आँखा अस्पताललाई रु ५० लाख

समाचार

       

तुलसीपुर, २५ मंसिर । नेपाल नेत्रज्योति सङ्घ दाङको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम विनियोजन भएको छ ।

उक्त संस्थाको विकास तथा विस्तारका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक देखिएकाले सो रकम विनियोजन गरिएको प्रतिनिधिसभाका सदस्य मेटपणि चौधरीले जानकारी दिए । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष कार्यविधि– २०७५ अन्तर्गत रही सो रकम खर्च गर्नुपर्ने उनले बताए ।

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पताल लमहीको भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना तयार भएको र सो रकमबाट अस्पतालको कर्मचारी आवास भवन निर्माण गर्ने योजना रहेको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए ।

“सङ्घको भौतिक पूर्वाधार विकासका लागि यस क्षेत्रका प्रतिनिधिसभा सदस्यले देखाउनुभएको सदासयता र सहयोगप्रति हामी आभारी छौँ”, नेपाल नेत्रज्योति सङ्घ दाङका सभापति कृष्णकुमार गिरीले भने, ‘‘यसले हामीलाई थप हौसला र अस्पतालको विकास तथा विस्तारमा लाग्न प्रेरित गरेको छ ।”

नेपाल नेत्रज्योति सङ्घ दाङले हाल तीन वटा आँखा अस्पताल र विभिन्न जिल्लामा आँखा उपचार केन्द्र स्थापना गरी आँखा उपचार सम्वन्धी सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया