प्रदेश ५ को नाम लुम्बिनी–थरूहट–मगरात राख्न माग

राजनीति

       

रुपन्देही, २९ मंसिर । २७ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ परिचालन समितिको अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।

पार्टीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी यही मङ्सिर २२ र २३ गते बुटवलमा आयोजना गरेको अधिवेशनका निर्णयहरु सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जनमुक्ति पार्टीले जारी गरेको घोषणापत्र सार्वजनिक गर्दै महासचिब टोप अस्लामीले प्रदेश नं ५ को नाम लुम्बिनी–थरूहट–मगरात राख्न माग गरिएको बताए ।

उनले मुलुकमा भ्रष्टाचारका कारण समस्या सिर्जना भएकाले भ्रष्टाचारीलाई देशद्रोह घोषणा गरी सर्वस्वहरणसहित जन्मकैदको सजाय माग गरेको जनाए ।

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग कलकारखानाको विकास गरी लगानीको क्षेत्रमा सरकार, निजी व्यवसायीका साथै स्थानीय समुदायको एकतिहाइ हिस्सेदारी सुनिश्चित गर्न घोषणापत्रमा माग गरिएको छ ।

सबै जाति र लैङ्गिक प्रतिनिधित्व हुने गरी पाँच सदस्यीय राष्ट्रपतिमण्डल र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने व्यवस्था र पहिचानमा आधारित पूर्ण सङ्घीयताको सुनिश्चित गर्न माग गरएिको छ ।

पार्टीले प्रदेशका ऐतिहासिकस्थल जीतगढी, आदिमानव रामापिथेकसको अवशेष भेटिएको बुटवलको चिडियाखोला क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आग्रह गरेको छ ।

बुटवलदेखि लुम्बिनी, तिलौराकोट, नुवाकोट, बल्ढेङगडी र तानसेन जोड्ने विद्युतीय केबलकार सञ्चालनका लागि पहल गर्न माग गर्दै विद्युतीय सौर्य ऊर्जामा आधारित यातायात सेवालाई पहिलो प्राथमिकता दिन पार्टीले घोषणापत्रमार्फत सरकारसँग माग गरेको छ ।

जल, जमीन, जङ्गल र खानीको उपयोग गर्दा स्थानीयवासीलाई अग्राधिकार दिन, कला संस्कृतिको संरक्षण गर्न, सरकारी र गैरसरकारी संस्थामा महिला सहभागिता ५० प्रतिशत सुनिश्चित गर्न, बेरोजगारलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न, उद्योग कलकारखाना, अस्पताल, शैक्षिक संस्था र पर्यटकीय क्षेत्रलाई बन्द, हडतालमुक्त क्षेत्र घोषणा गर्न माग गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष झमबहादुर गुरुङ, सचिव बालकिशोर रानाले प्रदेशलाई समृद्ध बनाउन सबै जाति, भाषाभाषीलाई मिलाएर अगाडि लैजान आवश्यक रहेको बताए । प्रदेश अधिवेशनले झमबहादुर गुरुङको अधयक्षतामा ४१ सदस्यीय समिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया