डा.केसीका मागबारे एकजुट हुन विवेकशील साझाको आह्वान

राजनीति

       

काठमाडौं, ४ माघ । चिकित्सा शिक्षा क्षेत्रमा देखिएका तमाम विकृतीहरुको विरुद्धमा लड्दै आएका सत्याग्रही डा. गोविन्द केसीको मागबारे एकजुट हुन विवेकशील साझा पार्टीले आह्वान गरेको छ ।

डा.केसीको सोह्रौं आमरण अनसनको आज १० दिन हुँदा उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर बन्दै गएको छ । उनको जीवन रक्षाका लागि उनका मागको यथाशीघ्र र यथोचित ढंगले सम्बोधन गर्न सरकार र संसदलाई विवेकशील साझाले आग्रह गरेको छ ।

विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यले आज एक विज्ञप्ति जारी गर्दै शिक्षा र स्वास्थ जस्ता आधारभूत सामाजिक सेवा मुलतः राज्यको दायित्व हुनु पर्ने जिकिर गरेका छन् ।

‘डा. केसीको सत्याग्रहको मूल मर्म पनि यहि नै हो । हाल प्रक्रियामा रहेको चिकित्सा शिक्षा विधेयकका प्रावधानमा चिकित्सा शिक्षालाई गुणस्तरीय र न्यायसम्मत बनाउने तर्फ उल्लेखनीय सुधारको सम्भावना देख्न सकिन्छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘तथापि चिकित्सा शिक्षाको गैरनाफा मुलक सार्वजनिकिकरण नहुँदासम्म यो क्षेत्रमा व्याप्त विसंगतिपूर्ण व्यापारीकरणको समस्याको जरैबाट निराकरण सम्भव नहुने हाम्रो पार्टीको ठहर छ ।’

डा. केसीको श्रृङखलावद्ध सत्याग्रहको मूल भावनाको समेत आवश्यक र उपयुक्त तवरले सम्बोधन हुने गरी चिकित्सा शिक्षालाई क्रमिक रुपमा गैरनाफा मुलक सार्वजनिकिकरण गर्ने स्पष्ट नीति र कानुन निर्माणमा वृहतर राष्ट्रिय सहमतिको पहल गर्न प्रमुख प्रतिपक्षी दल, सबै राजनीतिक दल तथा आमसर्वसाधारणलाई विवेकशील साझा पार्टीले आह्वान गरेको छ ।

संसदभित्र र संसद बाहिर रहेका प्रतिपक्षी दलहरू डा केसीका मागको मर्मका सम्बन्धमा एक ठाउँमा नआउने हो भने आफैं शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गरिरहेका नेताहरूले भविष्यमा पनि यो विषयको निकास ननिकाल्ने ठहर विवेकशील साझाको छ ।

तपाईको प्रतिक्रिया