन । हाम्रो महाधिवेशनमा जनतालाई आह्वान गरेका थिएनौं, तैपनि जनलहर नै देखियो । जुन किसिमको जनमतप्रति जनताको आशा र विश्वास देखियो त्यसलाई हामीले टुट्न दिँदैनौं । हामीले पैसा वा पदका लागि राजनीति गर्ने होइन । हाम्रो पार्टीमा रहेका नेताहरूको राजनीतिक पृष्ठभूमि छैन, तर सबैले राजनीतिलाई राम्रोसँग अध्ययन गरेका छन् ।

० जनमतले मधेशमा केपी ओलीलाई सहयोग गरिरहेको भन्ने आरोप छ नि ?

— यी सबै कुराहरू राजनीतिक प्रोपोगण्डा हो । मधेशमा जनमतप्रति बढ्दै गएको आकर्षणलाई केही तत्वहरूले पचेको छैन । ओलीसँग को नजिक छ र कसको साँठगाँठ छ भन्ने कुरा जनताले बुझिरहेका छन् । अहिलेकै राजनीतिक अवस्था हेर्नुस्, जसलाई गाली गरेर जनताको मत बटुले, अहिले उसैसँग साँठगाँठ गर्न पुगेका छन् । उनीहरूले चुनावमा पनि गठबन्धन बनाउँछन् । विगतमा उनीहरू पटक–पटक सरकारमा गएकै छन् । तर अहिलेसम्म हामीले कुनै पनि सरकारमा गएका छैनौं र कुनै किसिमको साँठगाँठ पनि छैन । तत्कालीन स्वतन्त्र मधेश गठबन्धन र केपी ओली नेतृत्वको सरकारबीच भएको सम्झौतापछि कुनै पनि किसिमको सहकार्य भएको छैन । हुँदै नभएको कुराहरू प्रचार गरिएको छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया