उत्तर प्रदेशका मुख्यमन्त्रीले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने

समाचार

       

जनकपुरधाम, २५ मंसिर । सीताराम विवाहपञ्चमी महामहोत्सवमा नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने भएको छ । मंसिर २६ गते जनकपुरधाममा आयोजना हुने सीता स्वयम्बरका क्रममा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नेछ ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वयम्बर कार्यक्रममा सहभागी भएको बेला नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्न लागेको जनाइएको छ ।

नेपाली सेनाले काठमाडौंबाट हेलिकप्टर ल्याएर पुष्पवृष्टि गर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित गोरखनाथ गणका प्रमुख सेनानी भोला पाण्डेले बताए ।

नेपाली सेनाको १५ सदस्यीय एउटा ब्याण्ड टोली समेत काठमाडौंबाट जनकपुरधाम आउँदैछ । २६ गते भगवान् राम र सीताको डोलीले नगर परिक्रमा गर्दा ब्याण्ड टोलीले सांस्कृतिक प्रदर्शन गर्ने जनाइएको छ ।

मुख्यमन्त्री योगी मंसिर २६ गते बिहान ११ बजेतिर निजी विमान चार्टर गरेर जनकपुर विमानस्थलमा आउने र साँझ ५ बजेतिर फर्किने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया