मुख्यमन्त्रीका लागि कांग्रेसको पनि दाबी छ : यादव

अन्तर्वार्ता

       

रामसरोज यादव, नेपाली कांग्रेसको तर्फबाट प्रदेश २ का संसदीय दलका नेता

० प्रदेश २ मा कांग्रेसले समाजवादी पार्टीसँग मिलेर सत्ता सहकार्य गर्न लागेको हो ?

— केन्द्रीय सरकारमा जसपाका महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएको छ । त्यसको प्रभाव स्वाभाविकरुपमा प्रदेश २ मा पर्छ । तर प्रदेश २ मा अहिलेसम्म त जसपाकै सरकार हो । हामीसँग उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष दुवैसँग कुरा हुँदैछ । मुख्यमन्त्रीले अस्ति पनि हामीलाई भन्नुभएको थियो कि सहयोग गर्नुस्, मिलेर जाऔं भनेर । यही २४ गतेदेखि संसदको अधिवेशन छ । नीति तथा कार्यक्रम आउनुपर्ने हो, त्यसपछि बजेट आउनुपर्ने हो । अहिले मुख्य प्राथमिकता भनेको नीति तथा कार्यक्रम हो । त्यो नीति तथा कार्यक्रममा छलफल गरौं, त्यसपछि बजेटमा छलफल गरौं । मैले बजेटको सन्दर्भमा मुख्यमन्त्रीजीलाई सुझाव दिएँ कि पहिलेदेखि अनुत्पादक विषयहरुमा जुन बजेटहरु राखिएको छ त्यसलाई रोक्नुस् । अहिले एकमुष्ट बजेट राख्नुपर्छ । त्यसमा पनि छलफल गरौं । पहिले बजेट कनिका जस्तो छरिन्थ्यो । अनुत्पादक विषयमा लगानी गरियो भने उत्पादन कसरी हुन्छ । यो विषयमा पनि कुराकानी भयो । केन्द्रमा जे भएपनि प्रदेशमा समीकरण छँदैछ । अहिले राजपा र समाजवादीसँगै सहकार्यमा छ भने हामी कसरी सहकार्य गर्ने भन्ने कुरा पनि ग¥यौं । त्यो अवस्था आएपछि हामी सहकार्य गर्छौं ।

० मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी छ ?

— मुख्यमन्त्रीजीले नै हामीसँग सहकार्य गर्नुस् भनेर प्रस्ताव गर्नुभएको छ । मुख्यमन्त्रीजीले सहकार्य गरेर मन्त्रालयहरु बाँडफाँड गरौंला भन्नुभो । तर मैले भने कि मन्त्रालय त पछिको कुरा हो, तर ढोकैमा आइसकेको नीति तथा कार्यक्रमको विषयमा कुरा गरौं । भोली को मुख्यमन्त्री, मन्त्री बन्ने बसेर छलफल गरौंला र टुंगो लगाऔंला मैले भने । किनभने मुख्यमन्त्रीमा हाम्रो पनि दाबी छ ।

० समाजवादीले कांग्रेसलाई नेतृत्व दिन तयार हुन्छ त ?

— शुक्रबार मात्रै उपेन्द्र यादवजी र विमलेन्द्र निधिबीच सत्ता सहकार्यबारे कुरा कानी भएको छ । साढे तीन वर्षसम्म समाजवादीले चलायो, जनताले हेरेका छन् कुन रुपमा कसरी सरकारले काम ग¥यो । अब डेढ वर्षसम्म हामी सत्ता सहकार्य गर्छौं भने त्यो अवधिभरि कांग्रेसलाई नेतृत्व गर्न दिनुस् भनेका छौं । अस्ति राजपाका जीतेन्द्र सोनलसँग पनि हाम्रो कुराकानी भयो । उहाँले मलाई सहयोग गर्नुस् भनेर भन्नुभयो । मैले उहाँलाई भने कि तपाइँको अंकगणित पुग्दैन । अनि उहाँले एमालेसँग पनि कुरा गर्छु भन्नेभयो । मैले भने पहिला तपाइँ कुरा गर्नुस् ।

० राजपाले पनि कांग्रेसको सहयोग खोजेको हो कि होइन ?

— प्राविधिकरुपमा एक भएपनि व्यावहारिकरुपमा अलग–अलग रहेका राजपा र समाजवादी दुवै पार्टीले हामीसँग सहकार्य गर्न खोजेका छन् । समाजवादीले मिलेर अगाडि बढौं भनेको छ भने राजपाका सोनलले मलाई सहयोग गर्नुस् भन्नुभयो । सोनलजीले मलाई सहयोग गर्नुस् भनाई मतलब आफै मुख्यमन्त्री बन्छु भन्ने आशय र अर्थ हो । तर समाजवादीका नेता तथा मुख्यमन्त्री लालबाबु राउतजीले मिलेर अघि बढौं भन्नुभयो । यसबारे त नीति तथा कार्यक्रम र बजेटपछि कुरा हुन्छ ।

० कांग्रेस र समाजवादीसँग माओवादी केन्द्रले पनि सत्ता सहकार्य गर्छ त ?

