विवेकले हतियार बुझायो

राजनीति

       

विराटनगर, २८ मंसिर । अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूहले सरकारी वार्ता टोलीलाई तीन थान पेस्तोल बुझाएको छ ।

उनीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा हतियार बुझाएर सार्वजनिक भएका हुन् ।

सप्तरीको जमुनी मधेपुरा ४ बस्ने मोर्चाका अध्यक्ष विवेक भन्ने विनोदकुमार यादव, केन्द्रीय सदस्य सुनसरीको कोशी गाउँपालिका ८ का रामु भन्ने रामनन्दनकुमार कामैत, सप्तरीको गोबरगाढा २ का चन्द्रशेखर भन्ने विनायक कुमार यादव र त्रिकौल ४ का जयप्रकाश लिचपुरिया सार्वजनिक भएका हुन् ।

उनीहरूले सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेलाई दुई थान कटुवा पेस्तोल र एक थान लोकल मेड पेस्तोल बुझाएका हुन् ।

उनीहरू जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट छुटिएर पूर्वी मधेशमा सशस्त्र गतिविधि गर्दै आएका थिए ।

मोर्चाका अध्यक्ष यादवले आफूहरूले खुल्ला राजनीतिमा आएर देश र जनताको सेवा गर्ने उद्देश्यले हतियार बुझाएर सार्वजनिक भएको बताए ।

यादवले आफूहरूसँग भएको तीन वटा पेस्तोल बुझाएको र बाँकी हतियार पुस ७ गतेभित्र संकलन गरेर बुझाउने बताए ।

तपाईको प्रतिक्रिया