राजपाको संयोजक अब महेन्द्र !

राजनीति

       

काठमाडौं, ४ माघ । संयोजकबाट महन्थ ठाकुरबाट हटाइएको विवाद नसुल्झदै राजपाभित्र नयाँ संयोजक तोक्ने प्रक्रिया सुरू भएको छ ।

ठाकुरलाई संयोजकबाट विस्थापन गरी नयाँ संयोजक बनेका राजेन्द्र महतो पूर्वसहमतिअनुसार संयोजक पद छाड्न लागेका हुन् ।

अब नयाँ संयोजकका रूपमा अध्यक्षमण्डलका नेता महेन्द्र राय यादव बन्न लागेका हुन् । अध्यक्षमण्डलका संयोजक ठाकुरपछि गत मंसिर ४ गतेबाट महतो संयोजक बनेका थिए ।

महतोको संयोजक पदको दुईमहिने कार्यकाल समाप्त हुन लागेपछि यादव नयाँ संयोजक बन्न लागेका हुन् ।

प्रवक्ता कृष्णा सिंहका अनुसार शुक्रबार बस्ने राजपा नेपालको बैठकले यादवलाई संयोजकको जिम्मेवारी दिने तयारी भएको छ ।

६ पार्टीबीच एकता भएपछि राजपा नेपालमा ६ सदस्यीय अध्यक्षमण्डल छन् भने त्यसै मध्येका एक सदस्य संयोजक बन्ने प्रावधान छ ।

राजपाका एक केन्द्रीय नेताका अनुसार पार्टी एकीकरण भएको लामोसमयसम्म ठाकुर नै अध्यक्ष मण्डलका संयोजक भएपछि पछिल्लो समय दुईमहिने कार्यकाल रहने गरी चक्रीय प्रणाली लागू गरिएको छ ।

जस अनुसार माघ ४ गते महतोको कार्यकाल सामाप्त हुन लागेको छ । गत मंसिर ४ गते बसेको अध्यक्ष मण्डलको बैठकबाट महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको थियो ।

तपाईको प्रतिक्रिया