— हामीले कांग्रेस, समाजवादी र माओवादी मिलेर सत्ता सहकार्य गर्न सकिने अवस्थाको निर्माण हुँदैछ । हुन त माधव नेपाल समूह पनि सहयोग गर्न सक्छ तर पछि पार्टीले कारबाही गर्न सक्ने अवस्था पनि छ । अहिले केन्द्रमा माधव नेपालसहितका नेताहरुलाई कारबाही गरेको छ । प्रदेश २ मा माधव नेपालको पक्षमा १३ जना सांसदहरु छन् । संसदीय दलको नेता पनि माधव नेपालकै पक्षका छन् । अब उनीहरुमा पनि तानातान होला । तर हामीलाई सरकार बनाउन कांग्रेस, समाजवादी र माओवादीले पुग्छ ।

० प्रदेश २ को बजेट सार्वजनिक भएपछि नयाँ सरकार बन्ने सम्भावना बढी छ ?

— हो । निश्चितरुपमा बजेट सार्वजनिक भएपछि नयाँ सत्ता समीकरण आउने सम्भावना बढी छ । बजेटको सन्दर्भमा हामीले भनेका छौं कि जुन योजनाहरु चलिरहेको छ त्यसलाई निरन्तरता दिऔं र बाँकी रकम एकमुष्ट राखौं । पछि त्यसमा छलफल गरेर अगाडि बढाऔंला भन्ने हामीले भनेका छौं ।

० समाजवादीले यदि कांग्रेसलाई सरकारको नेतृत्व दिन तयार भएन भने तपाइँहरु समाजवादीको नेतृत्वमा सहभागी हुनुहुन्छ कि नाई ?

— सँगै सहकार्य गरौं, अगाडि बढौं भन्ने कुरा भएपछि त नेतृत्व कसले गर्ने भन्ने विषय छलफलमा टुंग्याउने कुरा हो । यो भविष्यको कुरा हो । उहाँहरुले तीन वर्ष सरकार चलाउनुभयो, बाँकीको अवधि कांग्रेसलाई दिन किन मान्नुहुन्न, मान्नुपर्छ नि । यस विषयमा उहाँहरु पनि सकारात्मक हुनुहुन्छ होला । उपेन्द्र यादवसँग हाम्रो पार्टीका उपसभापति विमलेन्द्र निधिसँग वार्ता चलिरहेको छ ।

० कोरोना महामारीका बीच सरकार परिवर्तन आवश्यक छ त ?

— त्यत्रो कोरोनाको मारमा प्रधानमन्त्रीले अयोध्यापुरीमा मार्च गर्नुभएको छ । वास्तवमा यस्ता कुराहरुप्रति संवेदनशील हुनुपर्छ । तर सरकार बनाउनका लागि ठूलो भेला वा आमसभा गर्नुपर्ने आवश्यकता त हुँदैन नि । कोरोना महामारीका बीच यदि हामी सरकारको नेतृत्व गर्ने अवसर पायौं भने चुनौती त हुन्छ तर अवसर पनि हुन्छ । व्यक्तिमाथि निर्भर गर्छ कि त्यो चुनौतीलाई कसरी सामना गर्ने, चुनौतीलाई कसरी अवसरमा परिणत गर्ने । चुनौतीसँग डराउनु हुँदैन ।

० यदि तपाइँको नेतृत्वमा प्रदेश २ मा सरकार बन्यो भने तपाइँको पहिलो प्राथमिकता के हुनेछ ?

— यदि यो प्रदेशलाई समृद्ध बनाउने हो भने दुई तीनटा कुरालाई विशेष जोड दिनुपर्ने हुन्छ । सबभन्दा पहिले कृषिलाई प्राथमिकता दिनुपर्छ । प्रदेश सकरारसँग पर्याप्त बजेट छैन भन्ने किसिमका कुराहरु पनि आइरहेका छन् । तर हामीले कम बजेटबाट नै विकास र समृद्धिको पूर्वाधार त तयार गर्न सक्छौं । अहिलेको सरकारले अनुत्पादक क्षेत्रमा बढी लगानी गरेको छ । त्यस्तै पर्यटनको पनि प्रदेशमा धेरै सम्भावना छ । यस्तै यहाँ विभिन्न उद्योग कलकारखानाको स्थापनाका लागि पहल गर्ने र खोल्न सकिने ठाउँमा तत्काल काम सुरु गर्ने लगायतलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

तपाईको प्रतिक्रिया