केन्द्र र प्रदेशको सहयोग बिना नै जनताको ज्यान जोगाउँदैछौं : मेयर सरावगी

स्थानीय सम्वाद्

       

विजय कुमार सरावगी, मेयर, वीरगन्ज महानगरपालिका, पर्सा

० कोरोना महामारीको दोस्रो भेरियन्टबाट वीरगन्ज महानगर अति नै प्रभावित भइरहेको छ, दिनहुँ मृत्युको संख्या बढ्दै छ । यस्तो अवस्थामा महानगरले कसरी महामारीबाट लड्दैछ ?

— स्वास्थ्य क्षेत्रमा हामीलाई धेरै अधिकार दिइएको त छैन तैपनि वीरगन्ज महानगरपालिकाले दोस्रो लहर आउँछ कि भनेर सुरुदेखि नै नाकामा कडाइ ग¥यौं । नाकामा कडाइ गरेर एन्टिजेन जाँच गर्ने, पोजिटिभ रिपोर्ट आएकाहरुलाई होल्डिङ्ग सेन्टरमा पठाउने, आइसोलेट गर्ने काम पहिलेदेखि नै गरिरहेका छौं र अहिले पनि जारी छ । जब पोजिटिभ केसहरु धेरै आउन थाले र हाम्रो अस्पतालले धान्न सकेन त्यसपछि घर–घरमा बाध्यकारीरुपमा उपचार गराउनुपर्ने भयो । त्यसका लागि घर–घरमा औषधि र अक्सिजन सिलिण्डरको राम्रो ढंगले हामी व्यवस्थापन ग¥यौं । अहिलेसम्म हाम्रो व्यवस्थापन चलिरहकै छ ।

० वीरगन्ज महानगर के–के गरिरहेको छ त ?

— अहिलेसम्म औषधि र अक्सिजन सिलिण्डर एक हजारभन्दा बढीलाई पु¥याइसकेका छौं । अति विपन्न तथा खाना खान नपाएकाहरुका लागि विभिन्न संघसंस्थाहरुले जुन अभियान चलाइरहेका छन्, त्यसलाई महानगरले रासनहरु उपलब्ध गराउन सुरु गरेको छ । अर्को कुरा जब अस्पतालमा धेरै विरामीहरु थपिन थाले त्यसपछि हामी आफ्नै कोरोना अस्पताल र आइसोलेसन सेन्टर बनायौं । जसमा एक सय बेडको कोभिड अस्पताल र करिब १३० बेडको आइसोलेसन सेन्टर गरी २३० बेडको हामी आफ्नो व्यवस्थापनमा चलाइरहेका छौं । एउटा क्रिटिकल केयर सेन्टर पनि चलाइरहेका छौं जसको जिम्मा डा.निरज केयाललाई दिएका छौं । उहाँको नेतृत्वमा दुईटा एमडी मेडिसिन, करिब–करिब आठ जना एमबीबीएस डाक्टरहरु र २१ जना मेडिकलहरु टिम दिएर काम गर्दैछौं । त्यहाँ हामीले निःशुल्क औषधि, खाना र उपचारको व्यवस्था छ ।

एकदमै क्रिटिकल औषधि छ भने संक्रमितका आफन्तलाई ल्याइदिन आग्रह गर्छौं । तर बाँकी सबै सेवाहरु महानगरपालिकाले नै दिँदैछ । यसका साथसाथै बजारमा सेनिटाइजरको व्यवस्थापन गर्नुपर्ने लगायतका कामहरु गरिरहेको अवस्था छ । पाँच जनाको टोली बनाएर घर–घरमा बसेका संक्रमितहरुसँग फोनमा सम्पर्क गरेर अवस्थाबारे जानकारी लिने काम गरिरहेका छौं । उनीहरुलाई चाहिने औषधि वडाअध्यक्षहरुमार्फत् पठाइदिने यी कामहरु अहिले पनि जारी छ । यस्ता विभिन्न कुराहरुमा हामी लागेका छौं ।

० स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन कसरी भइरहेको छ ?

— अहिले आएर महानगरपालिकाले नागरायणी अस्पताललाई तीन वटा भेन्टिलेटर प्रदान गर्न गइरहेको छ । हामी आफ्नै एन्टिजेन टेष्ट किटहरु मगाएका छौं । पीसीआर टेष्ट गराउँदा त्यसको रिपोर्ट आउन धेरै ढिलाइ भइरहेको छ, जसले गर्दा हामीले एन्टिजेनबाट पनि पोजिटिभ र निगेटिभ छुट्याएर काम गरिरहेका छौं ।

० कोरोना महामारीको पहिलो लहर नेपालमा आउँदा पनि वीरगन्ज महानगर अति प्रभावित रह्यो, यो एक वर्षसम्म कोरोना रोकथाम तथा नियन्त्रणका लागि महानगरले पूर्वतयारीहरु किन गरेन ?

— यस्तो महामारीका बेला महानगरले खासै तयारी गर्नुपर्ने देखिँदैन । संघीय सरकार र प्रादेशिक सरकारले सबै कामहरु हेर्नुपर्ने हो । संवैधानिक व्यवस्था पनि हेर्ने हो भने वैश्विक महामारीहरुलाई केन्द्र सरकारकै जिम्मेवारी छ । केन्द्र सरकारले आफै गरोस् वा प्रदेश सरकारमार्फत् गरोस् । हामी पालिकाहरुले कार्यान्वयनमा मद्दत गरिदिने काम हो । त्यो काम हामीले राम्ररी गरिरहेका छौं ।

० कोरोना महामारी रोकथाममा पालिकाहरुबाट चुक भएको छैन ?

— म त के भन्छु भने त्योभन्दा पनि अगाडि बढेर पालिकाहरुले काम गरिरहेका छन् । जबकि हामीलाई खासै केन्द्र र प्रदेश सरकारबाट सिधै कुनै सहयोग त्यस्तो छैन । हामीले चलाइरहेको अस्पतालमा पनि केन्द्र र प्रदेश सरकारको सहयोग छैन । हामीले गरिरहेका कुनै पनि काममा कहींकतैबाट कुनै सहयोग छैन । महानगरपालिकाले आफ्नो क्षमताभन्दा बढी काम गरेको छ । यो कुरा सबैले बुझेका छन् । गत वर्ष पनि गरेको थियो र यस वर्ष पनि गरिरहेको छ । यो भन्दा बढी अपेक्षा गर्नुहुन्छ भने केन्द्र र प्रदेश सरकारको मातहतमा रहेका अधिकारहरु हामीलाई दिनुप¥यो । स्थानीय तहको सरकारलाई न त केन्द्र सरकारले वास्ता गर्छ न त प्रदेश सरकारले । सुरुदेखि नै हामी जुन ढंगले काम गर्दागर्दै पनि प्रदेश र केन्द्र सरकारबाट त्यो किसिमको सहयोग पाएका छैनौं । तैपनि हामी आफ्ना जनताका लागि हरेक काम गरिरहेका छौं । हामी विकास पछि गरौंला तर पहिला जनताको ज्यान जोगाउन लागेका छौं ।

० भनेपछि, यस्तो महामारीका बेला पनि तीनै तहको सरकारबीच समन्वय र सहकार्य छैन ?

— संघीयता यो देशमा लागू भयो । संविधानमै उल्लेख छ कि तीनै तहको सरकारले समन्वय र सहकार्यको आधारमा काम गर्ने । तर पालिकाको अस्तित्व नै प्रदेश र केन्द्रीय सरकारले स्वीकारेको छैन । प्रदेशले आरोप लगाउँछ कि केन्द्रले हामीलाई स्वीकारेकै छैन । अहिले पनि केन्द्रमुखी नीतिअन्तर्गत नै कामहरु भइरहेको छ । केन्द्र वा प्रदेशले पालिकास्तरमा कुनै काम नै गरेको देखिँदैन । आगामी दिनमा प्रदेश र केन्द्रसँग सहकार्य र समन्वय हुनेछ भन्ने विश्वास लिएका छौं । किनभने विस्तारै संवैधानिक व्यवस्थाहरु संस्थागत हुँदै जान्छ भन्ने विश्वास छ । लामो समयदेखि केन्द्रमा सत्ताकै खेल चलिरहेको छ । यो महामारीका बेलामा पनि राजनीतिक स्थिरता हुँदैन भने जनताहरु यसरी नै प्रताडित भइरहन्छन् ।

तपाईको प्रतिक्रिया