ओली र प्रचण्डलाई सहअध्यक्ष बनाएर पार्टी एकता: शंकर पोखरेल

‘मधेश केन्द्रित दललाई सरकारमा ल्याउँछौं, प्रदेश २ मा सरकार बनाउन सहयोग गर्छौं’

अन्तर्वार्ता

       

जाडो सुरु भइसकेपनि एमाले अध्यक्ष केपी शर्मा ओली ४ पुषमा हिमाली जिल्ला रसुवा पुगे, केही एमाले नेताहरुका साथमा। तिनमा एक थिए, स्थायी समिति सदस्य शंकर पोखरेल। यसैले देखाउँछ कि, पोखरेल ‘हुनेवाला’ प्रधानमन्त्री ओलीका कति निकट छन्!

एमालेमा पोखरेल नै एक त्यस्ता राजनीतिक व्यक्ति पनि हुन्, जसको मुख्यमन्त्री बन्ने टुङ्गो लागिसकेको छ। प्रादेशिक सरकार निर्माण सुरु भएपछि उनी प्रदेश ५ को मुख्यमन्त्री बन्नेछन्। एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री हुनुपर्छ भनेपछि नै आफु प्रदेशसभामा गएको पोखरेलले बताए। अध्यक्ष ओलीसँगै रसुवागढी पुगेर फर्केका एमाले नेता शंकर पोखरेलसँग ओलीको रसुवा भ्रमण, राष्ट्रियसभा गठनको सन्दर्भले सिर्जना गरेको राजनीतिक गतिरोध, वामगठबन्धनको सरकार बनेपछि तराई–मधेशको समस्या समाधान, एमाले–माओवादी केन्द्रबीचको एकता र ओली–प्रचण्ड सम्बन्ध, प्रदेश–५ को मुख्यमन्त्री र राजधानी लगायतका विषयमा नेपालखबरका सीताराम बरालले बुधबार काठमाडौंमा गरेको लामो वार्ताको सम्पादित अंशः 

प्रसङ्गः रसुवा भ्रमण

अकस्मात रसुवा भ्रमणको उद्देश्य के थियो? 
देशभरि पार्टीले चुनाव जित्यो। तर पहिले जितेको रसुवामा चाहिँ चुनाव हार्‍यौं। त्यसैले, त्यहाँका पार्टी कार्यकर्ताहरुलाई हौसला प्रदान गर्न नेतृत्वको एउटा टिम त्यहाँ पुगेको हो। अर्काे, भूकम्पका बेला रसुवाले ठूलो क्षति बेहोर्‍यो। अहिले त्यहाँको अवस्था कस्तो छ भन्ने जानकारी लिनका लागि पनि त्यहाँ जाने भन्ने कुरा भयो। तर, मुख्य उद्देश्य चाहिँ केरुङ नाकाको अवलोकन नै हो।

त्यसैले, हामी काठमाडौंबाट सिधै लाङटाङ उपत्यका पुग्यौं। भूकम्पका बेला त्यहाँ निकै ठूलो मानवीय र भौतिक क्षति भएको थियो। ४–५ सय मानिसको निधन भएको थियो। त्यसमा ठूलो संख्या विदेशी पर्यटकहरुको पनि थियो। त्यहाँको अहिलेको अवस्था बुझ्ने र पुनर्निर्माणको विषयमा स्थानीय पार्टी कमिटीसँग बसेर छलफल गर्ने विषयमा लाङटाङ भ्रमण केन्द्रित थियो।

लाङटाङबाट हामी रसुवागढी नाका गयौं। त्यहाँ स्थानीय पार्टी कमिटीले स्वागत कार्यक्रमको आयोजना गरेको थियो। सँगसँगै हामीले नाकाको पनि अध्ययन गर्‍यौं। पहिले रसुवागढी तिब्बतसँग व्यापारको प्रमुख नाकाको रुपमा थियो। अहिले फेरि त्यो नाका चीनसँगको मुख्य नाका बन्न लागेको छ। त्यो नाकाको अवस्था के छ, सेनाले जिम्मा लिएको सडक विस्तारको प्रगति कस्तो छ भन्ने कुरा रसुवागढी पुगेर गर्‍यौं।

तपाईको प्रतिक्रिया