फोरम र राजपाले मधेशको अपेक्षा पूरा गर्न सक्दैन : तमरा अभियान

राजनीति

       

रौतहट, ७ पुस । जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियानले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मधेशको अपेक्षा पूरा गर्न नसक्ने निष्कर्ष दाबी गरेको छ ।

तमरा अभियानले शनिबार गौरमा नागरिक समाजसँग गरेको सम्वाद कार्यक्रममा यस्तो निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा उपस्थिति नागरिक अगुवा तथा नेताहरुले आज पर्यन्तको मधेश आन्दोलनहरूले उठाएको अधिकारका मुद्दाहरू संविधानमा समाविष्ट हुन नसकेको विचार व्यक्त गरेका थिए ।

संघीय संसदमा प्रतिनिधित्व गरिरहेका फोरम र राजपाले अब मधेशका अपेक्षाहरू पुरा गराउन नसक्ने दाबी गर्दै यिनीहरूको सत्तामुखी चरित्रमा कुनै परिवर्तन नआएको प्रायः सहभागीहरूले जोड दिएका थिए ।

‘यी दलहरूको पतन पछि उत्पन्न हुने राजनीतिक रिक्तताले मधेशका निराश युवाहरूलाई अतिवादतर्फ डोर्याउने गंभीर खतरा छ ।’ तमरा अभियानका संयोजक गुप्ताले भने, ‘यस सन्दर्भमा फेरि पनि तराई मधेश राष्ट्रिय अभियान एक आशा हो ।’

मधेशका अधिकारका मुद्दाहरूलाई शान्तिपूर्ण तवरमा समाधान गराउने सन्दर्भमा अब तमरा अभियानले आफ्नो निस्कृयतलाई परित्याग गरि अगाडि बढ्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए ।

गुप्ताको प्रमुख आतिथ्यमा भएको सम्वाद कार्यक्रममा अभियानका वरिष्ठ नेता महावीर प्रसाद सिंह (डा. केशरजंग रायमाझि नेतृत्वको नेकपाको तत्कालिन पोलिटब्यूरो सदस्य), आर. डी. आजाद, भोला मुखिया, कुमलेश्वर झा, ललित मल्लिक सानु, राजेन्द्र साह, बिजय गुप्ता, बालेस्वर कायस्थ, संजीब सिंह र समाजवादी पार्टी लोहियावादीका अध्यक्ष नन्दन यादवको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया