आइसियु बेड र भेन्टिलेटर भएपनि दक्ष जनशक्ति छैन : मेयर गुप्ता

स्थानीय सम्वाद्

       

अजय कुमार गुप्ता, मेयर, गौर नगरपालिका, रौतहट

० कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएन्टसहितको संक्रमण रोकथामका लागि गौर नगरपालिकाले के गर्दैछ ?

— कोरोना महामारीको नयाँ भेरिएन्टसहितको संक्रमण धेरै नै खतरनाक छ । गौर नगरपालिका यस सन्दर्भमा सुरुदेखि नै सचेत छ । भारतीय सीमासँग जोडिएको कारणले पहिलादेखि नै सीमानाकामा हेल्पडेस्क स्थापना गरिसकेका छौं । भारतमा विभिन्न कारणवश गएका नेपालीहरु फर्किँदा नाकामै एन्टिजेन टेष्ट गरेर पोजिटिभहरुलाई आइसोलेसनमा र निगेटिभहरुलाई होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ । ठाउँ–ठाउँमा हात धुने व्यवस्थाहरु गरेका छौं । घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने र नलगाउनेलाई जरिवाना पनि तोकिएको छ । त्यसको पूर्ण पालना पनि भइरहेको छ । गौरका हाटबजारहरु बन्द गरिएको छ । गौर नगरपालिकाले आफ्नै स्रोतबाट कमसेकम १० बेडको अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन भइरहेको छ । कोरोनाको नयाँ भेरिएन्टलाई कसरी रोकथाम गर्नेबारे विभिन्न रणनीतिहरु बनाएर हामी अगाडि बढिरहेका छौं ।

० कोरोना महामारी एक वर्षदेखि नेपालमा देखिँदैआएको छ । दोस्रो लहर आउँदासम्म पनि स्थानीय तहहरुले आवश्यक तयारी गरेन भन्ने आरोपहरु छन् नि ?

— कोरोना महामारी आउँदा यसको सम्पूर्ण व्यवस्थापन स्थानीय तहहरुले नै गरिरहेका छन् । अहिलेसम्म मूर्तरुपमा फिल्डमा काम गरेको स्थानीय तह नै हो । अहिले क्वारेन्टाइन वा आइसोलेसन बनाउने होइन । किनभने नेपाल सरकारको मापदण्डअनुसार होम आइसोलेशनको व्यवस्था गरिएको छ र त्यसको नियमन स्थानीय तहले गर्ने हो । अहिलेको दोस्रो लहरको कोरोना धेरै नै खतरनाक भएकोले अक्सिजनसहितको आइसोलेसन चाहिएको छ । त्यो हिसावले स्थानीय तहहरु आआफ्नो पालिकाहरुमा कम्तीमा पाँच बेडको कोभिड अस्पतालहरु निर्माणको क्रममा छन् । कोभिड अस्पताल भनेको डाक्टर, स्टाफ नर्स र दक्ष जनशक्ति हुनुप¥यो र त्यसको साथसाथै अक्सिजन हुनुप¥यो । यी सबै चीज एकैचोटि पाउन सक्ने अवस्था छैन । कोभिड अस्पतालको नाममा धेरै जस्ता स्वास्थ्यकर्मीहरु कामै गर्न मानिरहेका छैनन् । यस्तो अवस्थामा काम गर्नुपरेको छ । त्यसैले स्थानीय तहले केही गरिरहेको छैन भन्नु उचित नहोला । अहिलेसम्म कोभिड नियन्त्रण तथा रोकथाम लगायत सम्पूर्ण काम स्थानीय तहले गरिरहेको छ ।

० महामारीको बेला प्रदेश र संघीय सरकारको कतिको सहयोग पाइरहनुभएको छ ?

— हामी अहिलेसम्म प्रदेश वा संघीय सरकारबाट केही पनि पाएका छैनौं । अहिले हामी जे गरिरहेका छौं, आफ्नो स्रोतले गरिरहेका छौं ।

० प्रदेश सरकारले विभिन्न कामहरु गरिरहेको दाबी गर्दैछ नि ?

— प्रदेश सरकारको प्रादेशिक अस्पताल र जिल्लास्तरीय अस्पतालहरु छन् । प्रदेश सरकारले त्यो मार्फत् गर्ने हो । पालिकाले आफ्नो स्रोतमार्फत् गर्ने हो । यो दोस्रो लहर आउँदासम्म स्थानीय तहलाई प्रदेश वा संघीय सरकार कतैबाट सहयोग दिइएको छैन । प्रदेश सरकारले गौर अस्पतालमा आइसियु बेड र भेन्टिलेटरहरु पठाइसकेको छ । तर बेड वा भेन्टिलेटर मात्रै पठाएर हुँदैन । त्यो सञ्चालनका लागि दक्ष जनशक्ति चाहिन्छ । दुई–तीन दिनपहिला प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय भएको छ जसमा गौर अस्पतालका लागि ३२ वटा दरबन्दी थप गरिएको छ । सुरुदेखि नै स्वास्थ्य संरचना बलियो बनाउनेतर्फ लागेको भए आज बलियो अवस्था हुन्थ्यौं । हामीसँग उपलब्ध स्रोतसाधन र जनशक्तिले भ्याएसम्म क्षमताभन्दा बढी काम गरेर कोरोना रोकथाम र नियन्त्रणमा हामी लागिपरेका छौं ।

० यो कोरोना महामारीबाट के पाठ सिक्नुपर्छ ?

— यो समयमा एकअर्कालाई आरोप लगाएर हामी पन्छिन पाउँदैनौं । किनभने राज्य पुनर्संरचनापछि देशमा तीन तहको सरकार छन् । तीन तहको सरकारबीच समन्वयबाट नै यो महामारीबाट पार पाउन सक्छौं । हाम्रो स्वास्थ्य संरचना बलियो हुनैपर्छ । नेपालजस्तो अल्पविकसित देशमा स्वास्थ्य र शिक्षामा नै सबभन्दा बढी जोड दिनुपर्छ । यो सन्दर्भमा राज्यको पनि ध्यान गइरहेको छ । एकैचोटि हामीले स्वास्थ्य संरचनालाई बलियो बनाउन सक्दैनौं । त्यसको लागि समय चाहिन्छ । गत वर्षदेखि यो महामारीसँग निरन्तररुपमा लडिरहेकै छौं । यो हाम्रो लागि ठूलो पाठ पनि हो । यही अवसरलाई हामी उपयोग गरी आआफ्ना ठाउँका स्वास्थ्य संरचनाहरु बलियो बनाउनै पर्छ । यो अहिलेको आवश्यकता पनि हो । किनभने भोली फेरि तेस्रो लहरको कोरोना आउन सक्छ वा अन्य कुनै महामारीहरु पनि आउन सक्छन् । त्यसैले अब हामी पहिलादेखि नै तयारीमा अवस्थामा बस्नुपर्छ ।

० यो महामारीका बेला तीनै तहको सरकारबीच समन्वय र सहकार्य कस्तो छ त ?

— अहिले तीनै तहको सरकारबीच समन्वय भइरहेको छ । नेपाल सरकारको मन्त्रिपरिषद्ले गरेका निर्णयहरुलाई हामीले मूर्तरुप दिइरहेका छौं । प्रदेश सरकारका निर्णयहरुलाई पनि हामीले कार्यान्वयन गरिरहेका छौं । अहिले समन्वयको कुनै विकल्प नै छैन । समन्वयले नै यस्तो ठूलो चुनौतीसँग हामी लड्न सक्छौं ।

० सीमानाकामा आवत–जावतको अवस्था के छ ?

— अहिले सीमा नाका नियन्त्रणमा छ । केही नेपाली नागरिकहरु कामकाजको शिलसिलामा भारतमा बसेका छन्, तिनीहरुलाई आउन दिइएको छ । त्यसका सीमित नाकाहरु प्रयोग भइरहेको छ । जसमा हामीले एन्टिजेन टेष्ट गरेर नै प्रवेश गर्न दिइरहेका छौं ।

० गत वर्ष लकडाउन हुँदा दैनिक ज्याला र मजदुरी गर्नेहरुका लागि राहत पनि बाँडिएको थियो, तर यस वर्ष त्यस्तो देखिएको छैन । किन ?

— अहिलेको सन्दर्भ भनेको राहत बाँड्ने होइन । यो कुरालाई हामीले गम्भीररुपमा बुझ्नुपर्छ । अहिलेको मूल आवश्यकता भनेको कोभिड अस्पताल निर्माण गरी अक्सिजनको जहाँ कमी भइरहेको छ, जो मृत्युसँग जुधिरहेका छन् त्यसलाई बचाउने हो । त्यसैमा हाम्रो जोड पनि छ । अहिलेको निषेधाज्ञा पहिला जस्तो हुँदैन । किनभने महामारीसँगसँगै मान्छेको पेट पनि छ, त्यसलाई पनि हामीले ध्यानमा राखेका छौं । त्यही हिसाबले अब हामी कदमहरु उठाउँछौं ।

० पछिल्लो वर्षभन्दा यसपटक जनता कतिको सचेत भएका छन् ?

— त्यो स्वाभाविक हो । जनतामा धेरै डर र त्रास छ, मान्छे आफै पनि सचेत छन् । किनभने पहिलाको कोरोनाभन्दा यो चार गुणा बढी खतरनाक छ । यसले सिधै मान्छेलाई मारिरहेको छ । त्यसैले आमनागरिक आफै पनि सजग छन् र हुनु पनि पर्छ । सबैसँगको सहकार्य, समन्वय र सहयोगबाट नै यसलाई रोकथाम गर्न सक्छौं । हामीसँग अर्को कुनै विकल्प छैन ।

तपाईको प्रतिक्रिया