विभाजनको दलदलमा जसपा (सम्पादकीय)

सम्पादकीय

       

संघीय संसदको चौथो ठूलो शक्ति, जनता समाजवादी पार्टी(जसपा) स्पष्ट दुई धारमा विभाजित भएको छ । निर्णायक क्षणमा सत्ता उलटपुलट हुने धेरैको आकलन छ । अहिले जसपाभित्र गम्भीर संकटमा परेको छ ।

सत्ताको चाबी लिएर बसेको जसपा विभाजनको डिलसम्म पुग्ने र फर्कने भइरहेको थियो । फेरि अब यो पार्टी बिभाजनको डिलमा पुगेको छ । एउटै पार्टी भित्र बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले दुई भिन्न पार्टीको जस्तो अभ्यास अघि बढाएपछि अब चाहिँ जसपा साँच्चिकै फुट्ने अड्कलबाजी हुन थालेको छ ।
विषय सिधै सरकारसँग जोडिएको छ । महन्थ–राजेन्द्रपक्ष प्रधानमन्त्री ओलीको पक्षमा निरन्तर लागेका छन् ।

उनकाविरुद्ध बाबुराम–उपेन्द्रपक्ष पनि उसैगरी सक्रिय छन् । नयाँ गठबन्धन सरकार बनाउने जोडबल सफल नभएपछि बाबुराम–उपेन्द्रपक्ष अहिले केही मौन देखिए पनि चुपचाप छैनन् ।

गत पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेदेखि उनकाविरुद्ध उभिएका थिए, बाबुराम–उपेन्द्रपक्ष । त्यहीँबाटै महन्थ–राजेन्द्रपक्ष भने प्रधानमन्त्री ओलीका निरन्तर सहयोगी बनेका छन् ।

भनाइ नै छ, राजनीतिमा केही कुरा असम्भव छैन । कुनै बेला ओलीसँग सबभन्दा कटुतापूर्ण सम्बन्ध कसैको थियो भने त्यो महन्थ ठाकुर र राजेन्द्र महतोकै थियो ।

ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा उनीहरुले एक अर्कालाई विषवमन गर्न कुनै उपाय बाँकी राखेननठ । समयक्रममा महन्थ र राजेन्द्र नै अहिले ओलीलाई छाड्न नसक्ने अवस्थामा देखिएका छन् ।

आफ्नो भागमा आएको प्रधानमन्त्रीको पदसमेत स्वीकार नगरेर ओलीलाई नै सघाउने उनीहरुको भूमिकालाई धेरैले आश्चर्यपूर्ण मानेका छन् । कतिपयले त महन्थ–राजेन्द्रपक्षको यस्तो निर्णयले उनीहरुमा बाह्यशक्तिको प्रभाव हदैसम्म देखिएको टिप्पणी पनि गरिरहेका छन् ।

पछिल्लो समय महन्थ–राजेन्द्रपक्षले आफ्नो सरोकार सरकार नभएर मुद्दा भएको र प्रधानमन्त्री ओलीबाटै मधेशका माग र मुद्दा सम्बोधन हुनसक्ने बताइरहेका छन् । जबकि, जसपाको बाबुराम–उपेन्द्रपक्ष भने ओलीबाट पहिल्यै धोका भएको निक्र्योलमा पुगिसकेको छ ।

हुन त ओलीसँग सबभन्दा पहिले मिलाप गर्ने उपेन्द्र नै थिए । उनी मधेशका मुद्दा ओलीबाटै सम्बोधन हुने निक्र्योल गरेर तत्कालीन समाजवादी पार्टीबाट ओली सरकारमै सहभागी भएका थिए । पछि आफूलाई अपमानपूर्ण व्यवहार गरिएको भन्दै उनले सरकार छाडेका थिए ।

जसपाका बाबुराम–उपेन्द्रपक्ष यतिखेर महन्थ–राजेन्द्रपक्षले कस्तो कदम चाल्छन् भनेर पर्खिरहेका छन् । उनीहरुले सरकारलाई बाहिरै बसेर समर्थन गर्छन् वा सरकारमै जान्छन् भन्ने विषयलाई यो पक्षले नियालिरहेको छ । पार्टी एक हुने वा नहुने भन्ने विषय अब महन्थ–राजेन्द्रपक्षकै हातमा रहेको छ ।

ओलीलाई समर्थन गरेर जाने वा संयुक्त सरकार बनाउने भन्ने विषय अहिले पनि जसपाको लागि कठिन छ । जसपा विभाजन भए तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीकै अवस्थामा जसपा विभाजित हुने देखिएको छ । त्यसो भएमा पहिलो विकल्प यसअघिकै पुरानै राजपा र समाजवादी पार्टी ब्युँताएर जाने सम्भावना बढ्ने छ ।

विभाजित अवस्थामा भएको समाजवादी पक्ष माओवादी केन्द्रमा जोडिने सम्भावना देखिएको छ । बाबुराम–उपेन्द्रपक्ष दुबै कम्युनिस्ट पृष्ठभूमिका भएकाले माओवादीको नाम परिवर्तन गरी नयाँ पार्टी बनाएर एकतामा जान सक्ने देखिएको छ । पार्टी एक हुने स्थिति नभएमा पनि यो पक्ष माओवादीसँग चुनावी तालमेलको मोर्चामा जान सक्ने आकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया