दलहरूको अन्तर्संघर्ष (सम्पादकीय)

सम्पादकीय

       

जनता समाजवादी पार्टी भित्र अहिले देखिएको विवाद र अन्तरसंघर्ष वैचारिकभन्दा स्वार्थको लेनदेन हो । जसपाको द्विविधाभित्र अन्तरनिहित कारण यही हो ।

यस अतिरिक्त, जसपाका लागि संविधान संशोधन, रेशम चौधरी लगायत आफ्ना कार्यकर्ताहरूको रिहाइ प्रमुख मुद्दा रहेको छ । कुनै बहानामा सुविधाको राजनीति गर्ने प्रयास प्रत्युत्पादक हुनसक्ने अवस्थाबारे नेताहरू सचेत हुनु स्वाभाविक हो ।

अब अहिले भनेजस्तै कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाको गठबन्धन सरकार बनाइए पनि दुई तिहाई बहुमत सम्भव नभएकोले संविधान संशोधन हुन सक्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै प्रपञ्चबिना वास्तविकरूपमा जसपालाई संविधान संशोधनका लागि सहमति दिएको खण्डमा दुई तिहाईको बहुमतमात्र नभई लगभग सर्वसम्मत हुनसक्ने सम्भावना देखिन्छ ।

समग्रमा अहिले सत्ताको साँचो कसैसँग छैन । जसपालाई यसको लागि जति जिम्मेवार भनिए पनि नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिए पनि अवस्था यथास्थिति मै छ  । एक्कासि विकसित राजनीतिक गन्जागोलबाट आमजनमानसमा वितृष्णा बढे पनि ध्रुवीकरणको वातावरण बन्दै गएको देखिन्छ ।

यसैगरी, रेशम चौधरी लगायत कार्यकर्ताहरूको रिहाइका बारे सरकारको स्वीकारोक्ति भएमा कानूनी जटिलता धेरै बाधक हुनसक्दैन । अदालतको प्रक्रिया अनुसार नमिल्ने भएमा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आममाफी दिने घोषणा गरेर पनि निकास दिन सकिन्छ । सम्भवतः यही वस्तुगत अवस्था बुझेर जसपा अध्यक्ष महन्थ ठाकुरले एमालेसँग सहजता महसुस गरेको देखिन्छ । यसलाई सत्ताको साँचो भनेर व्याख्या गर्नु पूर्णरूपमा यथार्थपरक देखिन्न ।

वर्तमान सरकारको बहिर्गमनको र वास्तविक साँचो काँग्रेस र नेकपा (माओवादी केन्द्र) सँगै रहेको छ । तर सत्ताको साँचो जसपालाई भनिए पनि पार्टीभित्र नेताहरुको ध्रुवीकरणले त्यसलाई पुष्टि गर्ने बल पुग्दैन र संसदीय राजनीतिमा गणितीय आधारको महत्वपूर्ण भूमिका हुन्छ, जसलाई इन्कार गर्न सकिन्न ।

संसदका सबै सदस्य समान हैसियतमा भएको हुनाले कुनै दलको नेता वा व्यक्तिले बहुमत सांसदको समर्थन जुटाउन सक्छ भने निजलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक बाध्यता हुन्छ । जनताले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) संयुक्त सरकारको लागि जनमत दिएका थिए, तर त्यसलाई उनीहरुले सम्मान गर्न सकेन । आफू मिलेर जान नसक्नु अनि दोषारोपण अरूलाई गर्नु उचित होइन ।

नेपाली कांग्रेसका दुवै हातमा लड्डु छ । तत्काल चुनाव भएमा कांग्रेसको अवस्था निःसन्देह सुधारात्मक हुनेछ । त्यसमा पनि सरकारमा नगएको खण्डमा कुनै प्रकारको आरोप पनि लाग्ने छैन । यो अवसर पनि कांग्रेसलाई हुनेछ ।

कांग्रेसले सरकार बनाउनुपर्ने दबाब पनि उत्तिकै छ । खासगरी सभापति शेरबहादुर देउवा इतरको समूहले यस विषयमा खुलेर कुरा राख्दै आएको छ । अहिले काँग्रेुस त जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने तिर पनि विचार गर्न थालेको छ ।

वास्तवमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत देउवाविरुद्ध लामबद्ध भएका सबै नेताहरूको आँखा महाधिवेशनमा केन्द्रित छन् । देउवाका लागि प्रचण्डको सहारामा सरकार गठन गरेर प्रधानमन्त्री ओलीजस्तै दैनिक विवादको भुमरीमा फस्नुभन्दा विपक्षमै बस्नुमा लाभ छ ।

तपाईको प्रतिक्रिया