सरकार सही बाटोमा हिडेको छ : प्रम ओली

राजनीति

       

काठमाडौं, १ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही बाटोमा हिंडिरहेको बताएका छन् ।

पूर्वनेकपा (एमाले) निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी महासंघ (पिपिएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशील कानुन व्यवसायी संघ(आरपिएलए)को एकीकरणलाई आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सफलतातर्फ अघि बढीरहेको सरकारका विरुद्ध अनेक किसिमका दुस्प्रचार गरिएको बताए । “हामी अहिले असाधरण सफलताको विन्दुमा छौं” प्रधानमन्त्री ओलीले भने “तर यो सफलताको विरुद्ध भयानाक प्रचार युद्ध सञ्चालनमा छ । त्यसलाई परास्त गर्नुपर्दछ ।”

कम्यूनिष्ट पार्टीले बहुमत जनताको अभिमतबाट, बहुमत प्रतिनिधिले अनुमोदन गरेर बनाएको सरकारलाई केही केहीलाई प्रिय नलाग्ने भए पनि यसले आम जनताको हितमा नै काम गर्ने प्रधानमन्त्री ओलीले बताए ।

“प्रचार युद्धमा गणतन्त्रका धरोहरहरुलाई आक्रमण गरिएको छ । राष्ट्रपतिका विषयमा अनावश्यक दुस्प्रचार छ” प्रधानमन्त्री ओलीले भने “यो कुनै व्यक्ति विशेष नभएर गणतन्त्रलाई नै धरासायी बनाउने योजनामा केन्द्रित छ ।”

गणतन्त्र विरुद्धको दुस्प्रचारका विरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “जबसम्म डमरुलाई कसैले आक्रमण गर्दैन तवसम्म बघिनी चुप लागेर बस्छे तर जब डमरुलाई कसैले आक्रमण गर्छ बघिनी जतिसुकै ठुलो भिड भए पनि प्रतिकारमा उत्रन्छे । यो उसको धर्म नै हो” प्रधानमन्त्री ओलीले भने, “कम्यूनिष्ट आन्दोलन, नेकपा र सरकारका विरुद्ध हमला गर्नेहरुले यो कुरा हेक्का राख्नु पर्दछ ।”

दुई संगठनको एकीकरणबाट नेपाल कानुन व्यवसायी संगठन (एनएलए) को गठन गरिएको छ । संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणी पोख्रेलसहित ४५ सदस्यीय समिति चयन भएको छ ।

तपाईको प्रतिक्रिया