कोरोना महामारीसँग जुध्न विभिन्न अस्पतालाका लागि ४१७ दरबन्दी थप, सबै जिल्लाका लागि फोकल मन्त्री तोकियो

समाचार

       

जनकपुरधाम, २० बैशाख । प्रदेश नं. २ को सरकारले कोरोना महामारीसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२÷३२ लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५÷१५ दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

कोरोना विशेषका लागि थप गरिएको दरबन्दीहरुमा एनेस्थेसियोलोजिष्टदेखि लिएर स्वीपरसम्मको पद रहेको छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।

यसैगरी, मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीसँग जुध्न प्रदेश सरकारका मन्त्रीहरुलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्रीसमेत निर्धारण गरेको छ ।

सप्तरी जिल्लाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागि आर्थिक मामिला तथा योजना विजय कुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री राम नरेश राय र बारा तथा पर्साका लागी भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

जिम्मेवारी तोकिएका मन्त्रीहरु सम्बन्धि जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि पूलको रुपमा काम गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को बैठकले यसअघि पिसिसिएमसीको बैठकले गरेको निर्णयहरुलाई अनुमोदनसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया