मदरसामा अध्ययन गर्ने छात्रछात्राहरुसमेत राज्यको मूलधारमा समाहित हुन्छन् : मुख्यमन्त्री

राजनीति

       

जनकपुरधाम, ९ पुस । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मुस्लिम अगुवाहरुलाई बालबालिकाको शिक्षामा जोड दिन आग्रह गरेका छन् ।

अलहुदा एजुकेशन एण्ड वेलफेयर सोसाइटीले आयोजना गरेको तीन दिवसीय प्रशिक्षण कार्यक्रमको समापन समारोहमा मुख्यमन्त्री राउतले मुस्लिम समुदायको सामाजिक, राजनीति र आर्थिक उन्नयनका लागि बालबालिकाको शिक्षामा जोड दिनु पर्ने बताए ।

उनले प्रदेश सरकार सबै जात समुदायको अधिकारको रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्यले प्रदान गर्ने अधिकार प्राप्त गर्न समेत शिक्षा आवश्यक रहेको तर्फ अगुवाहरुलाई सचेत गराए ।

प्रदेश सरकारले ल्याउन लागेको मदरसा बोर्डले इस्लामिक शिक्षाको साथै आधुनिक शिक्षाको पनि सुनिश्चित गरेको हुँदा विधेयक पारित भएपछि मदरसामा अध्ययन गर्ने छात्रछात्राहरुसमेत राज्यको मूलधारमा समाहित हुने उल्लेख गरे ।

अब्दुला जोलमको अध्यक्षतामा भएको समापन समारोहमा पूर्वगृहराज्यमन्त्री रिजवान अन्सारी लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

योग्य शिक्षक उत्पादन गर्ने उद्देश्यले आयोजन गरिएको तालिममा मुलुकको विभिन्न मदरसामा अध्ययनरत ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया