प्रदेश सरकारले पूरै बजेट प्रत्यक्ष रोजगारी सिर्जना हुनेतर्फ केन्द्रित गर्नुपर्छ

अन्तर्वार्ता

       

ई.बसन्त कुशवाहा, राष्ट्रिय उपाध्यक्ष, जनमत पार्टी

० आर्थिक वर्ष २०७८/७९ को बजेटबारे जनमत पार्टीको धारणा के छ ?

— नेपाल सरकाले प्रस्तुत गरेको बजेटमा सबभन्दा वैदेशिक ऋणबाट उठाउने र बाहिरी सहयोगबाट जुटाउने कुरा राखिएको छ यो राम्रो कुरा होइन । यसले देशमाथि ऋण थप्नेछ । अर्को कुरा चुनाव पनि आउँदैछ र चुनावको घोषणा पनि भएको छ । यस्तो अवस्थामा चु्नाव लक्षित र प्रचार–प्रसारसँग सम्बन्धित देखिएको छ ।

अर्को कुरा, पुरा वैश्विक महामारी कोरोना भाइरसबाट जुधिरहेको छ । अहिलेको अवस्था भनेको मुलुकका लागि कोरोना महामारीबाट बच्नका लागि भ्याक्सिन र स्वास्थ्य क्षेत्र प्राथमिकतामा हुनुपर्दथ्यो । तर त्यस्तो देखिएको छैन । यी कुरा बजेटको नकारात्मक पक्षहरु हुन । तर बजेटका केही सकारात्मक पक्षहरु पनि छन् । जस्तै, वृद्ध भत्ता प्रति महिना चार हजार पु¥याइएको छ ।

० आजको आवश्यकता के हो ?

— आजको आवश्यकता भनेको हाम्रो मुलुकका बेरोजगार युवाहरुका लागि रोजगारी हो । खासगरी युवाहरुको बेरोजगारीमा ध्यानमा पु¥याउन पर्छ । तर यो बजेटमा रोजगारी लक्षित देखिएको छैन ।

० मधेशको सन्दर्भमा बजेटलाई कसरी हेर्न सकिन्छ ?

— हामीले बजेटलाई मधेशलार्ई केन्द्रमा राखेर विश्लेषण गर्नुपर्छ । अहिलेसम्म जति पनि बजेट आएका छन्, कुनै पनि बजेटले मधेशलाई प्राथमिकता दिएको देखिँदैन । मधेशको विकास, समृद्धि र उन्नतिलाई उकास्ने खालको बजेट अहिलेसम्म नेपालमा देखिएको छैन । त्यसैले हाम्रो यो बजेट पनि विगतकै निरन्तरताको रुपमा हामीले हेरिरहेका छौं । यसमा पनि मधेशको विकास र समृद्धिका विषयहरु समेटिएको छैन । त्यसकारण हामीले यो बजेटलाई पनि मधेशको दृष्टिकोणले खासै महत्वका साथ हेर्न सक्दैनौं ।

० मधेशलाई संघीय सरकारले बजेट कम दिँदा पनि ती बजेट समुचित तरिकाले खर्च भएको हुँदैन । अधिकांश बजेट त फ्रिज नै हुन्छ भने धेरै बजेट दिएर पनि के गर्ने त ?

— विगतका बजेटझैं यस आर्थिक वर्षको बजेट पनि मधेशको लागि हर्ष न विष्मात्को देखिएको छ । तर पनि मधेशलाई जति बजेट दिइन्छ त्यसको सदुपयोग भएको देखिँदैन । खासगरी प्रदेश २ कै बजेटलाई हेर्ने हो भने संघीय सरकारबाट जहिले पनि बजेट कम दिइन्छ तर त्यो बजेटको न्यून भाग पनि सदुपयोग भइरहेको छैन । अहिले चालु आर्थिक वर्षको बजेटलाई नै हेर्ने हो भने प्रदेश २ को सरकारले जम्मा २०–२५ प्रतिशत बजेट पनि सरकार गर्न सकेको छैन । बाँकी सबै बजेट फ्रिज नै हुने अवस्था छ । यसैगरी पालिकाहरुको बजेट पनि हेर्ने हो भने त्यो पनि विकास निर्माण वा जनतासँग सरोकार राख्ने विषयमा खर्च गर्न सकेको छैन ।

० प्रदेश २ मा बजेटको अवस्था के छ ?

— प्रदेश २ का कुनै पनि पालिकाले आधा बजेट पनि खर्च गर्न सकेको छैन । एक त नेपाल सरकारको तर्फबाट विभेद त छँदैछ छ तर मधेशकै प्रतिनिधिहरुले पाएको बजेट मधेशका लागि खर्च गर्न सकेको छैन । यसको मूल कारण भनेको प्रदेश वा स्थानीय सरकारका प्रतिनिधिहरुसँग बजेट कसरी खर्च गर्ने भन्ने उद्देश्य नै छैन । यहाँका प्रदेश वा स्थानीय सरकारका प्रतिनिधिहरुले कमिशनमा मात्रै काम गरिरहेका छन् । जहाँबाट कमिशनबाट त्यहाँ मात्रै बजेट खर्च गर्ने गरेको देखिएको छ । अहिलेसम्म खासगरी प्रदेश २ मा बजेट प्रयोग भनेको कमिशनलाई मात्रै प्राथमिकतामा राखेको देखिन्छ । एक त बजेट कम आउँछ र आएको बजेट पनि यहाँका स्थानीय तहहरुले खर्च गर्न सकेको हुँदैन । त्यसैले जनमत पार्टी आएको हो । समानुपातिक हिसाबले बजेट आउनुप¥यो र पूराका पूरा बजेट मधेशको विकास र समृद्धिका लागि खर्च हुनुप¥यो । त्यो हिसाबले हामीले कार्यक्रमहरु पनि ल्याएका छौं । हामीले १० युवालाई रोजगारीको योजना ल्याएका छौं । त्यो भनेको जुन बजेट आउँछ त्यसलाई नै रकमान्तर गरेर रोजगारी सिर्जना हुने खालका कार्यक्रमहरु गरियो भने मात्रै सर्वसाधारण जनताको जीवनमा परिवर्तन आउँछ भन्ने हाम्रो सोचाइ हो ।

० प्रदेश २ सरकारले आगामी वर्षको बजेटमा पनि मधेशलाई उपेक्षा गरियो भन्ने प्रतिक्रिया दिएको छ, यसलाई कसरी हेर्नुहुन्छ ?

— प्रदेश २ का मन्त्रीहरुले प्रतिक्रियाका लागि मात्रै प्रतिक्रिया दिनुभएको हो । चालु आर्थिक वर्ष प्रदेश २ सरकारसँग ३३ अर्ब बजेट थियो, जसमा अहिलेसम्म ३० देखि ३५ प्रतिशतसम्म बजेट मात्रै खर्च गर्न सकेको छ । प्रदेश २ सरकारलाई त दिएको बजेट पनि खर्च गर्ने क्षमता, ज्ञान र भिजन छैन भने जति दिएपनि प्रदेश सरकारले गर्न सक्ने अवस्था नै छैन । भनेपछि प्रदेश सरकारका मन्त्रीहरु परीक्षण भएर असफल भइसकेका पार्टी र व्यक्तिहरु छन् । त्यसैले जनमत पार्टी नयाँ भिजन र विकासको एजेन्डाका अगाडि बढिरहेको छ । हामी नेतृत्वमा आएपछि मात्रै यहाँको बजेट सदुपयोग हुन्छ र जनताले विकास र समृद्धिको अनुभूति गर्न पाउनेछन् ।

० तर प्रदेश सरकारसँग पर्याप्त कर्मचारी छैन, संघीय सरकारले कानून बनाउन सकेको छैन भन्ने कुराहरु पनि छन् नि ?

— ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै यदि मान्छेमा क्षमता छ भने एउटा मान्छेले धेरै काम गर्न सक्छन् । पहिलो कुरा त प्रदेशका मन्त्रीहरुसँग भिजनको कमी छ र प्राविधिक ज्ञानको पनि कमी छ । माथिको व्यक्तिसँग काम गर्ने ज्ञान हुँदैन भने तलको कर्मचारीले पनि टेर्दैन । अहिलेको प्रदेश २ को मन्त्रिमण्डल भनेको त्यस्तै हो ।

० प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पनि तयार गर्दैछ, यसमा जनमतको सुझाव के हो ?

— अब यो प्रदेश सरकारको कार्यकाल करिब डेढ वर्ष समय बाँकी छ । यो अवधिमा यदि गर्न चाह्यो भने प्रदेश सरकारले पूरै बजेट प्रत्यक्ष रोजगारी सिर्जना हुनेतर्फ केन्द्रित गर्नुपर्छ । जसमा कृषि आधुनिकीकरण, औद्योगिकीकरण लगायतमा बढी केन्द्रित गर्नुपर्ने हो ।

० अहिलेसम्म प्रदेश सरकारको बजेट केमा केन्द्रित छ त ?

— अहिले प्रदेश सरकारको प्राथमिकता भनेको एउटै सडकलाई पटक–पटक बनाउने, भत्काउने, नाला बनाउने, कमिशनमा योजना बाँड्ने लगायतकै वरिपरि देखिन्छ । त्यसबाहेक पोखरीको सौन्दर्यीकरण गर्ने, मठमन्दिर बनाउने, भवन बनाउने त्यो पनि पूरा काम नगर्ने, बजेट छैन भने फेरि त्यहीं काममा बजेट छुट्याउने लगायतका कामहरु भइरहेका छन् । भनेपछि घुमाइफिराइ एउटै कुरामा प्रदेश सरकारको प्राथमिकता देखिएको छ ।

० अहिले प्रधानमन्त्रीले गर्नुभएको संसद विघटनलाई जनमत पार्टीले कसरी लिएको छ ?

— संसदीय प्रणालीमा अहिलेसम्म हामी कहीं पनि प्रतिनिधित्व गरिरहेका छैनौं । त्यसैले चुनाव हुनु नै हाम्रो लागि सबभन्दा उत्तम विकल्प हो । राजनीतिक पार्टी भइसकेपछि चुनाव जानु र जीत हासिल गर्नु नै मूल उद्देश्य हुन्छ । भनेपछि चुनाव होस् नै हाम्रो चाहना हो । अहिले यो मुद्दा अदालतमा विचाराधीन छ । यदि चुनाव भयो भने हामी भाग लिन्छौं । हामीले चुनावको तयारी पनि सुरु गरिसकेका छौं । हामीले चुनावलक्षित कार्यक्रमहरु नै अगाडि बढाएका छौं । संघीय चुनाव भयो भने मधेशका हरेक जिल्लामा हाम्रा उम्मेदवारहरु आउने छन् ।

० संविधान विपरीत तरिकाले प्रधानमन्त्रीले संसद विघटन गरी चुनावको घोषणा गर्नुभएको भन्ने आरोपहरु छन् नि ?

— अहिलेको संविधान नै अधुरो हो । हतार–हतारमा लेखिएको अधुरो संविधानमा दोधारे अर्थ लाग्ने वाक्यांशहरु छन् । संविधानलाई कसरी व्याख्या गर्ने भन्ने भर अहिलेका न्यायाधीशहरुमाथि नै छन् । त्यसैले हामी यो ठिक वा बेठिक भन्ने अवस्थामा छैनौं ।

तपाईको प्रतिक्रिया