‘भ्यालेन्टाइन डे’मा १ करोड २५ लाखको गुलाफ आयात हुने

अर्थ/वाणिज्य

मधेशवाणी संवाददाता

    २०७४ माघ १२ शुक्रबार   

काठमाडौं – यस वर्षको प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि भारतबाट १ करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो।

घिल्लो वर्ष १ करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । २ लाख २५ हजार रातो गुलाफको बजारमा माग रहेको छ।

गत वर्षको प्रणय दिवसमा १ लाख ९० हजार वटा मात्र रातो गुलाफ खपत भए पनि यस पटक केही माग बढेको छ । यस वर्ष ३५ स्टिक गुलाफ बढी आयात गर्न लागिएको हो।

श्रेष्ठले भने,“जाडोको समयमा फूल उत्पादनमा कमी आउने भएको र अझै पनि पुष्प व्यवसायप्रति मानिसको आकर्षण नभएकाले आन्तरिक उत्पादनले धान्न कठिन भएको हो ।” हाल काठमाडौँ उपत्यकाको ३ वटै जिल्लाका साथै चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटमा रातो गुलाफको व्यावसायिक खेती गरिँदै आएको छ । हरेक वर्ष फेबु्रअरी १४ मा यो पर्व मनाउने भएपनि एक हप्ता अघिदेखि बजारमा फूल व्यापारको चहलपहल हुने गर्दछ।

प्रणय दिवसमा रातो गुलाफ र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा भने आत्मनिर्भर बनिसकेको छ । अष्ट्रेलिया, मलेसियामा नेपाली बसोबास गर्ने गरेकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ।

यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । सामान्यतया ६०० प्रजातिका फूल रहे पनि १४७ हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ। रासस

साभार: नागरिक

तपाईको प्रतिक्रिया