प्रधानमन्त्री ओलीले राजपाका नेताहरुलाई भने, ‘एक साताको समय दिनुस्’

राजनीति

       

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी नेपालसँग एक साताको समय माग गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानन्त्री ओलीले राजपा नेपालका अध्यक्षमण्डलका नेताहरुसँग छलफल गर्दै संविधान संशोधन, सांसद रेशमलाल चौधरीको शपथ ग्रहण तथा रिहाई, झुठा मुद्दा फिर्ता लगायतका मुद्दा सम्बोधनका लागि एक साताको समय माग गरेका हुन् ।

प्रधानमन्त्री र राजपा नेताहरुबीचको छलफल सकारात्मक भएको राजपाका प्रवक्ता कृष्णा सिंह मधेशवाणीलाई जानकारी दिए ।

प्रवक्ता सिंहका अनुसार प्रधानमन्त्रीले राजपाका मागहरुप्रति सकारात्मक प्रतिक्रिया दिएका हुन् । सम्पूर्ण मागहरु सम्बोधनका लागि वातावरण बनाउन एक साताको समय माग गरिएको हो ।

राजपाले छठपछि मागहरु सम्बोधन नभए समर्थन फिर्ता लिई आन्दोलनमा जान बाध्य हुने भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । समर्थन फिर्ता लिने तयारी गरिरहँदा प्रधानमन्त्रीले राजपाका नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।

‘प्रधानमन्त्रीले संविधान संशोधन लगायतका मागहरु सम्बोधन गर्न तयार रहेको बताउनुभएको छ,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै राजपा अध्यक्षमण्डलका एक नेताले भने, ‘त्यसका लागि एक साताको समय माग गर्नुभएको हो ।’

तस्बिर कृष्ण पौड्याल, प्रधानमन्त्रीको सचिवालय

तपाईको प्रतिक्रिया