प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक

समाचार

       

जनकपुरधाम, २७ जेठ । प्रदेश २ को सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डा.राजेश अहिराजले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले कोभिड महामारी नियन्त्रण, स्वस्थ्य, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिँचाइलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य र रोजगारमुखी कार्यक्रमलाई बढी प्राथमिकता दिएको छ ।

जनकपुरधामस्थित मणिपाल अस्पतालको निर्माणधीन अस्पताललाई कोभिड अस्पताल बनाउने, अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको दरबन्दी थप्ने, कोभिड महामारी नियन्त्रण गर्न संरचना निर्माण गरी कोरोनाको मात्रै अस्पताल छुट्याउने नीति सरकारले लिएको छ ।

कोभिड आपतकालीन सेन्टर स्थापना गर्ने र भारतसँगको नियमित आवतजावत हुने भएकोले सीमा नाकाहरुमा हेल्थ डेक्सहरु स्थापना गरी नियमित स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य कर्मचारीलाई स्वास्थ्य विमा गर्ने नीति लिएको छ ।

कोभिडका कारण रोजगारी गुमाएका युवाका लागि मुख्यमन्त्री युवा स्वरोजगार उद्यम विकास कार्याक्रम सञ्चालन, मुख्यमन्त्री रनिंग शिल्ड सुरु गरी खेलकुद विकास र विपन्न दलितहरुका लागि दलित छात्रावृत्ति र राशन कार्ड उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

चुरे संरक्षणमा विशेष सहयोगको घोषण गर्दै स्थानीय तह, संघीय सरकारसँग समन्वय गरी चुरे संरक्षण गर्ने नीति लिएको छ । एक जिल्ला एक पर्यटन केन्द्र बनाएर प्रदेश पर्यटन विकास गर्ने सरकारले नीति लिएको छ ।

तपाईको प्रतिक्रिया